Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
जाँते । गाउँघरमा गुरू पुरोहितको अभाव हुन थालेपछि पछिल्लो समय गुरूकुल शिक्षा प्रतिको युवापुस्ताको आकर्षण बढेको छ । तर,पूर्वीय धर्मशास्त्र अनुसार गुरूकुल शिक्षा निशुल्क पढाउने बैदिक परम्परा रहेकोले गुरूकुल सञ्चालनको खर्च धान्न भने समस्या हुने गरेको छ ।
मोरङको लेटाङ ९ जाँते स्थित बैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठमा २२ जना ब्राम्हण समूदायका बाल बटुकहरू गुरूकुल शिक्षा लिइरहनु भएको छ । सरकारी सहयोग बिना नै सञ्चालन भएको विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थी पढाई आधाउधि नपार्दै ब्यवासायिक गुरूपुरोहित हुने गरेका छन् । कक्षा ५ सम्मको औपचारिक शिक्षा अध्यापनको स्वीकृति प्राप्त गरेको विद्यापीठले औपचारिक शिक्षासँगै चण्डी,रुद्री,वेद,गीता,अमरकोष,न्याय, भाषा र ब्याकरण पढाउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक एकराज भट्टराईका अनुसार स्थानीय शिक्षाप्रेमीहरूले ६ कट्ठा जग्गादान दिनु भएपछि सोही जग्गामा विद्यापीठ सञ्चालनमा आएको हो ।

बैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष सोमनाथ निरौलाका अनुसार २०६६ सालमा जाँतेबासीले जाँतेमा मानव बसोवास भएको शताब्दि वर्ष पुरा भएको अवसरमा महापुराणको आयोजना गरे । जाँतेमै जन्मिनु भएका पूर्वीयशास्त्रका ज्ञाता खेमराज केशवशरणले वाचन गर्नु भएकोे महायज्ञबाट जग्गा र नगद सङ्कलन भयो । स्थानीयले उक्त रकमबाट मन्दिर बनाउने प्रस्ताव अघि सारेका थिए । केशवशरणले मन्दिर होइन गुरूकुल अध्ययन गर्ने विद्यापीठ सञ्चालन गर्नुपर्छ भनेपछि गुरूकुलको जग हालिएको हो ।
त्यसैलाई निरन्तरता दिँदै खेमराज केशवशरणले निशुल्क पुराण वाचन गरिदिनु भयो–जसले गर्दा डेढ बिगाहा जमीन र १३ लाख रुपियाँ जम्मा भयो । सोही खर्चले गाउँमा र गुरूकुलसँगै मन्दिर समेत निर्माण गरी केशवशरण र स्थानीयका दुबै प्रस्ताव एकैपटक पुरा भएको जग्गादाता अम्विकाप्रसाद अधिकारीले बताउनु भयो ।
झण्डै १० कट्ठा जग्गामा बनेका ४ वटा साना साना भवनमा विद्यार्थीहरू आवासीय रुपमा संस्कृतको आधारभुत ज्ञान लिइरहेका छन् । सञ्चालक समितिका सदस्य समेत रहनु भएका अधिकारीले भन्नुभयो–खानका लागि स्थानीयले प्रदान गर्ने मुष्ठिदानले पुग्छ । गुरूहरूलाई तलव दिन जहिल्यै धौंधौं पर्छ । २ जना शिक्षक र एकजना कर्मचारीलाई नियमित तलव दिने स्रोतको अभाव भएकोले थप आउने विद्यार्थी सङ्ख्या बढाउन नसकिएको हो ।
गुरूकुल सञ्चालन गर्न लेटाङ नगरपालिकाले वार्षिक तीन लाख रुपियाँ सहयोग गर्छ । त्यस्तै महर्षि फाउण्डेसनले एकजना गुरुको खर्च ब्योहोर्छ । तर, त्यो प्रर्याप्त हुँदैन । अध्यक्ष सोमनाथ निरौलाले भन्नुभयो– संस्कृत पढेर पनि प्राविधिक धारमा जस्तै दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । सरकारले पनि सहयोग गर्ने हो भने संस्कृत पढ्न भारत गइरहनु पर्दैन । उहाँले संस्कृत भाषा सबैभाषाको जननी भएर पनि नेपालमा संस्कृत पढ्ने र पढाउनेको महत्व नरहेको बताउनु भयो । जति विद्यार्थी आउँछन् सबैलाई भर्ना लिन सकिने अवस्था छैन । यहाँ पढ्ने छात्रहरूलाई खान,बस्न,विद्यालय पोशाक सबै विद्यापीठले निशुल्क उपलब्ध गराउँछ । स्थानीयले मुष्ठिदान, हिउँदमा धान दिनुहुन्छ । त्यही सहयोगले धान्ने गरी मात्र विद्यार्थी भर्ना लिने गरिएको अध्यक्ष निरौलाको भनाई छ ।



Share via
Send this to a friend