बेलबारी/ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङ कोशी प्रदेश भित्रका बचत तथा ऋण सहकारी तर्फ उत्कृष्ठ सङ्घका रुपमा पुरस्कृत भएको छ ।
पुरस्कार ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा विराटनगरस्थित होटल रुविजमा आयोेजित कार्यक्रममा बुधबार प्रदान गरिएको हो । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग ,कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले जिल्ला बचत सङ्घ मोरङका उपाध्यक्ष एकराज निरौला र ब्यवस्थापक केदारनाथ दुलाललाई उत्कृष्ठ सङ्घको पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा सुनसरीको किसान कल्याण साकोस र झापाको समृद्धि बहुदेश्यीय सहकारी संस्थालाई उत्कृष्ठ प्रारम्भिक सहकारी संस्थाको रुपमा पुरस्कृत गरिएको थियो । यस्तै जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. इलामका अध्यक्ष लीलाप्रसाद थापा र भोजपुरे साकोसका ब्यवस्थापक कन्चन आचार्यलाई पुरस्कृत गरिएको थियो ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उद्योग ,कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारी संस्थाहरुमा सुशासन र प्रविधिको आवश्यकतामा जोड दिनुभयो । उहाँले सहकारीले शेयर सदस्यहरूमा वित्तीय शिक्षा दिनुपर्ने बताउँदै सहकारी शिक्षाको अभावमा सहकारी प्रति अनावश्यक टिप्पणी भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो –राज्यले अर्थतन्त्रका तीन खम्वा मध्ये एउटा खम्बा मानेको सहकारीलाई प्रविधि मैत्री बनाएर शुसाशनमा लाने हो भने सहकारी संस्थामा कहिल्यै समस्या आउँदैन ।
र्काक्रममा डाक्टर भोजराज घिमिरेले ‘सहकारीमा सुशासनका लागि प्रविधिले ल्याएका अवसर,चुनौति र समाधानहरू विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कोशी प्रदेशका निमित्त सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग ,कृषि तथा सहकारी सचिव डाक्टर लेखराज दाहाल, राष्ट्रिय सहकारी महासङ्घका वरिष्ट उपाध्यक्ष रमेशप्रसाद पोख्रेल लगायतले बोल्नु भएको थियो ।






