कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३।२०८४ मा कृषि सिंचाई र पशुपालनका लागि एक करोड ९० लाख रुपियाँ विनियोजन गरेको छ ।
उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बुधबार राति गाउँपालिका परिसरमा कुल ७७ करोड ९० लाख ९० हजार रुपियाँको बजेट प्रस्ताव गर्नु भएको छ । कृषि पशुपालन र सिंचाईमा छुट्याइएको यो रकम कुल बजेटको २.४४ प्रतिशत हो । यस्तै पूर्वाधार विकासका लागि विनियोजन भएको ५८ करोड ९४ लाख रुपियाँको ३.२२ प्रतिशत हो ।
पालिकाका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा बुधबार अपराह्न सुरु भएका २१ ओैं गाउँ अधिवेशनमा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बजेट प्रस्ताव गर्नु भएको हो । प्रस्तावित बजेटमा आम्दानी तर्फ सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान ४७ करोड ८५ लाख ७० लाख रुपियाँ ,कोशी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ४ करोड ४० लाख ३ हजार ७५५ रुपियाँ र आन्तरिक स्रोतबाट २५ करोड ६५ लाख १६ हजार २४५ रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोत तर्फ २० करोड ६५ लाख १६ हजार २४५ रुपियाँ मध्ये २० करोड रुपियाँ चालु आवमा खर्च नभएको भुक्तानी दिनुु पर्ने दायित्वको रकम हो ।
यस्तै ब्यय तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च नौ करोड २६ लाख रुपियाँ ,आर्थिक विकासका लागि ३ करोड २० लाख ९० हजार ,सामाजिक विकास तर्फ ५ करोड १० लाख ,पूर्वाधार विकासमा ५८ करोड ९४ लाख र शुसासन तथा अन्तर सम्बन्ध क्षेत्र तर्फ १ करोड ४० लाख रुपियाँ विनियोजन गरिएको छ ।
विषयगत वजेट विनियोजनमा शिक्षा तर्फ सबैभन्दा बढी २ करोड रुपियाँ विनियोजन गरिएको छ । त्यस्तै पशुपालन र कृषि तर्फ एक करोड १० लाख रुपियाँ विनियोजन गरिएको छ । सिंचाई कार्यक्रमका लागि ८० लाख रुपियाँ बिनियोजन गरिएको छ ।बजेट प्रस्ताव गर्नु अघि गाउँपालिका अध्यक्ष राजमति इङनामका तर्फबाट वडाध्यक्ष चरण गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।







