लेटाङ ।सामूदायिक वनको नियमित आम्दानीले वन सुरक्षा र आन्तरिक खर्च ब्यवस्थापन गर्न कठिन भएपछि मोरङको लेटाङ–२ धोवीस्थित गरापानी सामुदायिक वन उपभोक्ता समूहले सामूदायिक वन भित्रै माछापालन र परापर्यटन कार्यक्रम सुरु गरेको छ ।
करीब २०० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनभित्र ४.३५ हेक्टर क्षेत्र परापर्यटनका लागि व्यवस्थापन गरिएको छ। वन क्षेत्रमा रहेका दुई पोखरीले पर्यटकलाई थप आकर्षित गरिरहेका छन् । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएका पोखरीमध्ये एउटा पोखरीमा सामुदायिक वनले ६ हजार माछाका भुरा छोडेको छ । वनको आन्तरिक आम्दानी बढाउने उद्देश्यले माछापालन सुरु गरिएको वन उपभोक्ता समूहले जनाएको छ । अध्यक्ष देवीप्रसाद आचार्यले भन्नुभयो –‘माछा बिक्रीबाट वार्षिक ५÷६ लाख आम्दानी गर्ने लक्ष्य छ।
वनको उत्तरी क्षेत्रमा रहेको अर्को पोखरीमा प्राकृतिक रूपमा पाइने स्थानीय जातका माछा संरक्षण गरिएको छ । यसले जैविक विविधता संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । यसैबीच, लेटाङ नगरपालिकाले वनको उत्तरतर्फको डाँडामा बाल उद्यान निर्माण गरिदिएपछि सामूदायिक वन बालबालिकाको लागि पनि घुम्न जाने ठाउँ बनेको छ । बाल उद्यान र पोखरीहरूमा ासौन्दर्य भरेपछि यतिबेला सार्वजनिक बिदाका दिन परिवारसहित घुम्न आउनेको संख्या उल्लेख्य रूपमा बढ्न थालेको स्थानीयको भनाई छ ।
मदन भण्डारी राजमार्गसँग जोडिएको सालघारीको काखमा अवस्थित वन क्षेत्रमा हाल एउटा कटेज सञ्चालनमा छ। सामुदायिक वनले मासिक ८ हजार रुपैयाँ भाडामा कटेज ठेक्कामा दिएको छ। कटेज सञ्चालकले पाहुनाको मागअनुसार खाजा तथा खानाको व्यवस्था गर्दै आएका छन्। सामुदायिक वनका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार कोशी प्रदेश सरकारअन्तर्गत चुरे उत्थानशील कार्यान्वयन इकाइ कार्यालय, इटहरीले वन क्षेत्रको सुरक्षाका लागि १५ लाख रुपियाँ लागतमा घेराबार निर्माण गरिदिने भएको छ। घेराबार निर्माण भएपछि घुम्न आउने आगन्तुकको सुरक्षामा थप सहजता हुने विश्वास गरिएको छ।
सरकारले लगातार दुई दिन सार्वजनिक बिदा दिन थालेपछि बालबालिका तथा युवाहरू विद्युतीय मनोरञ्जनमा बढी समय बिताउने गरेको अवस्थामा यस्ता प्राकृतिक मनोरञ्जनस्थल उपयोगी बनेको स्थानीय अर्जुन लिम्बू बताउँनु हुन्छ । परिवाररसँग घुम्न जाने उपयुक्त गन्तव्यका रूपमा उहाँले गरापानी सामुदायिक वनलाई रोज्ने गरेको बताउनु भयो ।
स्थानीय राजेन्द्र भण्डारीले विगतमा सामुदायिक वनप्रति केही नकारात्मक धारणा रहेपनि गरापानी सामुदायिक वनले उपभोक्ताको हित र पर्यटन प्रवद्र्धनका लागि उदाहरणीय काम गरिरहेको बताउनु भयो । स्थानीय सहभागिता, प्राकृतिक सौन्दर्य, बाल उद्यान, पोखरी तथा मनोरञ्जनका संरचनाले गरापानी सामुदायिक वनलाई लेटाङ क्षेत्रको नयाँ पारिवारिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै लगेको भण्डारीले बताउनु भयो ।







