हरिप्रसाद कोइराला
मोरङ । नेपालबाट अबैध रुपमा भारततर्फ भैंसीका पाडा (राँगा) निर्यात हुने क्रम बढेपछि नेपालका मासु र सुकुटी ब्यावसायीले पाडा पाउन छोडेका छन् ।
नेपाली ब्यावसायीहरूका अनुसार कोशी प्रदेशका प्रमुख पशु बजारहरू सुनसरीका इनरुवा, बाङ्गे मोरङका बेलबारी,मङ्गलबारे र झापाका दमक र धुलाबारीसम्म भारतीय व्यापारीहरू पुगेर राँगा खरिद गर्ने गर्छन् । नेपालमा करिब १ लाख ५० हजार रुपियाँमा बिक्री हुने राँगालाई भारतीय व्यापारीहरूले १ लाख ७० हजार रुपियाँसम्म हालेर खरिद गर्न थालेपछि नेपाली ब्यावसायीहरूले राँगा पाउन छोडेका हुन् । पश्चिम बङ्गालका ब्यापारीहरू गाउँ गाउँ नै पुगेर राँगा बुक गर्न थालेपछि नेपाली ब्यावसायीले मासु र सुकुटीको मुल्य बढाउनु परेको बताएका छन् ।
मोरङको बेलबारी –११, लक्ष्मीमार्गमा राँगाको मासु र सुकुटीको ब्राण्डिङ गरिरहनु भएका दिलिप श्रेष्ठले भन्नुभयो –‘ किसानले नेपाली ब्यावसायीलाई राँगा बेच्नै छोडेका छन् । भारतीयहरूले घर मै पुगेर २०÷२५ हजार रुपियाँ बढी मूल्य दिएपछि हामीले पाउँदैनौं ।’ राँगाको मासु तथा सुकुटी व्यवसायलाई उद्यमशीलताको रुप दिइरहनु भएका श्रेष्ठ दैनिक एउटा राँगो बध गर्नुहुन्छ । पाँच वर्षअघि सुरु ुभएको यो व्यवसायले श्रेष्ठलाई नाम र दाम मात्र दिएको छैन् । स्थानीय स्तरमा रोजगार सिर्जना पनि भएको छ ।
उहाँको ‘श्रेष्ठ राँगाको मासु पसल’लाई मासिक तीस÷बत्तीस वटा राँगा चाहिन्छ । एउटा राँगाबाट सामान्यतया १५० देखि २२० किलोसम्म मासु उत्पादन हुनेगर्छ । हाल हड्डी बिनाको मासु प्रतिकिलो ७ सय रुपियाँ र सहितको मासु प्रतिकिलो ६ सय रुपियाँमा बिक्री हुँदै आएको छ । पछिल्लो तीन महिना यता राँगा अभाव भएपछि मासुको मूल्य बढेको श्रेष्ठले बताउनु भयो । नेपालका राँगा भारत गएनन भने यहाँ प्रति किलो पाँच सय भन्दा माथि मूल्य हुँदैन । तर, चरम अभाव भएकोले मूल्य वृद्धि बाध्यता भएको श्रेष्ठको भनाई छ ।
मासुभन्दा सुकुटीको माग धेरै छ । उहाँले भन्नुभयो, साढे तीनदेखि चार किलो मासुबाट एक किलो सुकुटी बन्छ। घाम लाग्ने मौसममा सुकाउन सहज हुन्छ, तर वर्षायाममा आगोको तापबाटै सुकाउनुपर्छ ।
दैनिक पाँचदेखि छ किलोसम्म सुकुटी बिक्री गर्दै आउनु भएका श्रेष्ठले मागअनुसार उत्पादन गर्न नसकिएको बताउनुभयो । ठूला सहरका होटल तथा व्यवसायीबाट नियमित माग आउने गरेको भएपनि स्थानीय होटलहरूको माग नै धान्न नसकेको उहाँको भनाई छ ।
पछिल्लो समय राँगाको सुकुटी कोशेलीका रूपमा समेत लोकप्रिय बन्दै गएको छ। नेपालबाट श्रम गर्न जाने मात्र होइन । आवासीय रुपमा उतै बस्ने नेपालीहरूले पनि सुकुटी लैजाने गरेका छन् । हाल सुकुटी प्रतिकिलो २ हजार ७ सय रुपैयाँमा बिक्री हुँदै आएको छ।
दिलिप श्रेष्ठ मात्र होइन, लक्ष्मीमार्गका प्रेम श्रेष्ठ, टङ्क श्रेष्ठ, गगन श्रेष्ठ, राम तामाङ र सोभित श्रेष्ठ पनि राँगाको मासु तथा सुकुटी व्यवसाय गरिहनु भएको छ ।उहाँहरू कोही आफैं राँगा बध गर्नु हुन्छ भने कोही बजारबाट मासु ल्याएर सुकुटी बनाउन हुन्छ ।
ब्यावसायीले राँगा भारत तर्फ जाने गरेको बताए पनि ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरका सूचना अधिकारी देवराज न्यौपाने पछिल्ला ३ वर्षयता पशुचौपायको ब्यापार निरन्तर ओरालो लागेर ब्यापार घाटा उच्च दरमा वृद्धि भएको बताउनु हुन्छ ।
चालु आवको नौ महिनामा ४० करोड ४८ लाख ८३ हजार रुपियाँको ब्यापार घाटा भइसकेको सूचना अधिकृत न्यौपानेले जानकारी दिनुुभयो । यो अवधिमा ४४ करोड १४ लाख ७० हजार रुपियाँको पशुचौपाय आयात भएको छ भने तीन करोड ६५ लाख ८७ हजार रुपियाँको निर्यात भएको छ । यो घाटा ९१ दशमलव ७ प्रतिशत हो ।
पशु क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख डा.विदुरप्रसाद गौतमका अनुसार पशु चौपाय साँझपख चराउँदै भारत छिराउँने क्रम बढेकाले निर्यात प्रभावित भएको हो । मोरङको बेतौना,बरडङ्गा,सिक्टी, कुटुमगञ्ज र सुनसरीको जुद्धगञ्जको बाटो भएर ब्यापारीले पशु चौपाय भारत छिराउने गरेको स्थानीय बताउँछन् । प्रमुख डा. गौतमले २०७५÷०७६ पछि पशु क्वारेन्टाइन कार्यालयले स्वीकृति दिएर(स्वास्थ्य परीक्षणगरी) एउटा पनि पशु चौपाय निकासी नभएको जानकारी दिनुभयो ।







