Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपाेखरी ।  राष्ट्रिय सहकारी महासङ्घका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोख्रेलले विश्वमा नेपालले मात्र सहकारीलाई तीन खम्बे अर्थनीतिको रूपमा संविधानमै समेट्न सकेको बताउनुभएको छ।

जिल्ला सहकारी सङ्घ लि. मोरङले कानेपोखरी–६ स्थित रमाइलो जनएकता साकोस परिसरमा शुक्रबार आयोजना गरेको ६९औँ राष्ट्रिय सहकारी दिवसको उद्घाटन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभयो। उहाँले उद्यमशीलताविना सहकारीमार्फत रोजगारी सिर्जना सम्भव नहुने बताउँदै हरेक सहकारी संस्था उत्पादन र उद्यमशीलतामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

उहाँका अनुसार यस वर्ष ‘उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ भन्ने नारासहित दिवस मनाइँदै छ। उहाँले पारदर्शिताको अभावका कारण केही सहकारी संस्था समस्याग्रस्त बनेको उल्लेख गर्नुभयो। देशभर रहेका ३२ हजार ९६५ सहकारीमा ११ खर्ब २५ अर्ब २८ करोड रुपैयाँ पुँजी संकलन भएको जानकारी दिँदै उहाँले उक्त पुँजीमा महिलाको योगदान ५६ प्रतिशत रहेको बताउनुभयो।

उहाँले महिला सशक्तीकरणमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै देशभर पाँच सयभन्दा बढी सहकारी संस्थाले कृषि तथा लघु उद्यम सञ्चालन गरी लाखौँ रोजगारी सिर्जना गरेको उल्लेख गर्नुभयो।

जिल्ला सहकारी सङ्घ लि. मोरङका अध्यक्ष राकेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोरङका दुई जना सहकारीकर्मीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा विराटनगरका काशीनाथ श्रेष्ठ र रतुवामाईकी इन्दिरा पौडेल रहनुभएको छ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, मौरीपालन केन्द्रीय सहकारी सङ्घ लि.का अध्यक्ष जानुका थापा तथा रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभुनाथ फुयलले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा जिल्लाका ३२२ सहकारी संस्थाका करिब पाँच हजार सदस्यहरूको सहभागिता रहेको थियो।



Share via
Send this to a friend