बेलबारी । डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज ललितपुर बिरुद्ध २–१ गोलको जित निकाल्दै बुटबल लुम्बिनी फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिगेड ब्वाइज क्लब भने पहिलो चरणबाटै बेलबारी गोल्डकपको उपाधि होडबाट बाहिरिएको छ ।
सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा बुटवल लुम्बिनी फुटबलसँग ब्रिगेड ब्वाइज २–१ गोलले हारेको हो । मङ्गलबारको खेल जितेसँगै बुटबल लुम्बिनी फुटबल क्लब गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ । बुटवल लुम्बिनी बेलबारी गोल्डकपमा पहिलोपटक सहभागी भएको टिम हो ।
बेलबारी ११ को लक्ष्मी खेलमैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबका सुजन ढङ्गोलले २० ओैं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । कप्तान एन्जल महर्जनको पासमा सुजनले गोल गरेका थिए ।
चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको बुटवल लुम्बिनी फुटबल क्लबले मध्यान्तर अघिसम्म बल होल्ड गरेपनि स्कोर गर्न सकेको थिएन । बिग्रेडका रक्षा पङ्क्तिका खेलाडीहरू दिवाकर चौधरी ,कोमल खवास र पदम भट्टराईले पटकपटक टिमलाई गोल खानबाट जोगाउँदै अग्रता बचाएका थिए ।
खेलको ५१ ओैं मिनेटमा बुटवल लुम्बिनी क्लबका कप्तान एरिक बिष्टलाई डिबक्स भित्र विपक्षी खेलाडीले ट्याकल गरेपछि बुटवल लुम्बिनी फुटबल क्लबले पेनाल्टी प्रहारको अबसर पायो । एरिक बिष्टले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएपछि खेल १–१ गोलको बराबरीमा पुग्यो । बराबरी गोल गरेपछि खेलमा फर्किएको बुटबल लुम्बिनीले ६२ ओैं मिनेटमा थप १ गोल ग¥यो । बुटवल लुम्बिनीका ग्लोरीले रिचर्डको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए ।
मङ्गलबारको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबका एरिक बिष्ट म्यान अफ द म्याच घोषित भए । बिष्टलाई कोशी प्रदेशका सांसद मानबहादुर लिम्बूले नगद ५ हजार र ट्रफि प्रदान गरे । सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत बुधबार अन्तिम क्वाटरफाइनलमा सलहेस फुटबल क्लब सिराहा र भारतको दलसिंहपारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
बुटबल लुम्बिनी फुटबल क्लबले कात्तिक ८ गते झापा ११ सँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।






