विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल शिक्षण अस्पतालले नेपालमा मै पहिलो पटक ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि भित्राएको छ । नोवेल अस्पतालले गत असोज देखि क्यान्सरको उपचार सेवा दिन थालेको हो । नोवेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक एवम् प्रतिनिधि सभाका सदस्य डाक्टर सुनीलकुमार शर्माले यो प्रविधिमा क्यान्सरको उपचार गर्ने नोवेल अस्पताल पहिलो भएको बताउनु भये । डाक्टर शर्माका अनुसार दक्षिण एसियामा यो प्रविधि भित्राउने नोवेल नवौं अस्पताल हो । भारतका अस्पताल मध्ये मुम्बई स्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा एउटा, म्याक्स अस्पतालमा तीन वटा, नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा २ गरी ६ वटा मात्र जडान गरिएको छ । अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको एज ‘इडीजीइ’नामक उपकरण नेपालको हकमा बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध छ। नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ । डाक्टर शर्माले नोबेल मेडिकल कलेजले ३ अर्ब ४० करोड रुपियाँ खर्च गरेर क्यान्सर अस्पतालको छुट्टै ब्यवस्थापन गरेको बताउनु भयो । यो खर्चबाट नयाँ भवन अत्याधुनिक उपकरण र दक्ष जनशक्ति परिचालन भइरहेको शर्माको भनाई छ ।नोवेलले हाल सय बढी क्यान्सरका बिरामीको उपचार गरिरहेको छ ।

अस्पतालका सञ्चालक डाक्टर शर्माले यो मेसिन मात्र ५५ करोड रुपियाँमा भित्राएको जानकारी दिनुभयो । सरकारी झन्झट ब्योहोर्नु परेको थिएन भने एक वर्ष अघि नै हामी मेसिन भित्राउने थियौं । तर, केही प्रक्रियागत समस्याले गर्दा ढिलो मात्र आउन सक्यो । नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।
मोरङ ३ बाट प्रतिनिधि सभामा निर्वाचित डाक्टर सुनीलकुमार शर्माले आफ्नो निर्वाचन क्षेत्रका सबै विरामीलाई बिराटनगरको नोवेल अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेजमा निशुल्क देखि ५० प्रतिशत छुटमा उपचार गराइरहेको छ । काठमाडौं र विराटनगरका अस्पतालमा निर्वाचन क्षेत्रका विरामीको निशुल्क उपचार मात्र होइन,कुरुवाको आवास र खानाका लागि छुट्टै प्रबन्ध मिलाएको छ ।






