Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
माेरङ। मोरङको बेलबारी नगरपालिका–१० स्थित माटीगाउँमा धिमाल समुदायको भाषा, संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धिमाल होमस्टे (घरवास) सञ्चालनमा आएको छ । होमस्टे सञ्चालनमा आएसँगै धिमाल जीवित संग्राहालय (लिभिङ म्युजियम) निर्माणको काम पनि अगाडि बढाइएको छ । धिमाल समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनलाई एकै स्थानमा अवलोकन गर्न सकिने गरी सुरु गरिएको यो संग्राहालयलाई धिमाल समुदायको पहिचान संरक्षणसँगै पर्यटन प्रवद्र्धनको महत्वपूर्ण जगका रुपमा हेरिएको छ ।
मोरङ र झापाका तराई क्षेत्रमा मुख्य बसोबास रहेको धिमाल समुदायलाई मोरङको बेलबारी, पथरीशनिश्चरे नगरपालिका र झापाको दमक नगरपालिकाले ‘प्रथम नागरिक’ का रूपमा सम्मान गर्दै आएका छन्। सोही सम्मानलाई व्यवहारमा उतार्ने उद्देश्यले बेलबारी नगरपालिकाले माटीगाउँमा धिमाल जीवित संग्राहालय र होमस्टे निर्माणको अवधारणा अघि सारेको हो ।

मोरङको बेलबारी–१० स्थित माटीगाउँलाई धिमाल समुदायको सघन बसोवास भएको क्षेत्र मानिन्छ । मोरङको कानेपोखरीस्थित कालीकोशी,उर्लाबारीको आमबारी,बेलबारी कै डाँगीहाट,झापाको अर्नाखाडी र नलबारीमा पनि धिमालहरूको सघन बसोबास छ । तर, एउटै बस्तीमा १२१ घरधुरी धिमाल समुदायको बसोबास रहेको यो गाउँ धिमाल संस्कृति अध्ययनका लागि सबैभन्दा महत्वपूर्ण ठाउँ मानिन्छ ।
माटीगाउँ टोल विकास संस्थाका अध्यक्ष जोगेन्द्र धिमालका अनुसार होमस्टे सञ्चालनका लागि सुरुमा १० घर छनोट गरिएका थिए । जसमध्ये सूर्यबहादुर धिमाल, सूर्यमाया धिमाल, सकेन्द्र धिमाल, नगेन्द्र धिमाल र जोगेन्द्र धिमालले आफ्ना घरलाई होमस्टेका रूपमा तयार गरिसक्नु भएको छ।
उहाँका अनुसार होमस्टे निर्माणमा कुल ३ लाख २६ हजार ७६३ रुपियाँँ खर्च भएको छ। बेलबारी नगरपालिकाले २ लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो भने बाँकी १ लाख २६ हजार ७६३ रुपैयाँ स्थानीय समुदायले व्यवस्थापन गरेको हो । पाँचवटा घरमा दुईदेखि तीनवटा सयनकक्ष तथा भित्रै शौचालयको व्यवस्था गरिएको छ ।
जोगेन्द्र धिमालले होमस्टे सञ्चालनले धिमाल समुदायको सांस्कृतिक परिचय देशभर फैलिनुका साथै स्थानीय महिलाका लागि रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । यसले धिमाल संस्कृति जोगाउन मद्दत गर्ने मात्र होइन, चुलोचौकामा सीमित रहेका आमा–दिदीबहिनीलाई आयआर्जनको अवसर पनि दिनेछ, जोगेन्द्रले भन्नुभयो । धिमालहरूले आयोजना गर्ने मेला महोत्सव र जात्रिमा मात्र खान पाइने धिमाल समूदायका परम्परागत खानाको स्वाद अब सधैं धिमाल होमस्टेमा उपलब्ध हुनेछन् । यसअघि झापाको दमक –३ मा दुुईवटा सामूदायिक होमस्टे सञ्चालनमा आइसकेका छन् । सेउपाखा धिमाल सामूदायिक होमस्टे दमक –३ का अध्यक्ष गणेश धिमालले भन्नुुभयो –‘धिमालहरू गुमनाम भइसकेको अवस्थामा होमस्टेले धिमाललाई सांस्कृतिक पुनरागमन गराएको छ । ’संस्कृति र परम्परागत पहिचान जोगाउन होमस्टेले सहयोग पुुगेको बताउँदै उहाँले आउने पाहुनाहरू धिमाल संस्कृति र परम्पराको बारेमा ध्यान दिएर सुन्ने गरेको बताउनुभयो ।होमस्टमा सात वटा घरमा ३५ जना पाहुनालाई राख्न सकिन्छ । खासगरी पश्चिम नेपालबाट घुम्न आउने पाहुनाहरू होमस्टेमा घरबासका लागि आउने गर्छन् । अध्यक्ष धिमालले थप्नुुभयो – सात घर प्रत्यक्ष रोजगारमा जोडिएका छन् । अप्रत्यक्ष रुपमा अरु थुप्रै परिवार जोडिएका छन् ।
