हरिप्रसाद कोइराला
डाइनिया,२६ भदौ । सङ्घीय सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न २०७६ सालमा मोरङको सुनवर्षी –८ कुरेलीमा निर्माण सुरु गरेका २० वटा घर अझै बनिसकेका छैनन् ।
घर नबनेपछि पक्की घरमा बस्ने सपना देखेका अति विपन्न ऋषिदेव परिवार यतिबेला घरको न घाटको भएका छन् । पक्की घर बन्छ र उतै सरौला भन्ने लोभले भएको छाप्रो भत्काइयो, तर ४ वर्ष बित्न लाग्यो घर बनेका छैनन् । न उनीहरूको राजनीतिक पहुँच छ , न आफै निर्माण सम्पन्न गरेर घरमा सर्ने आर्थिक हैषियत छ । पक्की घरमा बस्न पाइने भएपछि उनीहरुले प्रति परिवार ५र५ हजार रुपियाँ पनि तिरे । ६८ वर्षीया जन्तीदेवी ऋषिदेवले भन्नुभयो – घामपानी छल्ने घर भत्कायौं , अहिले सडकको बास भयो । ६÷७ पुस्ता अघि देखि साविकको डाइनिया –४ कुरेलीमा बस्दै आएका ऋषिदेवहरूसँग आफ्नो नीजि जग्गा छैन् । अर्काको जग्गा अधिया, ठेक्का गरेर जिविकोपार्जन गर्दै आएका ५५ परिवारलाई शहरी बिकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत सुरक्षित घरमा सार्न २०७६ मा घर निर्माण सुरु गरेको हो । जसमध्ये ३५ परिवार सुरक्षित घरमा सरिसकेका छन् ।
४१ वर्षीय तुरन्तीलाल ऋषिदेवले ठेकदारकका कारण समयमा घर बन्न नसकेको बताउनु भयो । पूर्व टोलका घर। जो बस्ने हो ,उसैले बनाए । हामीले ठेकदार मार्फत बनाउने भयौं । ठेकदार र कर्मचारीको कुरा नमिल्दा घर बन्न सकेका छैनन् । स्थानीय अगुवा कैलु ऋषिदेवले ठेकदार मार्फत घर बनाउँदा छिटो हुन्छ भनेपछि हामी सबैले कैलुको विश्वास ग¥यौं । अहिले कैलु र ठेकदार बीचको बिबादले घर बनेन–सम्पतलाल ऋषिदेवले भन्नुभयो ।
घर निर्माण गर्ने ठेकदार मेहवुव आलमले भन्नुभयो– अहिले एकापसमा दोषारोपण भइरहेको छ । ३५ वटा घर बनाउने ठाउँ खाली थियो । भटाभट काम भयो । हाल निर्माण सम्पन्न नभएका घरहरू बेलाल मियाकोे जग्गामा बनेका हुन् । बेलालले चर्चेको ऐलानी जग्गामा जनता आवासका लागि घर बन्ने भएपछि उनले क्षतिपुर्ति मागे । तत्काालिन वडाध्यक्ष नुरुल मियाको रोेहवरमा २० परिवारले ५÷५ हजार रुपियाँ बेलाललाई क्षतिपुर्ति दिन सहमति भएपछि बेलालले साइड खालि गरिदिएका हुन् । अहिले ठेकदारले ५÷५ हजार लिएको आरोप आएको छ ।
घर निर्माणका लागि प्रति घर ३ लाख ३२ हजार ५ रुपियाँ विनियोजन भएको शहरी विकास कार्यालय बिराटनगरका प्रमुख रुद्रनारायण मिश्रले बताउनु भयो । मिश्रका अनुसार घर सम्पन्न नभएकोले पछिल्लो किस्ता भुक्तानी रोकिएको छ । सम्झौता अनुसार २० वटा शौचालय र २० वटा ट्युववेल सहित २ कोठे कोठे घर निर्माण गर्नुपर्ने थियो । तर, हालसम्म घर मात्र बनेका छन् । घरसम्म पुग्ने सडक छैन । गहिरो भागमा पैनीको किनारमा घर बनेकोले घरहरू डुबेका छन् । सडक नभएपछि बिजुली पु¥याउन सकिएको छैन ।
वडा नम्बर ८ का वडाध्यक्ष अनुवार मियाले भन्नुभयो–घर हस्तान्तरण नहुँदा गत वर्ष ६५ वटा घरको वजेट फ्रिज भयो । चालु वर्ष पनि जनता आवासमा बजेट नआउने अवस्था छ । वडाको तर्फबाट शहरी विकास कार्यालय र ठेदारलाई समन्वय गर्न तयार छौं । तर, स्थानीय कैलु ऋषिदेवले आफ्नो समूदायका मानिसलाई समन्वय नगर्दा घर निर्माणको काम अघि नबढेको मियाको आरोप छ । मियाका अनुसार कैलुले २० वटा घर भएको स्थानमा ५ विघा जग्गा ऐलानी भएको र उक्त जग्गा ऋषिदेवहरूलाई नै भोगचलन गर्न दिनु पर्ने माग गरेका छन् ।






