हरि कोइराला
उर्लाबारी । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र बन तथा वातावरण मन्त्रालय बीच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केरावारी–लेटाङ–मधुमल्ला बेलडाँगी सडकखण्ड,शान्तिनगर–पातापुर र वारफलाङ्फेदि–शान्तिनगर सडकखण्डका रुख हटाउने काम अझै अघि बढ्न सकेको छैन् ।
आयोजनाको निर्माणधीन ९५ दशमलव ८ किलोमिटर लम्वाईको यस सडकको अधिकांश क्षेत्र जङ्गल भित्र पर्छ । धरान–केरावारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटर भित्र ५ हजार ७८९ वटा रुख पर्छन् , शान्तिनगर देखि पातापुर सडकखण्डको १३ दशमलव ८७ किलोमिटर क्षेत्रमा ३ हजार ६८९ वटा रुख पर्छन ।यस्तै वारफलाङ्फेदी देखि शान्तिनगरसम्मको १३ किमी क्षेत्रमा २ हजार ८८० वटा रुख रहेका छन् ।
मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका सुचना अधिकारी सुभाषकुमार दत्तका अनुसार आयोजनाले २०७९ चैत १० गते वन मन्त्रालयलाई रुख हटाइदिनु पत्राचार गरेको थियो । वन मन्त्रालयले समयमा रुख नहटाइदिँदा काम रोकिएको आयोजनाका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनु भयो । खकुरेलका अनुसार एकातिर प्रर्याप्त बजेटको अभाव छ, भने अर्को तर्फ रुख हटाउन बन मन्त्रालयले चासो देखएको छैन् । उहाँका अनुसार ४ अर्व ६० लाख ६६ हजारमा ठेक्का लागेको सडकको हालसम्म १ अर्ब ५२ करोड१३ लाख ३६ हजार रुपियाँ मात्र भुक्तानी भएको छ । त्यस्तै सडकमा पर्ने पुल निर्माण गर्न ६ अर्ब १२ करोड ६२ लाख ५४ हजार रुपियाँमा ठेक्का लगाइएको थियो । मदन भण्डारी राजमार्गको कोशी प्रदेश खण्डमा जम्मा ३७ वटा पुल रहेका छन् । जसमध्ये १६ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने २१ वटा पुल निर्माणधीन अवस्थामा छन् । ठूला पुलको काम सकिएको छ भने साना पुल र कल्भर्ट निर्माणधीन छन् । आयोजना प्रमुख खकुरेलले भन्नुभयो–हाल निर्माणधीन काम सम्पन्न हुँदा ४ अर्ब रुपियाँ भुक्तानी दिनुपर्ने देखिन्छ ।
आव ०८०।०८१ मा आयोजनाका लागि ४९ करोड रुपियाँ मात्र विनियोजन भयो । जसमध्ये ३८ करोड रुपियाँ भुक्तानी मागका लागि बील समेत पठाइएको छ । उहाँले हाल भइरहेको काम र प्रगति विवरण हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ४५ करोड रुपियाँ निर्माण कम्पनीहरूलाई दिनु पर्ने देखिन्छ । तर, स्रोतको सुनिश्चितता छैन् ।
आयोजनाका सुचना अधिकारी सुभाषकुमार दत्तका अनुसार मदन भण्डारी राजमार्गको कोशी प्रदेश खण्डमा सुनसरीको सर्दु खोला देखि झापाको पातापुरसम्म १२७ दशमलव ८ किमी लम्बाई पर्छ । जसमध्ये कमल खोला देखि सहादतस्थलसम्म ३२ किमी र चतरा देखि सर्दु खोलासम्म ६ किमी ठेक्का लागेको छैन् । ठेक्का लागेको ९५ दशमलव ८ किमी मध्ये १९ दशमलव ५ किमी सडक मात्र कालोपत्रे भइसकेको छ । सडक निर्माणका लागि ७ वटा अलग अलग ठेक्का सम्झौता भएका छन् । सम्झौता अनुसार आयोजनाको कालोपत्रको काम २०८० को पुस २९ गते सम्पन्न गर्नुपर्ने थियो ।
सडक क्षेत्रका रुख हटाउन कानूनी जटिलता हुनु र बजेटको सुनिश्चितता नहुँदा आयोजनाको ठेक्का अवधि थप गरिने आयोजना प्रमुख खकुरेलले बताउनु भयो ।
यता झापा, मोरङ, सुनसरी र इलामका डिभिजनल वन अधिकृतहरू भने भौतिक पूर्वाधार मन्त्रालयको दोहोरो कामले गर्दा रुख हटाउन कानूनी समस्या भएको बताउँछन् । मोरङका निमित्त डिभिजनल बन अधिकृत रामलखन ठाकुरले भन्नुभयो–सुरुमा सडकको केन्द्र विन्दूबाट १०/१० मिटर दाँयाबाँयाका रुख हटाउन पत्राचार भएको थियो । सोही अनुसार बन कार्यालयले काम सुरु ग¥यो । प्रतिवेदन बनाएर पठाउने तयारी भइरहेको बेला सडकको केन्द्र विन्दूबाट दाँयाबाँया १५/१५ मिटरका रुख हटाउनु पर्ने भनेर सुचना आयो । पुन जिल्ला बनहरूले सोही अनुसार गर्ने तयारी थालेका थिए । त्यसपछि फेरि बनमा धेरै ठूलो क्षति हुने भन्दै पूर्ववत काम गर्न आयोजना तयार भयो । समय–समयमा फरक फरक सङ्ख्यामा रुख हटाउनु पर्ने सुचना आएपछि काम रोर्किको ठाकुरको भनाई छ । मोरङमा मात्र ३५ दशमलव ४ किमी सडक पर्छ । जसमध्ये ७ किमी जङ्गल क्षेत्र रहेको छ । जङ्गलका रुखमा नम्बर लगाउने बाहेक कुनै काम अघि बढेको छैन् । यस्तै सुनरीमा ७ किमि, झापामा ३ कीमी र इलाममा ६ किमी जङ्गल क्षेत्र पर्छ ।