कुनै समय मोरङ र झापाको तराईमा धिमाल जातिको एकछत्र बसोवास थियो ।धिमालसँगै राजवंशी, ताजपुरिया र गनगाइहर्रू पनि जग्गा जमिनका मालिक थिए ।तराईका जमिन्दारमा धिमालहरूको सङ्ख्या धेरै थियो । एक किसिम कृषि र पशुपालनमा धिमाल समूदायको साम्राज्य थियो । तर,जब धिमालहरूले तराईका खेतलाई हराभरा बनाए । खेती गर्ने खेतहरू फाँटिला भए । त्यसपछि पहाडबाट मानिसहरू बसाई सर्न थाले । कानेपोखरी– ५ निवासी धिमाल समूदायका अगुवा प्रकाश धिमाल भन्नुहुन्छ –‘ घर ब्यवहार सञ्चालन गर्न नजान्दा धिमालहरू विस्थापित हुँदै गएका छन् । धिमाल समूदायले बसाएका गाउँ सहरहरूमा धिमालहरू देखिन छोडेका छन् । पहाडबाट झर्नेहरू कसैले मितेरी साइनो लगाएर कसैले सस्तो मूल्यमा जग्गा लिएर हाम्रो समूदाय विस्थापित हुने अवस्था आयो । कुनै समय ६/७ सय विघा जग्गाहुने धिमाल परिवारको दोस्रो पुस्ता नै आज सुकुम्बासी बनेको प्रकाशले बताउनुभयो ।


होमस्टेपछि माटीगाउँमा धिमाल जीवित संग्राहालय निर्माण गर्ने योजना अघि बढाइएको छ । पर्यटकीय गन्तब्य भएर मात्र भएन । गतिविधि र उत्पादन पनि आवश्यक हुन्छ । त्यसैले बेलबारी–१० स्थित राजाज्वाला धिमाल महाराजथानले चर्चेको नौ कट्ठा जग्गामा संग्राहालय र सामुदायिक भवन निर्माण गरिन लागिएको हो ।
संग्राहालय निर्माण भएपछि धिमाल समुदायको परम्परागत जीवनशैली, कृषि प्रणाली, सामाजिक संरचना, भेषभूषा, बाजागाजा, घरायसी सामग्री तथा सांस्कृतिक अभ्यासलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिनेछ । धिमाल समुदायको इतिहास र वर्तमानलाई जोड्ने महत्वपूर्ण केन्द्रका रूपमा यसलाई विकास गर्ने लक्ष्य रहेको छ । मोरङ र झापाको तराई क्षेत्रलाई उर्भर बनाउन धिमाल समूदायले धेरै पसिना बगाएको बताउनु हुन्छ, धिमाल जातीय विकास केन्द्रका सचिव अजितकुमार धिमाल । धिमालले भन्नुुभयो –‘तराई भएपनि उसबेला धेरै डाडाँकाँडा थिए । धान फलाउन जमिन सम्म बनाउनुु पर्‍थ्यो । झण्डै सय वर्ष लगाएर धिमालहरूले सम्याएको अन्न फलाउने माटो अहिले धिमालको हातबाट उम्किसकेको छ ।’
बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले देशमै पहिलोपटक धिमाल होमस्टे सञ्चालनमा आएको बताउनुभयो। उहाँले जीवित संग्राहालय निर्माणपछि माटीगाउँ नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
‘शताब्दी पुरानो जातिलाई एकै स्थानमा बसेर चिन्ने, बुझ्ने र अध्ययन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम ल्याएका हौँ,’ नगरप्रमुख राईले भन्नुभयो, ‘यसले धिमाल समुदायमा सामाजिक र आर्थिक चेतना अभिवृद्धि गर्नुका साथै स्वरोजगार र आत्मनिर्भरता बढाउन सहयोग पुग्नेछ । धिमाल समूदाय हिजो कुन अवस्थामा थिए । हाल कुन अवस्थामा छन् । र अब उद्यमशीलता र कृषि उत्पादनसँग कसरी जोड्न सकिन्छ भनेर हामीले यो अवधारणा ल्याएका हौं ।
परम्परागत खानाको स्वाद अब धिमाल हाेमस्टेमा
