पथरीशनिश्चरे । पथरीशनिश्चरेमा जारी प्रथम इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको उपाधिका लागि काठमाडौंका दुई क्लब ब्रिगेड ब्वाइज र सङ्कटा क्लब भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा झापा ११ लाई सडन डेथमा हराउँदै ब्रिगेडले फाइनल यात्रा तय गरेको हो भने बुधबार आयोजकलाई हराउँदै सङ्कटा उपाधि भिडन्तमा पुगेको हो । दोस्रो सेमिफाइनल खेलको निर्धारित ७० मिनेट गोल रहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा दुबै टिमका खेलाडीले ४/४ गोल गरी एक/एक प्रहार मैदान बाहिर प्रहार गरेपछि सडन डेथबाट ब्रिगेड विजयी भएको हो । झापाका सौभाग्य राईको भाग्य गुमेपछि झापाले ब्रिगेड ब्वाइजलाई खेल सुम्पेको थियो । सौभाग्यका लागि ब्रिगेडका गोल रक्षक रुविन बोगटीले बाधक बने ।
नेपाली राष्ट्रिय फुटबल टिमका हिसुप थपलिया ,उत्सव राई,देवेन्द्र तामाङ लगायतका खेलाडी मैदानमा ओरालेको झापा ११ ले पटकपटक पोष्टको नजिक बल पुर्याएर पनि स्कोर गर्न सकेको थिएन् ।
पूूर्वमा धेरै वटा प्रतियोगिता भइरहेकोले आयोजकले दर्के झरीका बिच दोस्रो सेमिफाइनल गराएको थियो । आजको खेलमा ब्रिगेड ब्वाइजका दिवाकर चौधरीले म्यान अफ द म्याच घोषित हुँदै ५ हजार नगद सहित ट्रफि प्राप्त गरे ।
पथरी-११ फुटबल क्लवले आयोजना गरेको प्रतियोगिताका विजेताले नगद ३ लाख र उप विजेताले २ लाख नगद र ट्रफि पाउनेछन् ।






