कानेपोखरी, ४ असोज । संविधान दिवसको अवसर पारेर मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गरेको छ । पालिकाले गत वर्ष संविधान दिवसकै अवसर पारेर ६ परिवारलाई सुरक्षित आवास प्रदान गरेको थियो ।
पूर्व उपसभामुख डाक्टर शिवमाया तुम्वाहाम्फेले बुधबार विपन्न परिवारलाई घरको ताला जिम्मा लगाउनु भयो । ताला जिम्मा लगाउँदै उहाँले संविधानले ब्यवस्था गरे अनुसार नै पालिकाले विपन्न परिवारलाई सुरक्षित आवासमा सारेको बताउनु भयो । तुम्बाहाम्फेले भन्नुभयो – हामी संविधान कार्यान्वयनको क्रममा छांैं । घर वितरण पनि संविधान कार्यान्वयको एउटा चरण हो । नेपालको संविधानले घरवार विहीन परिवारको कल्पना गरेको छैन् ।त्यसैले गरिवी निवारणका लागि तीनै तहका सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्ने काम गरिरहेका छन् ।
तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट पालिकाले घर निर्माण गरेको हो । आफ्नो जमीन नभएका र कमाउन पनि नसक्ने अति विपन्न परिवारलाई घर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । आँगनमा पानी पिउने ट्युववेल,शौचालय सहितको दुई कोठे घर पाएपछि ८ परिवारले आफ्नो श्रमबाट प्राप्त आम्दानी घरको छानो टाल्न, बेरा लगाउन खर्च गर्नु नपर्ने अध्यक्ष इङ्नामले बताउनु भयो । अब उहाँहरू जनमन गरेर जति कमाउनु हुन्छ , त्यो सबै अनाज किन्न र छोराछोरी पढाउनका लागि खर्च गर्न सक्छन्,अध्यक्ष इङ्नामले भन्नुभयो ।
आर्थिक वर्ष २०७९/०८० मा पनि पालिकाले ४ वटा घर निर्माण गरेको थियो । पालिकाले खरिद गरेको जमीनमा उत्तर तर्फबाट घर निर्माण गर्न थालिएको थियो । यो पटक भने पालिकाले ४ वटा घरमा ८ परिवार बस्ने मिल्ने बनाएको छ । अध्यक्ष इङ्नामले भन्नुभयो–‘४ परिवारको आँगन उत्तर फर्किएको हुनेछ भने ४ परिवारको आँगन दक्षिण फर्किएको हुनेछ । कुनै पनि परिवारलाई अघि वा पछि बसेको अनुभुति नहोस भन्ने उदेश्यले एउटै घरको दुबै तर्फ मुख बनाइएको उहाँको भनाई छ । ५१ लाख ६२ हजार ८६८ रुपियाँमा बेलबारी मोरङको ओजस कन्ट्रक्सनले निर्माण गरेका घर निर्धारित मिति २०८० असार २० अगाबै निर्माण सम्पन्न भइसकेको हो ।
नयाँघर प्राप्त गर्नेहरूमा कानेपोखरी–२ का सङ्गीता उराव र रेखा मल्लिक,वडा नं. ३ की भरवती राजवंशी,कमली चौधरी र फागुलाल उराव हुनुहुन्छ । यस्तै वडा नं. ५ का उत्तम विश्वकर्मा र विश्वेश्वर चौधरी हुनुहुन्छ । घरमा बस्ने एक परिवार छनौट हुन बाँकी रहेको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनु भयो ।
त्यसैगरी गाउँपालिकाले अति विपन्न ऋषिदेव समूदायका ३० परिवारलाई उनीहरू बसेकै स्थानमा नयाँ घर निर्माण गरिरहेको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पालिकाले वडा नं.३ को राजगञ्जका अति विपन्न ऋषिदेव(मुसहर) समूदायको घर निर्माण गरिरहेको हो ।
घर निर्माण गर्न हेल्भीटास नेपाल र सहारा नेपालले साझेदारी गरेको अध्यक्ष इङ्नामले बताउनु भयो । उहाँका अनुसार २ लाख २१ हजार ८ सय रुपियाँ गाउँपालिकाले ब्योहोर्ने छ । सहारा नेपाल र हेल्भीटासले २ लाख रुपियाँ साझेदारी गर्ने भएका छन् भने घरधनीले ८० हजार रुपियाँ बराबरको श्रमदान गनुृपर्ने छ । जम्मा ५ लाख १ हजार ८ सय रुपियाँमा तयार गरिने घरमा ११/११ का दुईवटा कोठा, एउटा भान्साघर र बाहिर पट्टि बरण्डा रहनेछ । घर छेउमा सुरक्षित शौचालय र सामूहिक रुपमा खानेपानीका लागि चापाकल ब्यवस्था गरिनेछ ।