धिमाल होमस्टेमा पुग्ने पाहुनाले धिमाल समुदायका परम्परागत परिकारको स्वाद लिन सक्नेछन्। चिचिरीभात, बगिया, गेन्द्रो, चुदुर, तोये र केयामजस्ता परम्परागत खानाहरू विशेष आकर्षणका रूपमा रहनेछन् । यस्तै, धिमाल महिलाले लगाउने पेटानी, कृषि कार्य तथा श्रममा प्रयोग हुने घरायसी सामग्री, परम्परागत औजार र जीवनशैली झल्काउने वस्तुहरू पनि संग्राहालयमा राखिने छ । पूर्वी नेपालका लागि धिमाल समूदाय केवल एउटा जाति मात्र होइन । अन्न भण्डार भूूगोलको जग बसाउने समूदाय पनि हो ।
स्थानीय लकिमाया धिमालले होमस्टेमा आउने पाहुनालाई धिमाल संस्कृति अनुसार स्वागत गर्ने, गीत–संगीत र नृत्यमार्फत मनोरञ्जन प्रदान गर्ने जानकारी दिनुभयो ।उहाँले स्थानीय चुलो चौकामा काम गर्ने आमा दिदी बहिनीहरूलाई सानो तिनो रोजगार समेत सिर्जना हुने बताउनुभयो ।
भूमिपतिबाट भूमिहीनसम्म
एक समय मोरङ र झापाका धिमाल समुदायलाई भूमिपतिको रूपमा चिनिन्थ्यो । तर समयक्रमसँगै उनीहरू आर्थिक रूपमा कमजोर बन्दै गएको धिमाल समुदायका अगुवाहरू बताउँछन् । ७५ वर्षीय पदम धिमालले आफ्नो तीन बिघा जग्गा रहेको स्मरण गर्दै अहिले भूमिहीन अवस्थामा पुगेको बताउनुभयो । मेरो तीन बिघा जग्गा थियो, अहिले छाप्रो हाल्ने घडेरी मात्रै बाँकी छ, उहाँले भन्नुभयो।
धिमाल समुदायले आर्थिक व्यवस्थापनमा ध्यान नदिँदा र सामुदायिक रूपमा आर्थिक परिचालन गर्न नसक्दा धेरै परिवार भूमिहीन बनेको उहाँको भनाइ छ ।
धिमाल अगुवा प्रकाश धिमालले पनि विगतमा अत्यधिक खर्च गर्ने संस्कारका कारण धेरै धिमाल परिवार आर्थिक रूपमा कमजोर बनेको बताउनुभयो । उहाँले तत्कालीन बयरवन गाउँ पञ्चायतका प्रधानपञ्च साफीलाल धिमालसँग ६ सय बिघाभन्दा बढी जग्गा रहेको स्मरण गर्दै उहाँका केही सन्तानसँग अहिले एक धुर जमिनसमेत नरहेको उल्लेख गर्नुभयो ।उहिले जग्गा बेचेर दुई–दुई महिनासम्म भोज लगाउने चलन थियो, उहाँले भन्नुभयो, ‘त्यही संस्कारले आज धेरै धिमाल परिवारलाई भूमिहीन बनाएको छ।’

धिमाल समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व जात्री (सिरिजात) पनि समयसँगै परिवर्तन हुँदै गएको छ । कुनै समय किशोर–किशोरीले आफ्नो जीवनसाथी खोज्ने अवसरका रूपमा मनाइने जात्री पर्व अहिले आधुनिक प्रभावका कारण फरक स्वरूपमा देखिन थालेको छ।
पहिले जात्रीमा पान, सुपारी, छोकडा र नरिवलमार्फत प्रेम प्रस्ताव राख्ने चलन थियो। साथै चिचिरीभात, बगिया, गेन्द्रो र चुदुरजस्ता परम्परागत परिकारको विशेष महत्व हुन्थ्यो। अहिले भने जेरी, लड्डु, मिठाईसँगै मोमो, चाउमिन, थुक्पा र पिज्जाजस्ता आधुनिक खानाको व्यापार बढ्न थालेको छ । पहिले धिमाल पुरुषहरू पनि आफ्नै परम्परागत पोशाकमा मेला भर्न आउने गर्थे । अहिले त्यस्तो दृश्य दुर्लभ बन्दै गएको छ । महिलाहरू भने अझै पेटानीमा सजिएर आउने गरे पनि पेटानी लगाउनेको संख्या बर्सेनि घट्दै गएको स्थानीयवासी बताउँछन्।


धिमाल समुदायको जात्री पर्व हरेक वर्ष वैशाख २ गते मोरङको लेटाङ–१ स्थित राजारानीको धिमालडाँडा ग्रामथानमा पूजा गरी सुरु हुन्छ । त्यसपछि झापा, मोरङ र सुनसरीका विभिन्न ग्रामथानमा दुई महिनासम्म सामूहिक रूपमा पूजा, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गर्छन् । पितृ तथा प्रकृतिपूजक धिमाल समुदायले रोगव्याधि नलागोस्, खेतीपाती राम्रो होस्, समयमै वर्षा होस् र जंगली जनावरबाट क्षति नहोस् भन्ने कामनासहित महाराजस्थानमा सामूहिक पूजा गर्ने परम्परा रहिआएको छ ।
