Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं / नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. सुनीलकुमार शर्माले समाजसेवी महावीर पुनमाथि फैलाइएको “विदेशमा छोरीलाई एक करोड रुपैयाँ खर्च गरेर पढाइएको” भन्ने हल्लालाई झुट्टा, तथ्यविहीन र चरित्रहत्या गर्ने नियतका रूपमा खारेज गर्नुभएको छ।

डा. शर्माले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लामो स्टाटस लेख्दै महावीर पुनजस्ता निस्वार्थ समाजसेवी व्यक्तिमाथि यस प्रकारका आरोप लगाउनु आपराधिक सोचको उपज भएको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार, पुन सरको दीर्घकालीन योगदान र इमानदार छविलाई बदनाम गर्ने नियतले गरिएको यस्तो हल्ला अत्यन्तै निन्दनीय छ।

उहाँले लेख्नुभएको छ, “यो हल्ला निश्चय नै बदनियतपूर्ण हो। सामाजिक योगदानमा समर्पित, निस्वार्थ भावनाबाट काम गर्ने व्यक्तिलाई यसरी आरोप लगाउनु केवल आपराधिक सोचको परिणाम हो।”

डा. शर्माका भनाइमा, उहाँले व्यक्तिगत रूपमा महावीर पुन सरसँग भेट गरी आफ्नी छोरीको अध्ययनबारे छलफल गर्नुभएको थियो। सो भेट राष्ट्रिय अनुसन्धान केन्द्र, कीर्तिपुरमा भएको थियो। सो अवसरमा उहाँ पुन सरको कार्यशैली, दृष्टिकोण र जीवनदर्शनबाट गहिरो प्रभावित हुनुभएको बताउनुहुन्छ।

उहाँका अनुसार, आफ्नी छोरीको चिकित्सा शिक्षा सम्बन्धी परामर्शको क्रममा उहाँले नै काठमाडौं मेडिकल कलेज (KMC) वा नोवेल मेडिकल कलेजमा पूर्ण छात्रवृत्तिका लागि चिकित्सा शिक्षा आयोगमा सिफारिस गर्नुभएको थियो। तर त्यो प्रयास सफल हुन नसकेपछि मात्र विदेशमा अध्ययन गर्ने विषयमा छलफल भएको हो।

डा. शर्माले लेख्नुभएको छ, “मैले आग्रह गरी पासपोर्ट बनाउन लगाएँ। सुरुमा सरले अलिक अनाकानी गर्नुभएको थियो। मैले भनेँ — पैसाको समस्या भए हामी सहयोग गर्छौँ। डा. गोविन्द केसी सरको आन्दोलन र नेताहरूको गलत नीतिका कारण नेपालका धेरै मेडिकल र डेन्टल सिटहरू काटिएका छन्, जसले तपाईँजस्ता हजारौँ नेपाली अभिभावकलाई असर पारेका छन्।”

उहाँका अनुसार, नेपालमा चिकित्सा शिक्षाको अवसर सीमित भएको कारण अन्ततः परिस्थिति र परामर्शका आधारमा विदेश पठाउने निर्णयमा सहमति भएको हो। सो क्रममा उहाँले महावीर पुन सरका लागि व्यक्तिगत रूपमा सहयोग गर्न चाहनुभएको भए पनि पुन सरले नम्रतापूर्वक अस्वीकार गर्नुभएको उल्लेख गर्नुभएको छ।

छोरीको भर्ना प्रक्रिया बंगलादेशको जहारूल इस्लाम मेडिकल कलेज, वाजितपुरमा भएको र सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको डा. शर्माको भनाइ छ। उहाँका अनुसार, उक्त अध्ययनका लागि जम्मा ४१ हजार अमेरिकी डलर मात्रै खर्च भएको छ, त्यो पनि किस्ताबन्दीमै भुक्तानी हुँदै आएको छ।

डा. शर्माले स्पष्ट पार्नुभएको छ कि कुनै पनि कन्सल्टेन्सी शुल्क लिइएको छैन। सम्पूर्ण प्रक्रिया डा. नरेन्द्र मिश्रलगायतका साथीनमार्फत पारदर्शी ढंगले सम्पन्न गरिएको हो। उहाँका अनुसार, महावीर पुन सरजस्ता व्यक्तिमाथि यसरी निराधार आरोप लगाउनु देशका सम्पत्तिमाथि नै प्रहार गर्नु हो।

उहाँले पुन सरको इमानदारीको एउटा प्रसंग पनि सम्झनुभएको छ। उहाँका शब्दमा, “हामीले उहाँको आत्मवृत्तान्त पुस्तक किन्यौँ। फिर्ता दिने पैसा उहाँसँग तत्काल थिएन। हामीले ‘फिर्ता नचाहिने’ भने पनि उहाँले पछि खोजेर फिर्ता गर्नुभयो। यस्तो इमानदार व्यक्तिविरुद्ध यस्तो हल्ला फैलाउनु अत्यन्तै गैरजिम्मेवार काम हो।”

अन्त्यमा डा. शर्माले देश र समाजका जिम्मेवार नागरिकलाई सन्देश दिँदै लेख्नुभएको छ, “हामी समाज र देशका लागि उठ्नुपर्छ, एकजुट हुनुपर्छ। निराधार हल्लामा नलागौँ, प्रमाण र सत्यका आधारमा मात्रै बोलौँ।”



Share via
Send this to a friend