विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन पत्र दाखिला गरेका मोरङका ११८ जना उम्मेद्वार मध्ये छ जनाले उम्मेद्वारी फिर्ता लिनु भएको छ ।
मोरङ क्षेत्र नंं १ का सहायक निर्वाचन अधिकृत बसन्त काफ्लेका अनुसार मोरङ १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार दुर्गाप्रसाद दर्लामीले नाम फिर्ता लिनु भएको छ । मोरङ १ मा १७ उम्मेद्वार कायम भएका छन् । यस्तै मोरङ क्षेत्र नंं ३ का सहायक निर्वाचन अधिकृत कुमारबहादुर श्रेष्ठका अनुसार मोरङ ३ का तीन जना स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिनु भएको छ । मोरङ ६ का सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलका अनुसार मोरङ ६ मा दुई जनाले नाम फिर्ता लिनु भएको छ । नाम फिर्ता लिनेमा नेपाल मजदुर किसान पार्टीका तिलकराम राजवंशी र स्वतन्त्र उम्मेद्वार राम खत्री रहनु भएको छ ।
मोरङ २,४ र ५ मा कुनै पनि उम्मेद्वारले नाम फिर्ता नलिएको तत निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत एवम् सूचना अधिकारीले जनाउनु भएको छ । माघ ६ गते क्षेत्र नंं १ को उर्लाबारी नगरपालिका कार्यालयमा, मोरङ २ को विश्वनाथ मन्दिर रतुवामाई ७ मा, मोरङ ३ को बेलबारी नगरपालिका वडा नं.३ को कार्यालयमा , मोरङ ४ को विराटनगर महानगरपालिका वडा नं. १ स्थित हृदयेन्द्र बाल उद्यानमा मोरङ ५ को सुनसरी मोरङ सिंचाई कार्यालयमा र मोरङ ६ को मुख्य निर्वाचन कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा २६ वटा राजनीतिक दलका ८९ जना र २९ जना स्वतन्त्र गरी ११८ जना उमेद्वारले मनोनयन पत्र दर्ता गराउनु भएको थियो । जसमध्ये एक जना तेस्रो लिङ्गी,१२ जना महिला १०५ जना पुरुष उम्मेद्वार रहनु भएको थियो ।
अन्तिम नामावली प्रकाशन भएपछि २६ दलका ८७ जना र २५ जना स्वतन्त्र गरी ११२ जना उम्मेद्वार कायम भएको छ ।

























