Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी/ कांग्रेस नेता बसन्त भट्टराईले कांग्रेसलाई चलायमान बनाउन भातृ संस्थालाई सक्रिय बनाउनु पर्नेमा जोड दिनु भएको छ । मङ्गलबार मोरङको बेलबारी –१ स्थित तमु बौद्ध गुम्वामा नेपाल तरुण दल क्षेत्र नं. ३ को क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भातृ संस्थाहरूको महाधिवेशन समयमा नहुँदा नयाँ पुस्ताले नेतृत्वको अवसर नपाएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता डाक्टर सुनील शर्माले १५ औं महाधिवेशनमा मोरङ–३ गुट रहित बन्ने बताउनु भयो । सांसद शर्माले गुट रहित कांग्रेस बनाउने बताउनु भएको हो । डाक्टर शर्माले भन्नुभयो – विगतका अनुभवहरूले कांग्रेसलाई अझ सुदृढ बनाउन गुटगत चुनाव घातक हुने देखियो । सहमतिमा नेतृत्व चयन गर्न सके सबैतिर कांग्रेसको जीत हुने चर्चा गर्दै उहाँले गुट रहित कांग्रेस कहिल्यै कोहीसँग नहार्ने दाबी गर्नुभयो ।
शर्माले पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल साइन्स अध्ययनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै अब मोरङबासीले टाढा गइरहनु नपर्ने उल्लेख गर्नुभयो ।
नेपाल तरुण दल क्षेत्रीय समितिका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा नेपाल महिला संघ मोरङ ३ का क्षेत्रीय सभापति मञ्जुकुमारी रेग्मी, भूपू सैनिक संघका मोरङ अध्यक्ष प्रेमबहादुर गुरुङ,नेपाल तरुण दलका जिल्ला सदस्य राजेन्द्र अधिकारी ,मोरङ कांग्रेसका सल्लाहकार गोपालबहादुर थापा लगायतले बोल्नु भएको थियो ।
तरुण दलका क्षेत्रीय अध्यक्ष छत्र लिम्बूले युवालाई पार्टी प्रति आकर्षण दिलाउन नयाँ नयाँ कार्यक्रम आवश्यक भएको चर्चा गर्दै युवा पलायनको कारण खोज्न नेतृत्वसँग आग्रह गर्नुभयो । काम केही नदिने अनि यही बसि राख भन्ने ? त्यो सम्भव छैन् , लिम्बूले युवालाई पनि ‘पोलिटिकल विजनेस चाहिने बताउनु भयो ।



Share via
Send this to a friend