- हरिप्रसाद कोइराला
मोरङ/ जिल्लामा रहेका सङ्घ र प्रदेश सरकार मातहतका अस्पतालमा हुने विरामीको चापलाई पालिका स्तरीय अस्पतालले भरथेग गरिरहेका छन् ।
मोरङमा सङ्घ मार्फत बिराटनगरमा कोशी अस्पताल र प्रदेश मार्फत उर्लाबारीम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सञ्चालनमा छन् ।तर, चिकित्सको दरबन्दी पर्याप्त नहुँदा ति दुबै अस्पतालबाट सेवा लिन विरामीलाई चर्को पर्ने गर्छ । स्थानीय तह गठन भएपछि मोरङका सुन्दरहरैँचा,बेलबारी, पथरीशनिश्चरे,रतुवामाई र रङ्गेली नगरपालिकाले नगर अस्पताल सञ्चालन गरिरहेका छन् । यस्तै कानेपोखरी, केरावारी र मिक्लाजुङ गाउँपालिकाले अस्पताल सञ्चालन गरिरहेका छन् ।
सुन्दरहरैँचा नगरपालिकामा बाहेक कुनै पनि नगर तथा गाउँपालिकामा सङ्घ र प्रदेश सरकारको दरबन्दी छैन् । नगरका स्वास्थ्य शाखाका कर्मचारी लीलामणि दाहालका अनुसार नगर अस्पतालमा चार जना चिकित्सले सेवा दिइरहनु भएको छ । जसमध्ये एक जनालाई सङ्घीय सरकारको सर्शत अनुदान र एक जनालाई प्रदेश सरकारको सर्शत अनुदानबाट सेवा सुविधा दिइन्छ । बाँकी दुई जना मेडिकल अधिकृत नगरकै स्रोतबाट काम गरिरहनु भएको छ । सुन्दरहैँचाको वडा नं १ हरैँचा रहेको नगर अस्पतालबाट साताको तीन दिन एमडिजीपि सेवा पनि सञ्चालनमा छ । जनस्वास्थ्यका कर्मचारी दाहालका अनुसार दैनिक २ सय बढी बिरामी अस्पतालमा उपचारका आउने गरेका छन् ।
पथरीशनिश्चरे नगर अस्पताल जिल्ला कै स्वास्थ्य सेवामा सबैभन्दा बढी योगदान गर्ने अस्पतालमा पर्छ । नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार तीन जना मेडिकल अधिकृत नगरले नै नियुक्ति गरेको छ । त्यसका अतिरिक्त नगर अस्पतालले बिहानी सत्रमा साप्ताहिक रुपमा आलोपालो गरी दुई जना हाडजोर्नी रोग विशेषज्ञ सहित जनरल फिजिसियन,स्त्री रोग ,यौन तथा छाला,बच्चा रोग,मानसिक, शल्यक्रिया र रेडियोलोजिष्ट सेवा दिइरहेको छ । आचार्यले भन्नुभयो – पूर्वाधार,औषधि उपलब्धता र उपकरणका हिसावले हामी मोरङका नगर अस्पतालले दिने सेवामा अब्बल सेवा दिइरहेका छौं । अस्पतालमा दैनिक ४ सय बिरामी उपचारको लागि आउने स्वास्थ्य संयोजक आचार्यले बताउनु भयो । नगर अस्पतालमा दैनिक सय बढी बिरामी रेफर भएर आउने गरेका छन् ।
बेलबारी नगर अस्पतालले दुई जना मेडिकल अधिकृतबाट स्वास्थ्य सेवा दिइरहेको छ । नगरका सूचना अधिकृत महेन्द्र खड्काका अनुसार साप्ताहिक रुपमा जनरल फिजिसियन,अर्थोपेडिक सर्जन र गाइनोलोजिष्टको विशेषज्ञ सेवा समेत नगर अस्पतालले दिइरहेको छ ।
कानेपोखरी गाउँपालिकाले सञ्चालन गरेको कानेपोखरी अस्पताल ग्रामीण क्षेत्रका बिरामीको चाप हुने अस्पताल हो । दुई वटा दरबन्दी स्वीकृत गरेर पालिकाले मेडिकल अधिकृत नियुक्त गरेको थियो । तर, एकजना मेडिकल अधिकृतले माथिल्लो तह अध्ययनका लागि राजिनामा दिएपछि एकजनाको भरमा अस्पताल चलिरहेको छ । अस्पतालका प्रमुख डाक्टर अभिजित खड्काले भन्नुभयो – पालिकाले बैशाखमा विज्ञापन गरेको हालसम्म पदपुर्ति गर्न सकेको छैन् ।
उता केराबारी गाउँपालिकाले सञ्चालन गरेको केराबारी अस्पताल उत्तर–पश्चिम मोरङको बरदान सावित भएको छ । धनकुटाका समेत विरामी आउने केराबारी अस्पतालमा एकजना मेडिकल अधिकृत मात्र छन् । स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईका अनुसार दैनिक १५० देखि २ सय सम्म विरामी उपचारका लागि अस्पताल पुग्ने गर्छन् । केरावारीमा १५ शैयाको अस्पताल भवन बनिरहेको छ । तर, सरकारले बजेटको सुनिश्चितता नगर्दा अस्पताल भवन आफै विरामी परेको छ ।
पूर्वाेत्तर मोरङको मिक्लाजुङ गाउँपालिकाले मधुमल्ला अस्पताल सञ्चालन गरेको छ । अस्पताल स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोख्रेलका अनुसार एक जना मेडिकल अधिकृत र एक जना एमडी गरी दुई जना चिकित्सक पालिकाले आफ्नै स्रोतबाट राखेको छ । इलामको चुलाचुली र र झापाको दमकबाट समेत बिरामी आउने मधुमल्ला अस्पतालमा दैनिक २ सय बढीले सेवा लिइरहेका छन् ।
डाक्टर नियुक्ति गर्न कानून बाधक
स्थानीय तहमा चिकित्सक सहितको सेवा सञ्चालन हुँदा स्वास्थ्य सेवाको पहुँच सबै वर्ग र तहमा पुगेको छ । स्वास्थ्य बिमा कार्यक्रम र गाउँघर मै एमबीबीएस र एमडी चिकित्सकको सेवा उपयोग गर्न पाउँदा सुरु मै रोगको निदान हुने र ठूलो खर्चबाट बिरामी जोगिने गरेका छन् ।
स्थानीय तहले सङ्घ र प्रदेश सरकारसँग चिकित्सक माग गरेपनि सरकारले पठाउन सकेको छैन् । सरकारले डाक्टर नपठाएपछि स्थानीय तहले धमाधम डाक्टर नियुक्ति गर्दै प्रभावकारी स्वास्थ्य सेवा दिन थाले । तर, महालेखा परिक्षकले चिकित्सकलाई दिएको तलव भत्ता बेरुजु देखाएपछि स्थानीय तहलाई कानूनी अड्चन आएको छ । कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले भन्नुभयो – सरकारले अस्पताल बनाइदिन्छ । तर, डाक्टर पठाउँदैन । स्रोत सुनिश्चित गरेर डाक्टर नियुक्ति गर्दा तलब भत्तालाई बेरुजु देखाइदिन्छ । उहाँले कानूनी समस्याका कारण स्थानीय सरकारले गर्ने धेरै काम रोकिएको बताउनु भयो ।

























