हरिप्रसाद कोइराला
उर्लाबारी । एसियाली विकास बैंकको सहयोगमा विस्तार भइरहेको महेन्द्र राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण तीव्र गतिमा भइरहेको छ । यद्यपि सडक निर्माणकार्य भने सुस्ताएको छ ।
यस योजना अन्तर्गत काकरभिट्टा लौकही सडक पाँच वटा अलग अलग प्याकेजमा ठेक्का लागेको छ । पश्चिम खण्ड कार्यालय इटहरीले प्याकेज २ ,३ र ५ को निर्माण कार्य हेरिहेको छ भने पूर्वी कार्यालय दमकले प्याकेज १ र ४ हेरिरहेको छ । पुल खण्ड प्योकज चार र पाँचमा पर्छन् ।
झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा खोलामा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण तीव्र गतिमा बनिरहेका छन् । पाँचौ प्याकेजमा ठेक्का लागेका तीन वटा पुलको हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ । गतवर्ष जेठमा यस खण्डमा २२ प्रतिशत भौतिक प्रगति भएको थियो । कोभेक–सिआरएफजी– चाइना स्टेट सेभेन्थ जेभीले ५ अर्व ६५ करोड २६लाख रुपियाँमा ठेक्का लिएका तीन वटा पुलमध्ये रतुुवा खोलामा सबैभन्दा बढी प्रगति भएको छ । काकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) आयोजना कार्यालय इटहरीका प्रमुख जगत प्रजापतिका अनुुसार रतुवा पुलको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।उहाँले ५८५ मिटरको पुलमा ८७.७५ मिटरका तीनवटा स्पान रहने जानकारी दिनुुभयो । एउटा स्पानमा स्टिलट्रस्ट ‘आर्क’ लगाउने काम सकिएको छ । दोस्रोमा अन्तिम चरण काम भइरहेको छ भने तेस्रोको काम असार पहिलो साता सुरु हुनेछ । रतुवा भन्दा बक्राहा र लोहोन्द्रा खोलाको पुल छोटा छन् ।बक्राहामा ३८५ मिटर र लोहोन्द्रामा ३१८ मिटर लामो पुल निर्माण कार्य भइरहेको छ । सम्झौता अनुसार पुलको काम अबको आठ महिनामा सक्नुपर्नेछ ।
पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक कार्य चिनियाँ कम्पनी आफैँले गरिरहेको छ भने बाँकी सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले गरिरहेको कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।
रतुवा नदीमा बन्ने ५८५ मिटर लामो पुलमा २६४ मिटर खण्ड ‘स्टिल आर्क’ र बाँकी खण्ड कङ्क्रिटको हुने जनाइएको छ । यस पुलमा तीनवटा स्पान रहने भएको छ । लोहन्द्रा नदीको ३८५ मिटर लम्बाइको पुलमा ८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन् । बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने छन् । पानीको मुख्य बहाव रहने भागमा स्टिल ट्रस्ट‘आर्क’ निर्माण गरिने भएको हो ।
वर्षायाममा पनि पुलको निर्माणकार्य प्रभावित नहुने गरी प्राविधिक तयारी मिलाइएको आयोजनाले जनाएको छ । हाल रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको छ । रतुवाको काम सकिएलगत्तै लोहन्द्रा र बक्राहा पुलको निर्माण कार्यलाई तीव्रता दिइने उहाँको भनाइ छ ।
आठ महिना बाँकी रहँदा पुलको काम ४१ प्रतिशत सम्पन्न भएपनि सडकको काम भने सुस्त गतिमा चलिरहेको छ । २०८० कात्तिक २ गते सम्झौता भई सोही वर्षको माघ १९ गते काम सुरु भएको यो योजना अन्तर्गत सडक,साना पुल,कल्भर्ट र ओभरपास, वाईपासको निर्माण कार्य २०८३ को कात्तिकमा सम्पन्न गर्नुपर्ने हो । तर, सडक तर्फ पश्चिम खण्डमा औषत ३३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । प्याकेज २ मा जङ्गल क्षेत्र रहेकोले ४२ प्रतिशत काम भएको छ । गोठगाउँ देखि लविपुर सुनसरीसम्मको प्याकेज ३ को १० किमी खण्डमा हालसम्म २४ प्रतिशत मात्र काम भएको छ ।
पुल अबको आठ महिनामा निर्माण सम्पन्न हुनसक्ने भएपनि पाँच महिनामा सडक निर्माण गर्न नसकिने निश्चित जस्तै भएको छ ।







