मोरङ । मोरङको सुनवर्षी–६, टुपियाखाडीका ८४ वर्षीय नीलबहादुर चौहानको दैनिकी अहिले आफ्नै निजी वनमै बित्ने गर्छ । उमेरले ८४ वर्ष पार गरिसके पनि उहाँलाई अधिकांश समय वनमै भेट्न सकिन्छ ।
राष्ट्रिय, साझेदारी, सामुदायिक तथा धार्मिक वन उहाँको घरबाट करिब १७ किलोमिटर उत्तरमा रहेका छन् । त्यहाँसम्म पुग्न अहिले न शरीरले साथ दिन्छ, न समयले नै । त्यसैले उहाँले आफ्नै साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको निजी वनलाई हराभरा बनाउने अभियानलाई जीवनकै लक्ष्य बनाउनुभएको छ ।
२०५० देखि २०५२ सालसम्म उहाँले निरन्तर आफ्नै जमिनमा सालका बिरुवा रोप्नुभयो । सुरुमा डेढ बिघाबाट सुरु गरिएको वृक्षारोपण अहिले साढे पाँच बिघासम्म फैलिएको छ । उहाँको निजी वनमा सालसँगै टिक, मलेसियन साल, कदम, कर्मा, अस्नालगायतका बिरुवा हुर्किरहेका छन् ।
भोजपुरको कुलुङबाट सुख–सुविधाको खोजीमा तराई झर्नुभएका चौहानले तराईमा पनि अपेक्षाअनुसार सन्तुष्टि पाउन सक्नुभएन । त्यसबेला “कमाउन मुग्लान जाने” चलन थियो । उहाँ पनि २०२० सालतिर भारत पुग्नुभयो । भारतमा खेतीपाती र पशुपालन गरेर कमाएको पैसाले २०३२ सालमा टुपियाखाडीमा अढाई बिघा जग्गा किन्नुभयो ।
त्यसबेला भारतमा कमाउने र नेपालमा घरजग्गा जोड्ने चलन व्यापक थियो । कमाउँदै खेत जोड्ने क्रम झण्डै अढाई दशकसम्म चल्यो । २०४५ सालदेखि सुनवर्षी नगरपालिका–६ मा स्थायी रूपमा बस्दै आउनुभएका चौहान त्यसपछि भारत नगएको बताउनुहुन्छ ।
अहिले उहाँसँग १० बिघा जग्गा छ । त्यसमध्ये आधाभन्दा बढी क्षेत्रमा उहाँले जंगल लगाउनुभएको छ । मोरङको दक्षिणी भूभाग धान खेतीका लागि अत्यन्त उर्वर मानिन्छ । त्यतिबेला प्रति बिघा ७० मन धान फल्ने खेतमा सालका बिरुवा रोप्दा गाउँलेहरूले उहाँको निकै खिल्ली उडाएका थिए । कसैले “चौहान बुढो बहुलायो” समेत भन्न भ्याए । तर उहाँ आफ्नो निर्णयबाट विचलित हुनुभएन ।
“भविष्यमा यिनै रुखले धानभन्दा बढी मूल्य दिन्छन् भन्ने विश्वास थियो । त्यसैले गोडमेल र स्याहारमा निरन्तर लागिरहेँ,” उहाँले भन्नुभयो ।
अहिले पनि उहाँको अधिकांश समय निजी वनमै बित्छ । आफ्नै हातले हुर्काएका सालका विशाल रुखहरू हेर्दा उहाँ सन्तुष्ट देखिनुहुन्छ । “अरू काम गर्न सक्दिनँ, यिनै रुख हेर्दा आनन्द अनुभूति हुन्छ,” उहाँले भन्नुभयो ।
तत्कालीन जिल्ला वन कार्यालय मोरङ र वन मन्त्रालयले निजी वन प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्याएबापत क्रमशः १५ हजार र ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेपछि उहाँको परिचय नै फेरिएको छ । अहिले स्थानीयले उहाँलाई “सालबाजे” भनेर चिन्ने गरेका छन् । उहाँ हाँस्दै भन्नुहुन्छ, “नीलबहादुर भन्दा पनि ‘सालबाजे’ भन्यो भने सबैले चिन्छन् ।”
