हरिप्रसाद कोइराला
लेटाङ। मोरङको लेटाङ नगरपालिका वडा नंं.३ को कमलपुर सामूदायिक वन नजिकै २ विगाहा जग्गामा दुई वटा भब्य भवन छन् । ढल डम्पिङ गर्न भवन नजिकै दुई वटा विशाल टङ्याक्की बनाइएको छ । सुरक्षागार्ड बस्ने घर, विद्युत खानेपाने सबै प्रबन्ध भइसकेको छ । तर, स्रोत सुनिश्चित नभई काम थाल्दा यो ढल निर्माण तथा प्रशोधन आयोजना (मेघा प्राजेक्ट) सात वर्ष देखि अधुरो छ ।
बन कार्यालय,लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजना बिच समन्वय हुँदा नसक्दा दुई वर्षमा सम्पन्न हुने आयोजना ७ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन् । लेटाङ नगरपालिकाको फोहोर र ढल ब्यवस्थापन गर्न सङ्घीय खानेपानी आयोजनाले २८ करोड ९९ लाख ५८ हजार ८० रुपियाँको टेण्डर आह्वान गरेको थियो । गोल्डेन विकोइ खुस्बु जेभी कम्पनीले १९ करोडमा ठेक्का प्राप्त गरेको यो योजना २०७६ सालको असार २५ गते सङ्घीय खानेपानीले २ वर्षमा काम सक्ने गरी ठेक्का लगाएको हो ।
जतिबेला आयोजनाको डिपीआर बनेको थियो । त्यो बेला लेटाङका अधिकांश सडक कच्ची र ग्राभेल थिए । २०७४ मा स्थानीय सरकार बनेपछि जनसहभागितामा सडक कालोपत्रे भए । सडक कालोपत्रे भएपछि ढल निर्माण तथा प्रशोधन आयोजनाको ठेक्का स्वीकृति पत्र लिएर सङ्घीय खानेपानी आयोजना र निर्माण कम्पनीका प्रतिनिधि लेटाङ नगरपालिका पुग्यो ।
२०७६ सालको कात्तिक १८ गते लेटाङ नगरपालिकाका तत्कालिन प्रमुख शङ्कर राईको अध्यक्षतामा आयोजनालाई काम गर्ने वातावरण तयार गरी दिने विषयमा छलफल भयो ।छलफलमा स्थानीयले ठूूला आयोजनाले बनिसकेका सडक, खानेपानी र विद्युत प्रशारणलाई अबरुद्ध गर्ने र भत्किएको संरचना नबनाई छोडिदिने गरेको भन्दै संरचना नबिगारि ढल निर्माण गर्न आयोजनासँग आग्रह गरे । सङ्घीय खानेपानी आयोजना विराटनगर कार्यालयका प्रमुख डिभिजन इन्जिनीयर सुरतलाल चौधरीले भन्नुभयो– सम्झौता अनुसार कम्पनीले २०७८ को असार २४ गते काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्नु पर्ने थियो । ६ वर्ष पुरा भइसक्दा पनि आयोजना सम्पन्न भएको छैन् । उहाँका अनुसार डिपीआर गरेको समयमा सडक ग्राभेल थियो । काम सुरु गर्न आउँदा कालोपत्रे भयो । स्थानीयको लागत सहभागितामा बनेको कालोपत्रे भत्काएर पाइप गाड्ने वातावरण बनेन । बनसँग स्वीकृति नलिई काम सुरु भएकोले एक वर्ष समय वनसँग कानूनी प्रक्रिया पु¥याउन लाग्यो । चौधरीले निर्माण कम्पनीले काम गरेको भुक्तानी दिन नसक्दा काम समयमा सम्पन्न नभएको बताउनु भयो ।
एकातिर साइड खाली गर्न सरकारी निकाय बिच नै समन्वय भएन । अर्को तर्फ सरकारले समयमा भुक्तानी दिन सक्दैन ।चौधरीले बिग्रिएको संरचना निर्माण गर्न नयाँ भेरिएसन अर्डर (भिओ) गर्नुपर्ने लगायतका सबै कानूनी अप्ठ्यारा र जटिलताले गर्दा काम समयमा सम्पन्न गर्न नसकिएको बताउनु भयो । उहाँका अनुसार बजारको हरेक घरबाट निस्कने ढल डम्पिङ साइड सम्म पु¥याउन ९ हजार ४२४ मिटर लम्वाई पाइप गाड्नु पर्नेथियो । पाइप गाड्ने काम सकिएको छ । स्थानीयको माग अनुसार भत्किएको ठाउँमा अस्फाल्ट प्रविधिको कालोपत्रे गरिसकेका छौं । सुरुमा लागेको ठेक्का सम्पन्न भएको छ । तर,पूर्ण रुपमा ढल प्रशोधन केन्द्र सञ्चालनमा आउन अझै ४० करोड रुपियाँ आवश्यक पर्छ । डिभिजन इन्जिनीयर चौधरीले हाल अढाई करोडको नयाँ ठेक्का लागेको छ । जहाँ कालोपत्रे छैन् , त्यहाँ पाइप बिच्छ्याउने काम हुन्छ । नगरका सबै सडक कालोपत्रे छन् । ति सबै सडक भत्काएर पुन निर्माण गर्न लाग्ने खर्च सहितको डिपीऋार निर्माण गरेर स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालय पठाएका छौं । स्रोत जुट्यो भने आयोजनाले पूर्णता पाउँछ, अन्यथा अपुरै रहन्छ, उहाँले खर्चको अभावमा काम अघि नबढेको जानकारी दिनुभयो ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरको विकासमा दीर्घ कालिन असर पु¥याउने आयोजनाहरू समयमा सम्पन्न नहुँदा समस्या भइरहेको बताउनु भयो । उहाँले कतिपय सङ्घीय आयोजनाहरू स्थानीय सरकारसँग परामर्स नभई आउने गरेकोले समयमा सम्पन्न नहुने गरेको बताउनु भयो । उहाँले स्रोत जुटाउन सक्दैनौं भने कामबाट हात झिक भन्ने अवस्थामा नगरपालिका पुगिसेकेको बताउनु भयो ।






