Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । सरकारले स्वास्थ्य बीमा कार्यक्रम नीजि अस्पतालबाट हटाएपछि मोरङका गाउँ नगर अस्पतालले विरामीको चापलाई भरथेग गरिरहेका छन् ।
मोरङमा सङ्घीय सरकार मातहतको कोशी कोशी अस्पताल विराटनगरमा र प्रदेश सरकार मातहतको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा सञ्चालनमा छन् । तर, चिकित्स र स्वास्थ्य प्राविधिकको दरबन्दी पर्याप्त नहुँदा ति दुबै अस्पतालबाट सेवा लिन विरामीलाई चर्को पर्ने गर्छ । मोरङका सुन्दरहरैँचा,बेलबारी, पथरीशनिश्चरे,रतुवामाई र रङ्गेली नगरपालिकाले नगर अस्पताल सञ्चालन गरिरहेका छन् । यस्तै कानेपोखरी, केरावारी र मिक्लाजुङ गाउँपालिकाले अस्पताल सञ्चालन गरिरहेका छन् ।
सुन्दरहरैँचा नगरपालिकामा बाहेक कुनै पनि नगर तथा गाउँपालिकामा सङ्घ र प्रदेश सरकारको दरबन्दी छैन् । सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशालचन्द्र सुवेदीका अनुसार सङ्घीय सरकारले अस्पताललाई अझै पनि प्राथमिक स्वास्थ्य केन्द्र नै मानिरहेको छ । तर, नगरपालिकाले स्रोत साधन जुटाएर ३९ जना स्वास्थ्यकमी, प्राविधिक सहित अस्पताल सञ्चालन गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको दुई जना मेडिकल अधिकृत सहित ११ जना दरबन्दीमा अरु एकजना विशेषज्ञ चिकित्सक दुई जना मेडिकल अधिकृत सहित २८ कर्मचारी नगरकै स्रोतबाट काम गरिरहनु भएको छ । डाक्टर सुवेदीले नीजिमा बीमा कार्यक्रम बन्द भएपछि बिगतमा भन्दा दैनिक ५० देखि १०० जना सम्म विरामी बढेको जानकारी दिनुभयो ।
पथरीशनिश्चरे नगर अस्पताल जिल्ला कै स्वास्थ्य सेवामा सबैभन्दा बढी योगदान गर्ने अस्पतालमा पर्छ । नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार तीन जना मेडिकल अधिकृत नगरले नै नियुक्ति गरेको छ । त्यसका अतिरिक्त नगर अस्पतालले बिहानी सत्रमा साप्ताहिक रुपमा आलोपालो गरी दुई जना हाडजोर्नी रोग विशेषज्ञ सहित जनरल फिजिसियन,स्त्री रोग ,यौन तथा छाला,बच्चा रोग,मानसिक, शल्यक्रिया र रेडियोलोजिष्ट सेवा दिइरहेको छ । आचार्यले भन्नुभयो – पूर्वाधार,औषधि उपलब्धता र उपकरणका हिसावले हामी मोरङका नगर अस्पतालले दिने सेवामा अब्बल सेवा दिइरहेका छौं । अस्पतालमा विगतमा दैनिक ४ सय बिरामी उपचारको लागि आउने गरेकोमा हाल ६ सय भन्दा बढी आउने गरेको स्वास्थ्य संयोजक आचार्यले बताउनु भयो ।
बेलबारी नगर अस्पतालले तीन जना मेडिकल अधिकृतबाट स्वास्थ्य सेवा दिइरहेको छ । नगर अस्पतालले साप्ताहिक रुपमा जनरल फिजिसियन,अर्थोपेडिक सर्जन र गाइनोलोजिष्टको विशेषज्ञ सेवा समेत दिइरहेको छ ।
कानेपोखरी गाउँपालिकाले सञ्चालन गरेको कानेपोखरी अस्पताल ग्रामीण क्षेत्रका बिरामीको चाप हुने अस्पताल हो । दुई वटा दरबन्दी स्वीकृत गरेर पालिकाले मेडिकल अधिकृत नियुक्त गरेको छ । अस्पतालका प्रशासन प्रमुख रोहिन्द्र राजभण्डारीले भन्नुभयो –‘ दैनिक तीन सय विरामीले उपचार लिइरहनु भएको छ । अस्पतालको सुविधा सम्पन्न भवन बन्यो । तर,उपकरण र जनशक्ति पुरानै छ । उहाँले जनशक्ति र उपकरण थप्न सके अझै ठूलो भरथेग हुने जानकारी दिनुभयो ।
उता केराबारी गाउँपालिकाले सञ्चालन गरेको केराबारी अस्पताल उत्तर–पश्चिम मोरङको बरदान सावित भएको छ । धनकुटाका समेत विरामी आउने केराबारी अस्पतालमा एकजना मेडिकल अधिकृत मात्र छन् । स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईका अनुसार दैनिक १५० देखि २ सय सम्म विरामी उपचारका लागि अस्पताल पुग्ने गर्छन् । केरावारीमा १५ शैयाको अस्पताल भवन बनिरहेको छ । तर, सरकारले बजेटको सुनिश्चितता नगर्दा लामो समय अस्पताल भवन निर्माण रोकिएको थियो ।
पूर्वाेत्तर मोरङको मिक्लाजुङ गाउँपालिकाले मधुमल्ला अस्पताल सञ्चालन गरेको छ । अस्पताल स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोख्रेलका अनुसार एक जना मेडिकल अधिकृत र एक जना एमडी गरी दुई जना चिकित्सक पालिकाले आफ्नै स्रोतबाट राखेको छ । इलामको चुलाचुली र र झापाको दमकबाट समेत बिरामी आउने मधुमल्ला अस्पतालमा दैनिक २ सय बढीले सेवा लिइरहेका छन् ।
लेटाङ नगरपालिकाले सुविधा सम्पन्न अस्पताल निर्माण गरिसकेको छ । नगर प्रमुख भूपेन्द्र कुमार   लावतीले असार भित्रैमा नयाँ भवनमा सर्ने र सुविधा विस्तार गर्ने बताउनु भयो । उहाँका अनुसार हाल चार जना मेडिकल अधिकृतले दैनिक सेवा दिइ रहनु भएको छ । दैनिक दुई सय विरामी उपचारका लागि आउने लेटाङ अस्पताल उत्तरी मोरङका लागि बरदान बनिरहेको छ ।



Share via
Send this to a friend