Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

लेटाङ/ मोरङको लेटाङ–७ वारङ्गीमा कफिको ब्यावसायिक खेती सुरु गरिएको छ ।
वारङ्गीका ३४ वर्षीय राजविक्रम राईले ४ वर्षअघि देखि ब्यावसायिक रुपमा कफि खेती सुरु गर्नु भएको हो । सुरुमा अदुवा, कुचो र तेजपात(सिन्कौलि) खेती गर्ने किसान अहिले कफि खेतीमा लागेका हुन् । परम्परागत रुपमा अदुवा, कुचो(अम्लिसो) र तेजपात खेती गर्ने जग्गामा कफि गर्दा आम्दानी दोब्बर हुन थालेको राजविक्रम राईले बताउनु भयो । ५० रोपनी जग्गामा विभिन्न प्रजातिका कफिका बिरुवा लगाउनु भएका राईले भन्नुभयो – अबको ५ वर्षपछि वार्षिक ५० लाख आम्दानी लिने लक्ष्य छ । राजविक्रमलाई स्नातक उत्तीर्ण भएपछि आफन्त र छिमेकीहरूले बिदेश जान सुझाव दिए । आफन्तहरू सबै बिदेशमा थिए । चाहादा उहाँलाई पनि बिदेश यात्रा असहज थिएन । तर, राईले कफि खेती विस्तार गर्ने र २०÷३० जनालाई रोजगार दिने सपना बुनेर ब्यावसाय बिस्तार गरिरहनु भएको छ ।
कफि मात्र होइन । उहाँले जापानीज कटुसको पनि ब्यावसायिक खेती थाल्नु भएको छ । नेपाली बजारमा जापानीज कटुस प्रतिकेजी ४ सय रुपियाँ केजीमा बिक्री भइरहेको छ । हाल वार्षिक ४ सय केजी कफि बिक्री गरिरहनु भएका राईले भन्नुभयो –कफि बिक्रीबाट ३ लाख आम्दानी भइरहेको छ । प्रशोधित कफि,कफिका दाना र कफिका बिरुवा समेत बिक्री गरिरहनु भएका राईलाई परिवारका सदस्यको भरपुर सहयोग रहेको छ । राईको नर्सरीमा हाल ४० हजार बिरुवा रोप्न लायक भएका छन् । देशभरका विभिन्न पालिकाले राईको नर्सरीसँग बिरुवा माग गर्ने गर्छन् राईले हालसम्म कपि खेतीमा १७ लाख रुपियाँ लगानी गरिसक्नु भएको छ ।
राजविक्रमको कफि खेती देखेपछि स्थानीय छिमेकीले पनि राईको ब्यावसायलाई पछ्याएका छन् । कर्णबहादुर लिम्बूले ११ रोपनीमा कफि खेती लगाउनु भएको छ । दाना उत्पादन गर्ने र बिक्री गर्ने किसान १५० भन्दा बढी हुनुहुन्छ ।त्यसमा २२ जना किसानले ठूलो परिणाममा खेती गर्नु भएको छ । गाउँमा वारङ्गी कफि कृषक समूह गठन गरिएको छ । सोही संस्था मार्फत किसानले कफि खेती सम्बन्धी तालिम,शिक्षा लिइरहनु भएको छ ।
महाभारत अर्गानिक कफि फर्मका सञ्चालक चन्द्रबहादुर राईले २ सय रोपनीमा कफि खेती लगाउनु भएको छ । राईले भन्नुभयो–कफि खेतीले गर्दा गाउँ छोड्न पाइएन । विद्यालयको जागिर छोडेर ब्यावसायिक कफि खेतीमा लाग्नु भएका राई बिहान देखि बेलुका सम्म कफि बारी मै बिताउनु हुन्छ । कफि खेतीबाट वार्षिक ५ लाख रुपियाँ आम्दानी गरिरहनु भएका राईले भन्नुभयो – बिरुवा र दाना बिक्रीबाट पनि राम्रो आम्दानी भइरहेको छ ।
सामान्यता १ रोपनी कफि खेतीबाट ८० हजार रुपियाँ आम्दानी लिन सकिन्छ । जबकी मकै ,गहुँ, कोदो खेतीबाट १० हजार रुपियाँ आम्दानी हुनेगर्छ । अहिले किसान धमाधम परम्परागत खेती छोडेर ब्यावसायिक कफि खेतीमा लागेका छन् ।
लेटाङ नगरपालिकाले चालु आर्थिक वर्षमा कृषिको ब्यावसायिकीकरण र यान्त्रिकरणका लागि १ करोड रुपियाँ विनियोजन गरेको लेटाङ नगरपालिका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले बताउनु भयो । कृषि उत्पादनका क्षेत्रमा कोशी प्रदेशको नमुना नगर बनाउने लक्ष्य रहेको उहाँको भनाई छ । नगरले अलैची,अदुवा , तेजपात, अम्लिसो ,सुन्तोला उत्पादनका लागि फरक फरक कार्यक्रम सञ्चालन गरिरहेको छ ।



Share via
Send this to a friend