काठमाडौं ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बचतकर्ताको रकम ३६ महिनासम्म फिर्ता नभएको भन्दै अर्धनग्न भएर पत्रकार सम्मेलन गरेको छ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा महासंघले हालसम्मकाे सरकारले पनि आफूहरूको मागप्रति ध्यान नदिएको गुनासो गर्नुभयो।
महासंघका कुशलभ केसीले बचतकर्ताहरूको अवस्था अब नाङ्गो भइसकेको प्रतीकस्वरूप अर्धनग्न प्रदर्शन गर्नुपरेको बताउनुभयो। उहाँले भन्नुभयो,
“अब कानुनी राज्यमा हामी छैनौं, हाम्रो अवस्था नाङ्गो भइसकेको छ। यो रहर होइन, बाध्यता हो, हामीले यो देखाएका छौं ताकि सबैले हेरेर बुझून्।”
केसीका अनुसार सहकारी पीडितहरूको बचत फिर्ता गराउनका लागि उहाँहरूले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतसँग पटक–पटक भेटवार्ता गर्नुभएको थियो। उहाँले भन्नुभयो,
“प्रधानमन्त्री कार्कीले चुनाव गराउने र सहकारी पीडितको बचत फिर्ता गराउने आश्वासन दिनुभयो, तर त्यसपछि केही पनि कार्यान्वयन भएन। हामी वार्तामार्फत समाधान खोज्न चाह्यौं, आन्दोलन होइन, तर न्याय पाएका छैनौं।”
उहाँका अनुसार सहकारी घोटलामा राजनीतिक दलहरूको संलग्नता भएकै कारण कारबाही हुन सकेको छैन। उहाँले आगामी कात्तिक २७ गते बिहीबार पुनः ठूलो आन्दोलनको तयारी भइरहेको बताउनुभयो।
केसीले चेतावनी दिनुभयो,“यो आन्दोलन २०६२/०६३ को आन्दोलनभन्दा पनि ठूलो हुनेछ। राजनीतिक दलहरूको संलग्नताकै कारण आजसम्म बचतकर्ताको रकम फिर्ता भएको छैन। अहिलेको सरकारले पनि हाम्रो हारगुहार सुनेको छैन। अस्तीमात्रै प्रधानमन्त्रीज्यूसँग वार्ता भयो, तर सहमति केही भएन।”






