हरिप्रसाद कोइराला
लेटाङ । मोरङको पथरी–जाँते– हुँदै लेटाङ ८ को ज्यामिरे जोड्ने सडक ३५ प्रतिशत भौतिक प्रगति भएर रोकिएको डेढ वर्ष भयो । कहिले सडक क्षेत्रका रुख कटान नभएर त, कहिले स्थानीयको अबरोधका कारण रोकिएको यो सडक पछिल्लो समय निर्माण कम्पनी बिचको बिवादले रोकिएको हो ।
कोशी प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रुपमा निर्माण प्रक्रिया अघि बढाएको यो सडक तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते ठूलो तामझामका साथ शिलान्यास गर्नु भएको हो । राईले ३ वर्ष भित्रमा सडक निर्माण गरेर आफैंले उद्घाटन गर्ने बताउनु भएको थियो । तर, ५ वर्ष ७ महिना बितिसक्दा पनि १७ किलोेमिटर लम्बाईको सडक अझै कालोपत्रे भइसकेको छैन् । लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व पश्चिम राजमार्गलाई क्रस गरेर डाइनियाँ हुँदै भारतको सिक्टी बजारसँग जोड्ने उत्तर–दक्षिण यो सडक उत्तरी मोरङको ब्यापार प्रवद्र्धनका लागि महत्वपूर्ण मानिदै आएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय विराटनगरले ०७९ असोज भित्र सम्पन्न गर्ने गरी सडक ठेक्का लगाएको थियो । १९ दशमलव ६ किलोमिटर लम्बाइ र २२ फिट चौडाईको ५० एमएमको अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिने सडक ७२ करोड ५० लाख रुपियाँमा टेण्डर आह्वान भएको थियो ।
श्रेष्ठ कन्ट्रक्सन काठमाडौंले २५ प्रतिशत कम बोलकबोल गरी भ्याटसहित ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपियाँ ९६ पैसामा ठेक्का लिएको थियो ।तर, श्रेष्ठ कन्ट्रक्सनले सडक निर्माण गरेन । श्रेष्ठ कन्ट्रक्सन र विनिताश्री निर्माण कम्पनी बिच आन्तरिक रुपमा सहमति पछि विनिताश्रीले गर्नेभयो । विनिता श्री निर्माण कम्पनीका सञ्चालक भीमबहादुर पौडेलले भन्नुभयो– हामीले जुन मुल्यमा ठेक्का लागेको हो त्यही मूल्यमा काम गर्ने जिम्मा लिएका हौं ।हालसम्म ३५ प्रतिशत काम सकिएको छ । अब २० करोड रुपियाँको काम छ । साडे ५ किलोमिटर काम गर्न बाँकी छ । तर, हामीले काम गरेको पैसा पाएका छैनौं । जसले सुरुमा ठेक्का प्राप्त गरेर हामीलाई काम दियो । श्रेष्ठ कन्ट्रक्सन कालो सूचीमा परेको छ । हामीले श्रेष्ठ कन्ट्रक्सनसँग साडे १० करोड रुपियाँ प्राप्त गर्न बाँकी छ । पैसा नपाएपछि काम गर्न सक्ने कुरै भएन । सञ्चालक पौडेलले १४ औं संसोधन आएपछि एक वर्ष म्याद थप्न सकिन्थ्यो । तर, त्यसतर्फ कसैको ध्यान गएको छैन् ।
पूर्वाधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख सुशील श्रेष्ठले १४ औं संसोधन अनुसार म्याद थप्नका लागि असार १२ गते सम्म श्रेष्ठ कन्ट्रक्सन आइसक्नुपर्छ । तर, आएर मात्र हुन्न । बीमा शुल्क वापत १६ लाख रुपियाँ र बैंक ग्यारेन्टी अलग्गै लाग्छ । श्रेष्ठ कन्ट्रक्सनलाई बारम्वार पत्राचार गरिसक्यौं । उहाँहरू आउनु भएको छैन् । असार १२ सम्म नआए ठेक्का तोड्नुको विकल्प नरहेको कार्यालय प्रमुख इन्जिनीयर श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार चालु वर्ष सो सडकका लागि २ करोड र आगामी वर्षका लागि ३ करोड रुपियाँ विनियोजन भएको छ ।
यता लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले जाँते बजार उत्तरको सडक क्षेत्रमा परेका रुख नहटाउँदा निर्माणको काम रोकिएपछि जिल्ला विपद् ब्यवस्थापनको बैठक मार्फत रुख काट्ने बाटो खोलिएको बताउनु भयो । दुई वर्षको पहल पछि सडकमा पर्ने पाँच वटा रुख काट्ने सहमति भयो । तर,सडक निर्माण नै अन्यौलमा परेको छ ।
प्रदेश सरकारले २०७६ सालमा प्रदेश भरीका ६२ वटा सडकलाई बहुवर्र्षीय योजना अन्र्तगत गौरवको योजनाका रुपमा निर्माण गर्ने भनेको थियो । सोही योजना अन्तरगत पथरी–जाँते–ज्यामिरे सडक खण्ड पनि समावेश भएको हो ।






