पथरीशनिश्चरे / टाइब्रेकरमा आयोजक पथरी–११ फुटबल क्लब पथरीशनिश्चरेलाई ३–१ गोलले हराउँदै सङ्कटा क्लब मोरङको पथरीशनिश्चरेमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८१ को फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ७० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा सङ्कटाका पुस्कर खड्का,युवराज ढकाल र कृपा चौधरीले गोल गर्नुभयो भने अनिस परियारको प्रहार पोष्टबारमा लागेर आउट भयो । आयोजक पथरी –११ का सनम धिमालले मात्र गोल गर्नुभयो । पथरीका निरज परियार र साइमन लिम्बूकाे प्रहार सङ्कटाका गोल रक्षक निशान रानाले बचाए । पथरीका धिरेन क्षेत्रीले आउट प्रहार गरे ।
यसअघि खेलको ११ ओैं मिनेटमा सङ्कटाका कृपा चौधरीले आयोजक बिरुद्ध गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा आयोजक पथरी –११ ले एक गोल गर्दै खेलमा फर्कियो । विवेक पौडेलले आयोजकका लागि सनम धिमालको पासमा गोल गरे । निक्कै घम्साघम्सी पूर्ण खेलमा जित निकाल्न सङ्कटाका टिम म्यानेजर प्रज्वल क्षेत्रीले पहेलो कार्ड खाएका थिए ।
पटकपटक बेन्च छोडर बाहिर आइ रेफ्रिलाई गाली गरेपछि रेफ्रि विक्की कार्कीले पहेंलो कार्ड दिएका थिए ।
टाइब्रेकरमा दुईवटा प्रहार बचाउ गर्ने सङ्कटाका गोल रक्षक निशान राना म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी प्रदेश सरकारका कृषि ,उद्योग तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले नगद ५ हजार र ट्रफि प्रदान गरे ।
बिहीबार दोस्रो सेमिफाइनल खेल झापा –११ र बिग्रेड ब्वाइज बिच हुनेछ ।






