उर्लाबारी, ९ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड–४ झापा अन्तर्गत सञ्चालित मोरङका ६ वटा सेवाकेन्द्रको इकाइगत साधारणसभा मङ्गलबार उर्लाबारीमा सम्पन्न भएको छ ।
दाम्राभिट्टा,बरगाछी,मधुमल्लारोड,मधुमल्ला, मङ्गलबारे र पथरीशनिश्चरे सेवाकेन्द्रको इकाइगत साधारणसभा उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको हो । संस्थाका सचिव इन्द्रबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा ६ वटा सेवाकेन्द्रमा उत्कृष्ठ कारोवार गर्ने दुइृ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बचत तर्फ भोजबहादुर श्रेष्ठ र ऋण तर्फ जीवनकुमार नेपाल हुनुहुन्छ । उहाँहरूलाई उर्लाबारी –७ का वडाध्यक्ष उर्मिला थापाले नगद ५/५ हजार सहित प्रमाण पत्र प्रदान गर्नुभयो ।
सोही अवसरमा २ लाख ५० हजार रुपियाँ ऋण लिनु भएका राजु विश्वकर्माको ऋण मिनाहा गरिएको घोषणा गरिएको थियो । विश्वकर्माको दुर्घटनामा निधन भएको थियो । विश्वकर्माले भुक्तान गर्न बाँकी २ लाख ४९ हजार ९१२ रूपियाँ ऋण मिनाहा गरिएको सञ्चालक सदस्य नवीन योगीले बताउनु भयो । यसैगरी संस्थाले इन्दिरा देबी थापालाई १२ हजार ९६० रुपियाँ औषधि उपचार खर्च प्रदान गरेको छ भने पार्वता खड्का र प्रेमकुमारी खड्काको परिवारिक सदस्यलाई क्रमशः २ हजार १६० रुपियाँ र २ हजार ३०४ रुपियाँ प्रदान गरिएको छ । पूर्वी मोरङका ६ सेवाकेन्द्रमा ४ हजार ३७ जना शेयर सदस्य रहेका छन् । सबै सेवाकेन्द्रको इकाइगत साधारणसभा सकेर संस्थाले असोज २७ गते शनिवार विर्तामोडमा १३ अाैं वार्षिक साधारणसभा गर्ने भएको छ ।






