Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं । भोलिदेखि सुरु हुने फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाल सरकारले अनधिकृत रूपमा खेलको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्न सक्ने ३८ वटा वेबसाइट तथा मोबाइल एपमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ।

नेपालमा फिफा विश्वकप २०२६ को टेलिभिजन तथा डिजिटल प्रसारण अधिकार Spro Media Pvt. Ltd. ले सिधै फिफाबाट प्राप्त गरेको छ। कम्पनीले करिब १७ लाख ७५ हजार अमेरिकी डलर (झण्डै २७ करोड २५ लाख रुपैयाँ) मा प्रसारण अधिकार खरिद गरेको जनाएको छ। उत्पादन तथा सञ्चालन खर्चसहित कुल लगानी करिब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

विश्वकपका खेलहरू नेपालमा विशेष रूपमा हिमालय स्पोर्ट्स टेलिभिजन च्यानलमार्फत प्रसारण हुनेछन् भने डिजिटल माध्यमबाट DGO App मा हेर्न सकिनेछ।

दर्शकहरूका लागि टेलिभिजन सदस्यता शुल्क ९९९ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, डिजिटल स्ट्रिमिङका लागि एक डिभाइसमा ५४९ रुपैयाँ र दुई डिभाइसमा ९९९ रुपैयाँ शुल्क तोकिएको छ।

अधिकार सम्झौताअनुसार नेपालभित्र कुनै पनि विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ सेवाले विश्वकपका खेलहरू प्रसारण गर्न पाउने छैनन्। यसै कारण अवैध रूपमा निःशुल्क खेल देखाउन सक्ने वेबसाइट तथा एपहरू बन्द गर्न सरकार र सम्बन्धित निकाय सक्रिय भएका छन्।

अधिकारीहरूका अनुसार पाइरेसी नियन्त्रण गर्नु बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका साथै आधिकारिक प्रसारणकर्ताको लगानी सुरक्षित गर्न आवश्यक कदम हो।



Share via
Send this to a friend