Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 

भद्रपुर/ प्रदेश अस्पताल भद्रपुरमा कोशी प्रदेशकै पहिलो ISO प्रमाणित प्रयोगशाला (Laboratory) तथा अप्टिकल सेवा केन्द्र (Optical Service Center) सञ्चालनमा आएको छ। अस्पताल परिसरमा आयोजित एक समारोहबीच कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उक्त सेवाहरूको उद्घाटन गर्नुभएको हो।
कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री लिम्बूले प्रदेश अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा आधुनिक सेवाको विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले नयाँ सेवाहरूले झापा तथा आसपासका जिल्लाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि प्रयोगशालाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। ISO प्रमाणीकरण प्राप्त प्रयोगशालाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण सेवा प्रदान गर्ने भएकाले रोगको सही पहिचान, समयमै उपचार तथा सेवाप्रति नागरिकको विश्वास बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
अस्पताल परिसरमै सञ्चालनमा ल्याइएको अप्टिकल सेवा केन्द्रले आँखासम्बन्धी समस्या भएका बिरामीलाई सहज, सुलभ तथा गुणस्तरीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। यस केन्द्रमार्फत बिरामीहरूले आवश्यक चस्मा तथा दृष्टि सुधारसम्बन्धी सेवा एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्। यसले बिरामीको समय, खर्च र झन्झट कम गर्नुका साथै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने जनाइएको छ।
कोशी प्रदेश सरकारले “गुणस्तरीय स्वास्थ्य सेवा, सबै नागरिकको पहुँचमा” भन्ने उद्देश्यका साथ स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, आधुनिक उपकरण व्यवस्थापन, दक्ष जनशक्ति विकास तथा सेवाको विस्तारमा निरन्तर लगानी गर्दै आएको छ।
प्रदेश अस्पताल भद्रपुरले पछिल्ला वर्षहरूमा सेवा विस्तार, पूर्वाधार विकास र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। ISO प्रमाणित प्रयोगशालाको स्थापना र अप्टिकल सेवा केन्द्रको सञ्चालनलाई अस्पतालको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।



Share via
Send this to a friend