हरिप्रसाद कोइराला
रङ्गेली । पूर्वाधारको काम गरिरहेका निर्माण कम्पनीहरू काम गर्दागर्दै बिच मै छोडेर हिडेका समाचारहरू आइरहेका छन् । तर, मोरङको रङ्गेली ८ दर्वेसामा निर्माणधीन मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र(एकीकृत विपद् केन्द्र) को निर्माणको काम दश महिनामा ६० प्रतिशत सकिएको छ ।
कोशी प्रदेश सरकारको प्रदेश सहयोग कार्यक्रम अन्तर्गत एकीकृत विपद् केन्द्रको निर्माण भएको हो । यो कार्यक्रमका लागि प्रदेश सरकारलाई स्वीस सरकार विकास सहयोग एसडीसीले सहयोग गरेको छ ।
प्रत्येक पालिकामा बारुणयन्त्र,शव वाहन,एम्बुलेन्स,अग्निनियन्त्रक र विपद्का जनशक्ति ब्यवस्थापन गर्न आर्थिक कठिनाई भएपछि मोरङका धनपालथान,कानेपोखरी गाउँपालिका र रङ्गेली,सुनवर्षी नगरपालिकाको संयुक्त लगानीमा एकीकृत विपद् ब्यवस्थापन केन्द्रको निर्माण थालिएको हो । गत मङ्सिर ३०गते आइतबार शिलान्यास भएको केन्द्रको निर्माण आधा भन्दा बढी(६०प्रतिशत) काम सकिएको छ । रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले भन्नुभयो – ‘निर्माणको काम निर्धारित समयमा नै सकिने गरी काम भइरहेको छ ।कामको गति हेर्दा पुस मसान्तसम्म काम सकिने देखिन्छ । स्रोतको सुनिश्चितता भएकोले कुनै अबरोध विना काम भएको हो ।’
२०८१ को जेठ २१ गते व्राइट वुल निर्माण सेवा धरानसँग निर्माणको सम्झौता भएपनि ६ महिनापछि मङ्सिरमा भवनको शिलान्यास भएको थियो । मूल्य अभिवृद्धि कर सहित ९ करोड ३३ लाख ८१ हजार ५५५ रुपियाँ ११ पैसामा निर्माण हुने विपद् केन्द्रको पुरै संरचना निर्माणको काम २०८२ को पुस ३० गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ ।प्रशासनिक भवन, चारै पालिकाका केही नगर प्रहरी ,अग्निनियन्त्रक,विपद्का अन्य कर्मचारीको आवास,शसस्त्र प्रहरीका लागि अलग्गै भवन,बारुणयन्त्र, एम्बुलेन्स, शवबाहन राख्न अलग अलग संरचना निर्माण भइरहेका छन् । हाल कानेपोखरी र रङ्गेली नगरपालिकासँग बारुणयन्त्र र शव बाहन रहेको छन् ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि दुई वर्ष अघि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको थियो । केन्द्र निर्माणका लागि रङ्गेली नगरपालिकाले १२ कट्ठा जग्गा उपलब्ध गराएको छ ।
अत्यावश्यक सेवा केन्द्रमा चारवटै पालिकाका वारुणयन्त्र,आवश्यक पानीको भण्डारण,अग्निनियन्त्रक जनशक्ति, उपकरण र विपद व्यवस्थापनका लागि अत्यावश्यक सामग्रीहरू तारजाली,ढुङ्गा,गाडी,बाढीमा बगेकालाई उद्दार गर्न बोटिङको प्रबन्ध गरिने छ । रङ्गेली नगरपालिकाका नगर प्रमुख दिलिपकुमार अग्रवालका अनुसार प्रदेश सहयोग कार्यक्रम अन्तर्गत २ करोड, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको ६ करोड २५ लाख २९ हजार र चारवटै पालिकाले १ करोड ८५ लाख रुपियाँ निर्माणका लागि लगानी गर्ने सहमति भएको छ ।
तस्विर पनि छन् ।






