Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपोखरी(मोरङ) । डेरी उद्योगले समयमा दूधको पैसा नदिँदा गाईपालन गर्ने किसान समस्यामा परेका छन् ।
प्रत्येक १५ दिनमा दूधको पैसा दिने डेरि उद्योग र डिडिसीले ३ महिना यता किसानलाई दूधको पैसा दिएका छैनन् । स्थानीय दूग्ध उत्पादक सहकारी र कृषि सहकारीले बचतबाट किसानलाई पैसा तिरिरहेका छन् । तर, नीजि डेरी सञ्चालकले भने दूधको पैसा दिन सकेका छैनन् । दैनिक १ हजार ५ सय लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएको कानेपोखरी –३ को सिंहदेवी दूग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष नारायण कोइरालाले भन्नुभयो –गत वर्ष सहकारीले कारोवार बोनस ६८ प्रतिशत र शेयर बोनस १५ प्रतिशत वितरण गरेको थियो । राम्रो बोनस पाएपछि किसान हौसिए । कोसी प्रदेश सरकारले प्रति किलो २ रुपियाँ अनुदान दिने ब्यवस्था गरेपछि किसानमा पशुपालन प्रति अझ आकर्षण थपियो । कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रममा दूधमा प्रति किलो १ रुपियाँ अनुदान दिने ब्यवस्था ग¥यो । जसले किसानलाई गाई थप्न प्रेरित ग¥यो । त्यतिमात्र होइन । गत वर्ष कानेपोखरी गाउँपालिकाले सुत्केरी गाईलाई स्याहार खर्च वापत १ हजार नगद दिने ब्यवस्था ग¥यो । हाल निशुल्क कृत्रिम गर्भाधानको कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय र प्रदेश सरकारले किसानलाई दूधको उत्पादन बढाउन हौसला प्रदान गरेपनि किसानले दूध बिक्री गर्न नपाउँदा किसान मर्कामा परेका हुन् ।
विगतमा २ किलो दूध बिक्री गर्नेले ८ किलो दूध बिक्री गर्न थालेका छन् । उत्पादन बढेपछि अहिले मिल्क होलिडे सुरु भएको छ । कार्यवहाक अध्यक्ष समेत रहनु भएका कोइरालाका अनुसार ६ सय ३० जना किसानले वर्षभरि दूध बिक्री गर्छन् । पहिले प्रत्येक १५ दिनमा आउने पैसा कात्तिक यता आएको छैन् । मङ्सिरको पैसा किसानले पाएका छैनन् । हामी शेयर सदस्यसँग बचत ऋणको समेत कारोवार गर्छौं । त्यसैले सदस्यले बचत गरेको रकमबाट किसानको समस्या टारेका छौं । किसानले बचत फिर्ता मागेको बेला समस्यामा पर्ने उहाँको भनाई छ ।
हाल दूधको मूल्य प्रति लिटर १० रुपियाँ सस्तिएको छ । मूल्य घट्दा समेत समयमा दूधको पैसा नआउँदा गाईलाई दानापानी गर्न समस्या भएको किसानको गुनासो छ । दैनिक १५ लिटर दूध बिक्री गरिरहनु भएका मोहनप्रसाद पोख्रेलले भन्नुभयो – पिना ,चोकर,मल्खु र भुसको मूल्य आकाशिएको छ । दूधको मूल्य घट्यो । त्यो घटेको मूल्य अनुसारको पैसा पनि रोकिएको छ ।
कानेपोखरी–७ को मातृभुमि कृषि सहकारी संस्था लि.का ब्यवस्थापक सन्तोष लिम्बूले भन्नुभयो – सरकारले किसानलाई पशुपालनमा आकर्षित ग¥यो । किसान समेत गाइभैंसी पालेर दूध बिक्री गर्न तयार छन् । तर, राज्यले दूधको बजारीकरणमा कुनै सहयोग गरेको छैन् । उहाँका अनुसार सहकारीले बिगतमा पाक्षिक रुपमा दिँदै आएको पैसा ठूलो डेरी उद्योगले नदिएपछि मासिक रुपमा भुक्तान गर्न थालेको छ । सरकारले किसानसँग लोकप्रिय हुन अनुदान होइन,बजारको ब्यवस्था गर्नुपर्छ ,उहाँले भन्नुभयो । कानेपोखरी क्षेत्रमा नीजि क्षेत्रका डेरी उद्योगले दूध नलग्दा साप्ताहिक रुपमा मिल्क होलिडे चलिरहेको छ । जसले गर्दा किसानलाई ठूलो आर्थिक घाटा भइरहेको छ । दैनिक २० लिटर दूध बिक्री गरिरहनु भएका विनस कट्वालले भन्नुभयो – कहिले त सातामा बिहान बेलुका गरी ३ पटक मिल्क होलिडे हुन्छ । घरका सबै भाडाकुडामा जमाउँदा राख्दा पनि दूध बढी हुन्छ । प्रदेश र स्थानीय सरकारले ब्यापारको सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।

 



Share via
Send this to a friend