Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
उर्लाबारी,२६ भदौ । उनीहरूलाई न दशैं आउँछ न तिहार । सानातिना पर्व त वर्षभरि कति आउँछन् ,जान्छन् । वास्तै हुँदैन । ति पर्वले न उनीहरूलाई जगाउँछ , न आफन्तसँग जोड्छ । पुराण,अनुष्ठान,पुजा शहर भरि भइरहन्छन् तर कसैले खबर गर्दैनन । कसै कसैले गरिहाले भने पनि त्यहाँसम्म पुगेर रमाइलो गर्ने उर्जा उनीहरूमा छैन् । धेरै जसोलाई आफ्नै जन्मदिन थाहा छैन । जन्मदिन थाहा नभएपछि साथी भाइ बीच शुभकामना आदान प्रदान पनि हुँदैन । मोरङको उर्लाबारी ७ स्थित नमुना बाल गृहका बालबालिकाको दैनिकी एकनासले बित्ने गर्छ सधै, यसैगरी ।
मन भरि पीडा भएपनि उनीहरूको मुहार उज्यालो छ । नमुला बाल गृहमा पुग्ने जो कोहीलाई उनीहरू आदर पुर्वक स्वागत गर्छन् । आफूले नजानेका ज्ञानगुनका कुरा सिक्छन् । पाहुनाहरूलाई आत्मीयता प्रकट गर्छन् । कतिपय बालबालिका एकैघरका छन् । बाबु आमा को हुन् ? मावली को हुन् । आफन्तहरू को हुन र कहाँ छन् । उनीहरू पुरै बेखबर छन् । उनीहरूको सहाराको एउटै मियो भनेको मीना आमा हुनुहुन्छ । मीना आमाले २०५७ मा बालबालिकाको पालन पोषण अभियान सुरु गर्नु भएको हो ।उर्लाबारीमा एक जना अर्धचेत सडक महिला गर्भवती भइन । कलिलो उमेरमा गर्भवती भएकी ती महिलालाई पालन पोषण गरेर जन्मिएकी शिशुको नाम नमूना मीना आमाले नमूना राखी दिनुभयो । थर आफ््नै दिनु भयो, बराल ।
मीना आमाका आफ्ना सन्तान छैनन् । आफ्नो सबै सम्पति नमूना बाल गृहलाई दिएर अवोध बालबालिकाको आमा बन्नु भएकी मीनासँग अहिले ६० जना छोरा छोरी छन् । आफू आर्थिक रुपमा सम्पन्न भएपनि मीना आमालाई सम्पन्नताको भूत चढेको छैन् । उहाँ भन्नुहुन्छ– ६० जना छोराछोरीलाई पढाउने , खुवाउने , सुताउने मै दिनहरू बितिरहेका छन् । नानीहरूलाई नियास्रो नहोस भनेर हामीले सबै पर्वमा विशेष कार्यक्रम गरेर सहभागि गराउने गरेका छौं । तिहारमा देउसी खेल्छन् । होली, तीज,दशैं सामूहिक रुपमा मनाउने गरेका छौं ।
बालगृह भित्र न जात भात छ । न पहाडे मधेसेको विभेद छ । सबै एउटै परिवार भएर बसेका छन् । खाएका छन् ।१४ वर्षीय सुन्दर सार्कीलाई न घर थाहा छ , न आफन्तको विषयमा केही जानकारी छ । सानै छँदा बाल गृहमा आइ पुगेका सार्की अहिले कक्षा ८ मा पढ्छन् । योगासनको समेत अभ्यास गरिरहेका सुन्दर ६० वटा आसन गर्न सक्ने भएका छन् । योग गुरु बन्ने लक्ष्य राखेका सुन्दरले भने मीना आमासँगै हुर्किएको घर परिवारको बारेमा केही थाहा छैन् । करुण चौधरी र जय चौधरी दिदी भाइ हुन् । १५ वर्षीय करुणा कक्षा ७ मा र १२ वर्षीय भाइ जय कक्षा ५ मा पढ्छन् । आफन्त कहाँछन् । मावली को हुन केही थाहा छैन् ,करुण र जयलाई । उनीहरू भन्छन्–हाम्रो सबैथोक मीना ममि हो ।
आश्मा परियार १६ वर्षकी भइन । १८ महिनाको छँदा उनलाई त्यहाँ ल्याइएको अरे । उनले भनिन–थर सम्म थाहा पाएँ, त्यो बाहेक केही थाहा छैन । शिक्षक बन्ने सपना बुनिरहकी आश्माले भनिन–आफन्त कोही छैनन् । कोही भेट्न आउँदैनन । कक्षा १० मा पढिरहेकी आश्मा स्थानीय लक्ष्मी माविमा पढ्छिन् ।
११ वर्षकी अमीसा,८ वर्षकी अष्मिता र ५ वर्षकी अनुस्का सहोदर दिदी बहिनी हुन् । उनीहरूलाई आफ्नो घर पथरी भन्ने सम्म थाहा छ । छिमेकीले पालन पोषण गरिरहेको समाचार आएपछि पत्रकारहरू कै पहलमा उनीहरूलाई बाल गृहमा ल्याइएको हो । कक्षा ७ मा पढिरहकी अमिसाले भनिन्–बुवा विदेश जानु भएको आउनु भएन, आमा थाहा भएन । उनीहरूमा कुनै उत्साह छैन । करुणा भरिएको जवाफ दिँदै उनले थपिन –भरखरै आएका हौं । बहिनीलाई सम्हाल्न अलि गाह्रो हुन्छ । ’
नमुना बाल गृहको अहिले साडे १८ कट्ठा जमीन छ । त्यही जग्गाका दाताहरूको सहयोगमा बनेका तीन वटा अलग अलग भवन छन् । साना नानीहरूलाई पूर्व प्राथमिक शिक्षा बाल गृह भित्र नै दिने गरिएको छ । बाल गृहका ब्यवस्थापक तेजबहादुर घिमिरेका अनुसार बाल सम्म ४ जना छोरी र १ छोराको बिबाह समेत गृहले नै गरिदिएको छ । त्यति मात्र होइन, त्यहाँ हुर्केका नानीहरू ८ जनालाई आफ्ना अभिभावकले बुझेर लगे भने ४७ जना वयस्क भएर आफनो पाराले जीविकोार्जन गरिरहेका छन् ।
बाल गृहमा कोशी प्रदेशका १४ जिल्लाका सँगै दैलेख,अछाम र कैलालीका बालबालिका रहेका छन् । बाल गृहमा ३ महिला र २ पुरुषले बालबालिकालाई सेवा प्रदान गरिरहनु भएको छ ।



Share via
Send this to a friend