हरिप्रसाद कोइराला
लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नं. १ भोगटेनीका किसानलाई सुन्तला तथा कफी खेती विस्तार प्रवद्र्धन कार्यक्रम अन्तर्गत बिरुवा र सिंचाईका सामग्री वितरण गरिएको छ ।
वडामा २६६ जना किसानले सुन्तोला र कफीको ब्यावसायिक खेती गरिरहनु भएको छ । हरेक वर्ष १० देखि १५ रोपनी क्षेत्रफलमा कफी र सुन्तोला खेती विस्तार भइरहेको लेटाङ १ का वडाध्यक्ष विष्णुकुमार मगरले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारको अनुदान तथा लेटाङ नगरपालिकाको वडा नं.१ को सुन्तोला तथा कफी खेती विस्तार कार्यक्रम मार्फत एक हजार सुन्तलाका र २ हजार २ सय कफीका बिरुवा वितरण गरिएको हो । बिरुवासँगै सिँचाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन ४९ हजार लिटर क्षमताका १७ वटा ट्याङ्की र १३ हजार मिटरभन्दा बढी पाइप उपलब्ध गराइएको छ ।
नगरपालिकाको कृषि शाखा प्रमुख करण श्रेष्ठका अनुसार कोशी प्रदेश सरकारबाट सुन्तोला तथा कफि खेती प्रवद्र्धनका लागि १२ लाख ५० हजार रुपियाँ अनुदान प्राप्त भएको थियो । वडाले १ लाख रुपियाँ थप गरी सोही बजेटबाट फलफूल तथा नगदे बाली विस्तारसँगै आवश्यक सिँचाइ पूर्वाधार व्यवस्थापन गरिएको हो ।
लेटाङ–१ का वडाध्यक्ष विष्णुकुमार मगरले सुन्तला र कफी खेतीले अन्य बालीको तुलनामा छिटो र राम्रो आम्दानी दिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार वडा नम्बर १ मा १६ जना किसानले सुन्तोला र २५० किसानले कफीको ब्यावसायिक खेती गरिरहेका छन् । यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै बसाइँसराइ नियन्त्रण गर्न समेत सहयोग पुगेको छ।
लेटाङ नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठले नगरपालिकाले खाद्यान्न बालीभन्दा नगदे तथा फलफूल बाली प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो। वडा र प्रदेश सरकारको संयुक्त पहलमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत लेटाङका वडा नम्बर १का स्थानीय किसानको मागअनुसार अनुदान तथा प्राविधिक सहजीकरण उपलब्ध गराइएको जानकारी दिनुभयो ।
नगर प्रमुख भूपेन्द्रकुमार लावतीले लेटाङमा उत्पादन हुने सुन्तला र कफीको बजारमा उच्च माग रहेको उल्लेख गर्दै माग बढी भएका वस्तुको उत्पादन विस्तारमा नगरपालिका केन्द्रित भएको बताउनुभयो। किसानसँगको सहकार्यमा सुन्तला तथा कफी खेती विस्तारलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ। मोरङ भन्ने बित्तिकै औषत मानिसले तराई क्षेत्र सम्झिने गर्छन् । तर,मोरङको लेटाङका वडा नं. १,७ र ८ को आधार भाग पहाडी भूभागमा पर्छ । सो क्षेत्र सुन्तला र कफी उत्पादनका लागि उपयुक्त पकेट क्षेत्र भएकोले सुन्तोला र कफि खेती विस्तार कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख लावतीले जानकारी दिनुभयो ।
लेटाङ १ का चन्द्रकुमार राई,चन्द्रजीत राई,कुशल मगर, धनबहादुर लिम्बूले दुई÷दुई रोपनीम कफीको ब्यावसायिक खेती गरिरहनु भएको छ । यस्तै शुक्र राई,शविकुमार राई लगायतले सुन्तोलाको २ बोट भन्दा माथि सुन्तोला खेती गरिरहनु भएको छ । सुन्तोला र कफी खेती विस्तारसँगै यातायातको सहज पहुँच पुगेपछि उत्तरी मोरङको लेटाङबाट तराई तिर बसाई सर्नेको सङ्ख्या पनि घट्दै गएको छ ।







