Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
मोरङ । मध्य पूर्वमा भइरहेको इरान– अमेरिका बिचको यृुद्धले नेपालको पूर्वाधार र सडक निर्माण क्षेत्रमा प्रत्यक्ष असर पुगेको छ ।
ईन्धन, अलकत्रा, र निर्माण समाग्रीको मुल्य दोब्बर वृद्धि हुँदा सङ्घ ,प्रदेश र स्थानीय सरकारले ठेक्का लगाएका ठूला, मझौला र साना पूर्वाधारका काम र सडक निर्माणमा यसको प्रत्यक्ष असर देखिएको हो ।

पूर्वपश्चिम राजमार्गको पश्चिम खण्डमा सात किमी सडक अलकत्रा(विटुमिन) अभावमा कालोपत्रे हुन सकेको छैन् । निर्माण कम्पनी असार अन्तिम सम्ममा थप आठ किमी सडक कालोपत्रे गर्ने चरणमा पु¥याउने तयारीमा छ । पूर्व खण्डमा अझ बढी सडक बेस हालेर कालोपत्रे गर्ने तयारी अवस्थामा रहेको छ । एकातिर बेमौसमी मनसुनले कालोपत्रे गर्न तयारी अवस्थामा राखेको सडक बिग्रिएको छ भने अर्को तर्फ अलकत्राको अभावमा कालोपत्रे गर्न समस्या भएको छ ।
एसियाली विकास बैंकको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको झापाको सीतापुरी देखि सुनसरीको लबीपुरसम्म निर्माणको काम गरिरहेको सीआरएफजी तुङ्दी जेभीका प्रोजेक्ट म्यानेजर डोरमणि पौडेलका अनुसार हाल दैनिक १२ हजार लिटर डिजेल आवश्यक परिरहेको छ । तर, नेपाल आयल निगमले ४ हजार लिटर डिजेल उपलब्ध गराइरहेको छ । यसले गर्दा आधार भन्दा बढी उपकरण थन्किएका छन् । यस्तै पश्चिम खण्डमा असार मसान्त अगाडिनै बेस तयार भई सडक कालोपत्रे हुने १५ किमी सडकका लागि ५ हजार टन अलकत्रा आवश्यक परेको छ । निर्माण कम्पनीले एलसी खोलिसकेको छ । तर,आवश्यक परिमाणको सामान आएको छैन् । अझ बिगतको तुलनामा दोब्बर मुल्य वृद्धि भएकोले निर्माण ब्यावसायीहरू योजना कसरी सम्पन्न गर्ने भन्ने चिन्तामा छन् ।
साना निर्माण ब्यावसायीहरू अझ सङ्कटमा परेका छन् । बहुवर्षीय आयोजनाले अर्को वर्ष मुल्य घट्न सक्ने सम्भावना कुर्न सक्छन् । तर,असार मसान्त अघि काम सकेर भुक्तानी लिनुपर्नेहरूलाई झनै ठूलो समस्या भएको छ । आभास कन्ट्रक्सन कानेपोखरी – ५ मोरङका सञ्चालक भोजकुमार श्रेष्ठले भन्नुभयो –‘सडक ठेक्का लिँदा अलकत्राको मुल्य प्रति केजी भ्याट सहित ९६ रुपियाँ थियो । हाल १६५ रुपियाँ पुगेको छ । यस्तै डिजेलको मूल्य प्रति लिटर २२२ रुपियाँ पुगेको छ । जतिबेला ठेक्का स्वीकृति भएको थियो , त्यो बेला १३७ रुपियाँ थियो । श्रेष्ठले अलकत्राको मुल्य ७१ प्रतिशतले र डिजेलको मुल्य ६२ प्रतिशत वृद्धि भएको बताउनु भयो । १५ दिन अघि मुल्य समायोजन भएर ६२ प्रतिशत भएको हो । यस अघि ७२÷७३ प्रतिशत कै हाराहारीमा मुल्य वृद्धि भएको थियो । साना आयोजनामा बैकल्पिक मार्ग हुँदैनन । १५ दिन अघि बेस लगाएर छोडेको बाटो अहिले कालोपत्रे गर्न नमिल्ने अवस्थामा बिग्रिसकेको छ । अझ बेमौसमी मनसुनले सडक स्तरोन्नति क्षेत्रमा ठूलो असर पारेको श्रेष्ठले बताउनु भयो ।
विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी विमलकुमार साहका अनुसार विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको बैशाख २६ गतेसम्म १८ करोड ३१ लाख ६६ हजार ८४९ किलो अर्थात (१ लाख ८३ हजार १६६.८४९ टन) अलकत्रा आयात भएको देखिन्छ । गत आवको यही अवधिमा २८ करोड ८५ लाख ५ हजार ७२६ किलो अर्थात (२ लाख ८७ हजार ५०५.७२६ टन) अलकत्रा आयात भएको थियो । अकलत्र आयात हुने मुख्य समयमा नै गत आवको भन्दा चालु आवमा १० करोड ४३ लाख ८८ हजार ८७७ किलो कम अलकत्रा आयात भएको छ । आयात खुम्चिदा राजश्वमा मात्र होइन । समग्र विकास मा नै असर परिरहेको प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताउनु भयो ।



Share via
Send this to a friend