चार भाइ छोरामध्ये दुई जनाले वन संरक्षणमा सहयोग गरिरहेका छन् । अहिले उहाँको वनमा १४० वटा ठूला सालका रुख छन् । “छ वर्षअघि थप सयवटा बिरुवा पनि रोपेको छु,” सालबाजेले बताउनुभयो ।
हालसम्म वृक्षारोपणमा करिब साढे ६ लाख रुपैयाँ लगानी गरिसकेको उहाँको भनाइ छ । त्योभन्दा बढी मूल्यको काठ बिक्री भइसकेको छ । “साल र टिक बाहेक अरू धेरै रुख बेचें । ठ्याक्कै हिसाब राखिनँ, तर लगानी उठिसकेको छ,” उहाँले भन्नुभयो ।
उत्तरी मोरङको टाँडी क्षेत्रका किसानहरू पनि अहिले निजी वनतर्फ आकर्षित भइरहेका छन् । कृषि मजदुरको अभावमा दुईबाली धान फल्ने खेत बाँझिन थालेपछि किसानहरूले खेतीको विकल्पका रूपमा वृक्षारोपण रोज्न थालेका हुन् ।
साविक टाँडी–४, ५ र ६ (हाल मिक्लाजुङ–४) का किसानहरूले झण्डै ६ बिघा क्षेत्रमा वृक्षारोपण गरिसकेका छन् । हात्तीमाराका किसान नीलराज लुइटेलले एक बिघा जमिनमा टिकका एक हजार ४०० बिरुवा रोप्नुभएको छ । सात वर्षअघि करिब दुई लाख रुपैयाँ लगानी गरेर गरिएको वृक्षारोपण अहिले आकर्षक बनेको छ ।
“खेतीपाती गर्ने मान्छे गाउँमा छैनन् । बलिया युवाहरू खाडी वा भारततिर गएका छन् । केही भएका मान्छे शहर पसेर व्यापारतिर लागेका छन्,” उहाँले भन्नुभयो ।
बिरुवा रोपेको तेस्रो वर्षदेखि नै उहाँले हाँगाविँगा बेचेर धान खेतीभन्दा बढी आम्दानी लिन थाल्नुभएको छ । बिरुवा सानो हुँदासम्म सोही जमिनमा रहरको दाल पनि लगाउनुभयो । पहिलो वर्ष आठ हजार रुपैयाँ बराबरको उत्पादन भयो भने दोस्रो र तेस्रो वर्ष क्रमशः १० हजार र १३ हजार रुपैयाँको दाल बिक्री भयो ।
लुइटेलको सफलतापछि हात्तीमाराका धेरै किसान वृक्षारोपणतर्फ आकर्षित भएका छन् । साविक टाँडी–४ का ब्रह्मलाल कोइराला, काजेन्द्र लिम्बूलगायतले धान खेतमा बिरुवा रोपेका छन् । किसानहरूले बिरुवासँगै अम्लिसो पनि लगाएका छन् ।
काजेन्द्रले भन्नुभयो, “गत वर्ष अम्लिसो बेचेर राम्रो आम्दानी भयो । गाईलाई घाँस खोज्न जंगल जानु परेको छैन ।”
छ वर्षअघि हात्तीमारामा वृक्षारोपण सुरु गर्दा स्थानीयले लुइटेललगायतलाई खिल्ली उडाएका थिए । “अब खान नपाएर मर्छन्” भनेर समेत टिप्पणी गरिएको थियो । कुलबहादुर तामाङ सम्झिनुहुन्छ, “अहिले गाउँमा अरू छिमेकीहरू पनि हाम्रै लाइनमा आउनुभएको छ ।”
जिल्ला वन कार्यालय मोरङका अधिकृत रामलखन ठाकुरका अनुसार आर्थिक वर्ष २०७३/७४ सम्म जिल्लामा ५९३ वटा निजी वन दर्ता भएका थिए । ती वनले ५९३.४० हेक्टर क्षेत्रफल ओगटेका थिए । पछिल्लो नौ वर्षमा थप १५ वटा निजी वन दर्ता भएका छन् भने वन क्षेत्र १६७ हेक्टरले विस्तार भएको छ ।






