अग्निपथ समाचारदाता,
कानेपोखरी, २० असोज । मोरङको लेटाङ –२ पैतिसबिघेमा नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसन निर्माण हुने भएको छ । लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती र नेपाल बिद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय,बिराटनगरका प्रमुख उमेशकुमार झाले संयुक्त रुपमा सव स्टेसनको शिलान्यास गर्नुभयो ।
नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय,बिराटनगरका प्रमुख उमेशकुमार झाका अनुसार १ बिघा जग्गामा लेटाङमा निर्माण हुने नेपाल कै पहिलो मानव रहित सव स्टेसन हो । ६/८ एमभीए क्षमताको सव स्टेसन निर्माणका लागि सोहन कन्ट्रक्सन र जय दुर्गे निर्माण सेवाले काम गरिरहेका छन् । झाले भन्नुभयो –करिव १७ करोडको आयोजना हो ।
जसमध्ये ट्रान्समिसन लाइनको काम सोहन कन्ट्रक्सनले गरिरहेको छ भने सव स्टेसन निर्माणको काम जय दुर्गे निर्माण सेवाले गरिरहेको छ । २०८१ सालको मङ्सिर सम्ममा दुबै कामका ठेकदार कम्पनीले सक्ने गरी सम्झौता भएको कार्यालय प्रमुख झाले बताउनु भयो । ट्रान्समिसन लाइनको काम १० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको कार्यालय प्रमुख झाको भनाई छ । केरौन चौकबाट लेटाङको सब स्टेसन निर्माण हुने स्थान सम्मको १८ किलोमिटर क्षेत्रमा ६/८ एमभीए विद्युत प्रशारण गर्ने पोल गाड्ने काम सकिएको छ ।केरौन चौकबाट कानेपोखरीसम्म र कानेपोखरीबाट लेटाङको कमलपुर पोल गाड्ने काम सकिएको छ । अब तार टाङ्ने काम सुरु हुन्छ ,उहाँले भन्नुभयो ।
मोरङको कानेपोखरी–२ केरौनमा प्राधिकरणले १३७/१११ एमभीए क्षमताको स्टेसन निर्माण गरिसकेको छ । सोही केन्द्रबाट विराटचौक,लेटाङ र रङ्गेलीमा विद्युत वितरण गरिनेछ । यता लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले महत्वकांक्षी योजना भएकोले निर्माणका क्रममा सहयोग गर्न नगरवासीसँग आग्रह गर्नुभयो । लावतीले भन्नुभयो – निर्माणका क्रममा कुनै समस्या आए तत्काल राजनीतिक दलको छलफलबाट समाधान निकालिने छ ।






