अग्निपथ समाचारदाता
लेटाङ २५ भदौ । चौतर्फि अतिक्रमणमा परिरहेको लेटाङ ४ र ६ को बीचमा अवस्थित टुक्रे राष्ट्रिय वनलाई लेटाङ नगरपालिकाले पर्यापर्यटन सामुदायिक वनको रुपमा विकास सञ्चालन तथा व्यवस्थापन गर्ने भएको छ ।
लेटाङ नगरका लागि आवश्यक पूर्वाधार निर्माण देखि खेल मैदान, स्विमिङ पुल, कवर्डहल, सम्मेलन केन्द्र, साइक्लिङ लेन, बालबगैंचा निर्माणको तयारीका साथ टुक्रे वनलाई पर्यापर्यटन सामूदायिक वनका रुपमा विकसित गर्न लागिएको नगर प्रमुख भुपेन्द्रकुमार लावतीले बताउनु भयो । नगरले लेटाङका सबै राजनीतिक दल,सामाजिक सङ्घ संस्था, सरकारी निकाय , प्रहरी प्रशासन र स्थानीय उपभोक्ता सहितको भेला गराई टुक्रे बनलाई नगरको समृद्धिका लागि उपयोग गर्ने निर्णय गरेको हो । स्थानीय नन्दलाल धिमालको अध्यक्षमा टुक्रे वन पर्यापर्यटन सामुदायिक वन गठन गरी कार्यालय समेत स्थापना गरिएको छ । नगरले तयार गरेको अवधारणापत्र सम्बन्धित सरोकारवाला सरकारी कार्यालयमा पठाउने निर्णय भएको पालिकाका मेयर भुपेन्द्रकुमार लावतीले बताउनु भयो । अहिले नगरवासीको भेलाले साझा अवधारणा तयार गरी बन कार्यालयमा पठाउने सहमति जुटेको छ, नगर प्रमुख लावतीले भन्नुभयो ।
लेटाङ बजारबाट उत्तर पूर्वमा रहेको टुक्रे वन संक्षरणको जिम्मा कुनै समय नेपाली सेनाले पाएको थियो । तर,समूदाय र नेपाली सेना बीच समन्वय नभएपछि सेना जिम्मेवारीबाट बाहिरिएको थियो । त्यसपछि लगातार अतिक्रमणमा परेको वन ब्यवस्थापन गर्न तत्कालिन सांसदहरूले संसदमा समेत कुरा उठाए । झण्डै साडे चार सय ठाडा रुख रहेको टुक्रे वनलाई ब्यवस्थापन गर्न कुनै निकायले सकेन ।
साडे चारसय मध्ये दुईसय बढी रुख सुकिसकेका छन् । स्थानीयले नै लुकि चोरी सुकेका रुखको फेदमा आगो लगाउने,ढाल्ने । बन्चरोले दाउरा चिर्ने । हरिया रुखको बोक्रा छिलेर रुख मार्ने जस्ता हर्कत गर्न थालेपछि वनको स्वरुप मात्र बिग्रिएको थिएन । लेटाङ पुग्ने हरेक नागरिकले टुक्रे वन ब्यवस्थापन गर्न सुझाव दिँदै आएका थिए । ७४ हेक्टर वन मध्ये १७ हेक्टर जग्गामा नेपाली सेनाको ब्यारेक बसेको छ । त्यस्तै ४ नम्वर वडा कार्यालय,दुई वटा धार्मिक वन र तीन वटा मन्दिर पनि सोही टुक्रे वन क्षेत्र भित्र रहेका छन् ।
सव डिभिजन वन कार्यालय लेटाङका प्रमुख सत्यनाराण झाले भन्नुभयो – यो पटकको छलफलले टुक्रे वनको ब्यवस्थापनलाई निकास दिनेछ । वन संरक्षण र वनले चर्चेको केही क्षेत्रमा पर्यापर्यटनका लागि उपभोग गर्न सकिने नीतिगत ब्यवस्था रहेकोले टुक्रे वन ब्यवस्थापनको गाँठो फुक्ने झाको भनाई छ ।