धिमाल जातीय विकास केन्द्रका सचिव अजित धिमालका अनुसार झापा, मोरङ र सुनसरीमा १०८ वटा धिमाल टोल छन् । माइ नदीपूर्वका क्षेत्रमा जात्री नलागे पनि माइ पश्चिमतर्फका ८० वटा ग्रामथानमा मेला लाग्ने गर्दछ । उहाँका अनुसार कतिपय दिन एउटै समयमा पाँच स्थानसम्म जात्री पर्व आयोजना हुने गर्दछ । एउटा परिवारले जात्रीमा १५ हजार रुपैयाँसम्म खर्च गर्ने गरेको देखिन्छ । उहाँले कमाएर पर्व मनाउँदा राम्रो हुने तर, ऋण काडेर पर्व मनाउँदा धिमाल समूदाय क्रमश : आर्थिक समस्यामा पर्दै गएको बताउनुभयो ।
धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष विजय धिमालले वैशाख २ गतेदेखि असार २ गतेसम्म चल्ने जात्री पर्वका क्रममा धिमाल समुदायले ठूलो रकम खर्च गर्ने गरेको बताउनुभयो । धिमाल अगुवाहरूका अनुसार ८० वटा मेला आयोजना हुँदा तीन करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको अनुमान छ ।
समुदायका अगुवाहरूले जात्रीमा बढ्दो सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र जुवाजन्य खेलले पर्वको मौलिकता कमजोर बनाउँदै लगेको चिन्ता व्यक्त गरेका छन् ।


धिमाल समुदायको सबैभन्दा ठूलो पर्व जात्री (सिरिजात) को समापनको अवसरमा झापा र मोरङका पाँच स्थानीय तहले असार २ गते सार्वजनिक बिदा दिने गरेका छन्।
झापाको दमक नगरपालिका तथा मोरङका उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले उक्त दिन स्थानीय सार्वजनिक बिदा दिँदै आएका छन् । धिमाल समुदायले वैशाख २ गते राजारानीस्थित धिमालडाँडा ग्रामथानमा पूजा गरेर सुरु गरेको जात्री पर्व असार २ गते समापन गर्ने परम्परा रहिआएको छ । झापा, मोरङ र सुनसरीका १०४ वटा ग्रामथानमा दुई महिनासम्म सामूहिक पूजा–आराधना तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने गर्दछ ।
असार २ गते धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिले मोरङको उर्लाबारी–३ स्थित दशबिघेमा हरेक वर्ष जात्री समापन कार्यक्रम आयोजना गर्दै आएको छ । कोशी प्रदेश सरकारले भने प्रदेशभर कार्यरत धिमाल समुदायका शिक्षक र कर्मचारीलाई असार २ गते विशेष बिदा दिने व्यवस्था गरेको छ । तर, धिमाल जातीय विकास केन्द्रले सम्पूर्ण कोशी प्रदेशमा सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै आएको छ ।
पर्यटन, संस्कृति र आत्मनिर्भरताको नयाँ आधार
धिमाल होमस्टे र जीवित संग्राहालयको अवधारणाले धिमाल समुदायको इतिहास, संस्कृति र पहिचानलाई संरक्षण गर्ने मात्र होइन । पर्यटन विकास तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । परम्परागत सीप, खानपान, भेषभूषा र संस्कृतिलाई पुस्तान्तरण गर्दै आर्थिक अवसर सिर्जना गर्ने माध्यमका रूपमा यो परियोजना महत्वपूर्ण मानिएको छ ।
धिमाल समुदायका अगुवाहरूका अनुसार संस्कृति संरक्षण र आर्थिक सशक्तीकरणलाई सँगसँगै अघि बढाउन सकेमा विगतमा गुम्दै गएको सामाजिक तथा आर्थिक हैसियत पुनः स्थापित गर्न सकिने विश्वास गरिएको छ । माटीगाउँमा सुरु भएको धिमाल होमस्टे र निर्माणाधीन जीवित संग्राहालय त्यसै दिशातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।



Share via
Send this to a friend