Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
लेटाङ । ताप्लेजङ र पाँचथरबाट इलाम र झापा नटेकी प्रदेश राजधानी विराटनगर आउन सकिने गरी कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको धनकुटाको ६ नम्बर बुधबारे देखि लेटाङसम्मको सडक निर्माणको काम २०८३ को बैशाख २८ गते सक्ने गरी निर्माण सम्झौता भएको थियो । तर, महिना दिन भन्दा कम समय बाँकी रहँदा पनि सडक निर्माणको आधा काम पनि भएको छैन् ।
ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेश राजधानीसँग जोड्ने छोटो सडकका रुपमा यो सडकको निर्माण थालिएको हो । २९ दशमलव ६० किलोमिटर लम्बाईको यो सडक कोशी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री केदार कार्कीले २०८० मङ्सिर २२ गते शिलान्यास गर्नु भएको थियो । राँके रवि र भेडेटार नभई सिंधै फिदिमबाट धनकुटाको चौविसे हुँदै मोरङको लेटाङ कानेपोखरी सडकसँग जोडिने यो सडक मेची राजमार्गबाट विराटनगर पुग्न भन्दा आधा छोटो छ ।
कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय मोरङले ८७ करोड ३ लाख ५३ हजार २७ रुपियाँमा ठेक्का लगाएको सडक २०८३ को बैशाख २८ गते निर्माण सम्पन्न गर्ने गरी सन्तोषी –जोया एण्ड ब्रदर्स जेभीले निर्माण गरिरहेको छ । पूर्वाधार विकास कार्यालय मोरङ सिनियर डिभिजनल इन्जिनीयर खरानन्द इसरका अनुसार लेटाङ–८ को याङसिलासम्म साडे ६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी ६ किलोमिटर सडक कालोपत्रेको अन्तिम चरणमा रहेको छ । इसरले भन्नुभयो – हालसम्म ४४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माण कम्पनीले हाल थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी अवस्थामा राखेको छ । तर, अलकत्रको अभाव र ईन्धनको मूल्य वुद्धिले निर्माणको काममा असर परेको कार्यालय प्रमुख इसरले बताउनु भयो । कार्यालय प्रमुख इसरले हालसम्म ३२ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो । उहाँले बैशाखमा म्याद सकिने भएकोले म्याद थपका लागि निवेदन आएको बताउँदै पछिल्लो समय २५÷३० जना कामदार र उपकरण सहित सडकको चौडाई बढाउने काम भइरहेको उल्लेख गर्नुभयो । ढिलो काम सुरु गरेको तथा निर्माण कम्पनीले कामलाई प्राथमिकतामा नराखेका कारण निर्माण सुस्त भएको इन्जिनीयर इसरको भनाई छ ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले कालेबुदुलि(कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्वा–लिम्बा) सडक कोशी प्रदेशको हिमाली जिल्लासँग तराईलाई जोड्ने छोटो सडक मार्ग भएको बताउनु भयो । सडक मार्ग छोटो भएपछि इन्धन खर्च मात्र बचेन । समय पनि बच्छ । तराईको खाद्यान्न पहाड लिएर जाने र पहाडबाट तरकारी, फलफूल,जडिबुटी लिएर आउन पनि सहज हुने नगर प्रमुख लावतीले बताउनु भयो ।
२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले पहिलो धनकुटाको ६ नं.बुधबारेमा ट्रयाक खोल्नका लागि सडक शिलान्यास गर्नु भएको थियो । त्यसयता उक्त सडक कालोपत्रे गर्नका लागि धेरै पटक पहल भएपनि सडक निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।
सडक बन्न थालेपछि मोरङको पहाडी गाउँका बासिन्दा खुसीले गदगद भएका छन् । लेटाङ–८ याङ्सिलाका कृष्णबहादुर राईले भन्नुभयो – नाम्लो लगाएर अम्लिसो,तेजपात, आलु, आलुवखडा, नासपति लेटाङ पु¥याएको हिजो अस्ति जस्तो लाग्छ । घर अगाडिको सडक कालोपत्रे बनेको सपना झैं लाग्छ, अहिले –उहाँले भन्नुभयो ।



Share via
Send this to a friend