काठमाडौं । माेरङ ३ का प्रतिनिधिसभा सदस्य एवम् काङ्गे्स नेता डा.सुनील कुमार शर्माले मंगोलियाका प्रधानमन्त्रीले आफ्ना छोरामाथि भ्रष्टाचारको प्रश्न उठेपछि राजीनामा दिएको बताउँदै नेपालमा नैतिकताको अभाव भएको बताउनु भएको छ ।
डा. शर्माले यस घटनाले नेपालको राजनीति नैतिकताहिन भएको पुष्टि उल्लेख गर्नुभयो ।
डा. शर्माले सामाजिक संजालमा प्रतिक्रिया दिँदै भन्नुभयो – ‘मंगोलियाका प्रधानमन्त्रीले छोरामाथिको भ्रष्टाचार आरोपपछि राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो । तर नेपालमा स्वयं नेतालाई भ्रष्टाचारको आरोप लाग्दा कोही नैतिकवान हुन चाहन्न । यसले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्याएको जस्तो अनुभूति भएको छ ।’उहाँले नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको सन्दर्भ जोड्दै २०१५ सालको ऐतिहासिक घटनाको स्मरण गर्नुभयो ।
विपी कोइरालाले प्रधानमन्त्री हुँदा आफ्नै भाई तारणिप्रसाद कोइराला सहभागी रहेको मन्त्रिपरिषद्को भुमिसुधार मन्त्रालयमा गणेशमान सिंहमाथि उठेको आरोपको निष्पक्ष छानबिनका लागि राजाका विश्वासपात्रमार्फत समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याएको प्रसंग उल्लेख गर्दै उहाँले सो ऐतिहासिक क्षणबाट आजका नेताहरुले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । ‘विपीका अनुयायी हामीहरुले त्यो नैतिक धरातललाई जिवन्त राख्न सकेका छौं त? हामी नैतिकता सहितको राजनीतिका लागि किन चुकिरहेका छौं?’ उहाँले प्रश्न गर्नुभयो । डा. शर्माका अनुसार अहिले आम जनतामा राजनीति र नेताप्रतिको विश्वास कमजोर हुँदै गइरहेका बेला नेताहरूले विपी कोइरालाले देखाएको नैतिकताको संस्कारबाट सिकेर जिम्मेवार र नैतिकवान बन्ने दिशामा लाग्न जरुरी छ । ‘आजको नेपालको राजनीतिको मुख्य आवश्यकता भनेको नैतिकतामा आधारित नेतृत्व विकास गर्नु हो,’ डाक्टर शर्माको भनाई छ ।

























