कानेपोखरी,२२ असोज । मोरङको कानेपोखरी गाउँपालिकाका २ सय गाई, गोरु र बाछाबाछीलाई लम्पी स्किन रोग बिरुद्धको भ्याक्सिन लगाइएको छ ।
दीगोपन सामाजिक महिला उद्यमी सहकारी संस्था लि.ले आफ्ना सदस्यले पालेका गाई वस्तुमा निशुल्क भ्याक्सिन लगाइ दिएको हो । असोज १२ देखि एक सातासम्म सञ्चालन गरेको अभियानमा पालिका भित्रका शेयर सदस्यका गोठ गोठमा पुगेर भ्याक्सिन लगाइएको सहकारी संस्थाकी ब्यवस्थापक रुकमण्ी कार्कीले बताउनु भयो । कार्कीका अनुसार शेयर सदस्यहरू धेरै भएको ठाउँमा सदस्यले आफ्ना गाईवस्तु खुला चौरमा भेला गर्नुभयो , त्यही गएर संस्था कै पशु प्राविधिक सुस्मिता विश्वकर्माले भ्याक्सिन लगाइ दिनुभयो । सदस्य सङ्ख्या कम भएको वडाहरूमा सदस्यको गोठ गोठमा पुगेर भ्याक्सिन लगायौं,–ब्यवस्थापक कार्कीले भन्नुभयो ।
गाउँपालिका क्षेत्रमा जेठको सुरुमा फैलिएको लम्पीस्किनको प्रकोपबाट किसानको गोठका १५ वटा गाईवस्तु मरेको कानेपोखरी गाउँपालिकाका पशुपंक्षी शाखा प्रमुख डम्बरबहादुर राईले बताउनु भयो । जति बेला संक्रमण थियो, त्यसबेला भ्याक्सिनले काम गर्दैन थियो । त्यसैले गाउँपालिकाले भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गरेन । अहिले प्रकोप नियन्त्रणमा आउने क्रममा छ । राईले रोग लागिसकेपछि भ्याक्सिन भन्दा औषधि प्रभावकारी हुन्छ, हामीले औषधि वितरण ग¥यौं ।
सहकारी संस्थाकी पशु प्राविधिक सुस्मिता विश्वकर्माले भने पशु लम्पीको प्रकोप पुन नआओस भनेर भ्याक्सिन लगाइएको बताउनु भयो । सरकारी स्तरबाट खोपको प्रबन्ध नभएपछि संस्थाले आफ्नै खर्चमा भ्याक्सिन लगाउने ब्यवस्था मिलाइएको सहकारीका अध्यक्ष उमा रानामगरले बताउनु भयो । उहाँले भन्नुभयो –१२ भायल खोप ल्याएका छौं । एक भायल खोपले २५ वटा पशुलाई खोप लगाउन सकिन्छ । लम्पीस्किनको खोपलाई प्रति भायल ४ हजार रुपियाँ पर्छ ।
सहकारी संस्थाले महिलालाई उद्यमी बनाउन बाख्रा र गाईपालन कार्यक्रम सञ्चालन गर्दै आएको छ । खसी उत्पादन गरी आफ्नै फ्रेस हाउस सञ्चालन गरिरहेको सहकारी संस्थाले महिलालाई चुलो चौकाबाट निकालेर उद्यमका क्षेत्रमा सहभागी गराउँदै आएको छ ।






