Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
सुनवर्षी । अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न मोरङको सुनवर्षी –८ कुरेलीमा निर्माण भएका घरहरूमा अझै विपन्न परिवार सर्न सकेका छैनन् ।
२०७६ सालमा निर्माण सुरु भएका घरहरू पाँच वर्षपछि गत वर्ष निर्माण सम्पन्न भएका हुन् । तर, कोशी प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय र स्थानीय तहबिच समन्वय नहुँदा विपन्न परिवार नयाँ घरमा सर्न पाएका छैनन । सहरी विकास तथा भवन कार्यालय विराटनगरका जनता आवास कार्यक्रम शाखाका इन्जिनीयर ओमप्रकाश शर्माका अनुसार घरहरू गत वर्ष नै निर्माण सम्पन्न भएका हुन् । उहाँले भन्नुभयो – हाम्रो जिम्मा स्थानीय सरोकारवाला र पालिकाले देखाएको स्थानमा घर बनाइदिने हो । लामो समयको विवाद पछि घर निर्माण कार्य सम्पन्न भएको छ । घरसम्म जाने सडक, बत्ती पु¥याउने जिम्मा सहरी विकास कार्यालयको होइन । स्थानीयको माग अनुसार घरको आँगनमा माटो पुर्ने काम पनि हामीले गरिसकेका छौं । शर्माका अनुसार बसेको ठाउँको मुआब्जा र घर बनेको ठाउँमा रहेको पाँच विघा ऐलानी जग्गा भोगचलन गर्न नपाएसम्म सडक किनारमा बसिरहेका ऋषिदेवहरू नयाँ घरमा नसर्ने भनेर अढान लिइरहेका छन् ।
पक्की घरमा बस्ने सपना देखेका अति विपन्न ऋषिदेव परिवार भने आफूलाई सरकारले घरको न घाटको बनाएको आरोप लगाउँछन् । पक्की घर बन्छ र उतै सरौला भन्ने आसले भएको छाप्रो भत्काएको बताउने उनीहरूले ६ वर्ष बित्न लाग्दासम्म घर सर्न नपाएको बताएका छन् । न उनीहरूको राजनीतिक पहुँच छ । न आफ्नै खर्चले घरसम्म जाने सडक , विजुली बत्ती र शौचालय बनाएर नयाँ घरमा सर्ने आर्थिक हैषियत छ । पक्की घरमा बस्न पाइने भएपछि उनीहरुले प्रति परिवार ५र५ हजार रुपियाँ पनि तिरे । जन्तीदेवी ऋषिदेवले भन्नुभयो – घामपानी छल्ने घर भत्कायौं । अहिले यता न उता भयौं । ६÷७ पुस्ता अघि देखि साविकको डाइनिया –४ कुरेलीमा बस्दै आएका ऋषिदेवहरूसँग आफ्नो नीजि जग्गा छैन् । साहुको जग्गा अधिया, ठेक्का गरेर जिविकोपार्जन गर्दै आएका ५५ परिवारलाई शहरी बिकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत सुरक्षित घरमा सार्न २०७६ मा घर निर्माण सुरु गरेको हो । जसमध्ये ३५ परिवार सुरक्षित घरमा सरिसकेका छन् ।
घर निर्माणका लागि प्रति घर ३ लाख ३२ हजार ५ रुपियाँ विनियोजन भएको शहरी विकास तथा भवन कार्यालय बिराटनगरका प्रमुख सुरेशप्रसाद साहले बताउनु भयो । तर, सुनवर्षी नगरपालिका वडा नंं ८ का वडाध्यक्ष अनुवार मियाका अनुसार सम्झौतामा घरसँगै २० वटा शौचालय र २० वटा ट्युववेल सहित २÷२ कोठे घर निर्माण गर्नुपर्ने थियो । तर, हालसम्म घर मात्र बनेका छन् । घरसम्म पुग्ने सडक छैन । गहिरो भागमा रहेको पैनीको किनारमा घर बनेकोले घरहरू डुबेका छन् । सडक नभएपछि ति घरसम्म बिजुली पु¥याउन सकिएको छैन । वडाध्यक्ष मियाले थप्नुभयो–घर समयमा हस्तान्तरण नहुँदा आर्थिक वर्ष २०८०÷०८१ मा ६५ वटा घरको वजेट फ्रिज भयो । स्थानीय कैलु ऋषिदेवले आफ्नो समूदायका मानिसलाई समन्वय नगर्दा घर सर्ने काम अघि नबढेको मियाको आरोप छ । मियाका अनुसार कैलुले २० वटा घर भएको स्थानमा पाँच विघा जग्गा ऐलानी भएको र उक्त जग्गा ऋषिदेवहरूलाई नै भोगचलन गर्न दिनु पर्ने माग गर्नु भएको छ । कैलु ऋषिदेव समूदायका अगुवा मानिनु हुन्छ ।
उक्त जग्गा बेलाल मिया र ताहिर मिया(सानो)ले भोगचलन गरिरहनु भएको छ । सरकारी जग्गामा शहरी विकासले घर बनाउँन खोज्दा समेत प्रति परिवार ५÷५ हजार रुपियाँ दिएका ऋषिदेवहरूले जग्गा भोगचलनको माग राखिरहने हो भने उनीहरूको सुरक्षित आवासमा सर्ने सपना पानीको फोका झैं हुने निश्चित छ । किनकी बेलाल र ताहिर उक्त जग्गा चार पाँच पुस्ता अघि बाबु बाजेबाट आफूमा सर्दै आएको दाबी गर्नुहुन्छ ।



Share via
Send this to a friend