Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
सिंहदेवी(मोरङ) । मोरङ जिल्ला भन्नासाथ आम नेपालीको मनमा समथर भूभाग, धान फल्ने फराकिला खेत र फाँटिलो तराईको तस्वीर उभिन्छ । तर त्यही मोरङको उत्तरी भेगमा यस्ता गाउँ पनि छन्, जहाँ अझै सहज सडक, स्वास्थ्य,शिक्षा र सुरक्षाको पहुँच पुग्न सकेको छैन । धेरैलाई पत्यार नलाग्न सक्छ ।सुगम जिल्लाका केही गाउँमा वर्षको आधा समय मात्र सडक चल्छ । तर यही अभाव र कठिनाइबीच आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ, उत्तरी मोरङको जेफाले ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेमा सामुदायिक होमस्टे सञ्चालनमा छ । सुविधा सम्पन्न नौ वटा घर तयार छन्, पर्यटकलाई बस्न, खान र स्थानीय संस्कृतिसँग परिचित गराउन आवश्यक पूर्वाधार पनि बनाइएको छ । तर सहज सडक र सुरक्षा व्यवस्थाको अभावले यति सम्भावनायुक्त गन्तव्य अझै ओझेलमै परेको छ ।
धनकुटाको भेडेटार र नाम्जेलाई समेत बिर्साउने प्राकृतिक सौन्दर्य बोकेको जेफाले अहिले पूर्वकै रोजाइको पर्यटकीय गन्तव्य बन्न थालेको छ । यहाँ निर्माण गरिएको भ्यू टावरबाट साविक पूर्वाञ्चलका १६ वटै जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला सगरमाथा, कञ्चनजंघा र मकालु हिमालका सेता शृंखला स्पष्ट देखिन्छन् । तलतिर तराईका फाँट, गाउँ र शहरका मनोरम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछन् । समुद्री सतहबाट एक हजार नौ सय ७० मिटर उचाइमा रहेको भ्यू टावरबाट सूर्योदय र सूर्यास्तको दृश्य अझ आकर्षक देखिन्छ ।
तत्कालीन जिल्ला विकास समिति मोरङको ३६ लाख ५० हजार, धनकुटा जिविसको ५ लाख, विराट पर्यटन केन्द्र काँकडभिट्टाको २१ लाख तथा स्थानीयको करिब ८ लाख बराबरको जनश्रमदानसहित झण्डै ७० लाख रुपैयाँ लागतमा भ्यू टावर निर्माण गरिएको हो । सिंहदेवीको बिहीबारे बजारबाट करिब तीन सय मिटर उत्तरतर्फ पुगेर एक हजार ४९ वटा सिँढी चढेपछि भ्यू टावर पुगिन्छ ।
जेफाले पर्यटन विकास समितिका सचिव भीम ठकुरीका अनुसार भ्यू टावर बनेपछि सूर्योदय र सूर्यास्त अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको खोर्सानेबाट ३६ किलोमिटर उत्तरमा रहेको जेफाले डाँडाको मौसम आफैँमा अनौठो छ । छिनछिनमै कुहिरो लाग्ने, घाम झुल्किने अनि फेरि पानी पर्ने यहाँको स्वाभाविक दृश्य हो । बाह्रै महिना चिसो रहने मौसम नै जेफालेको मुख्य विशेषता भएको स्थानीयहरू बताउँछन् । भ्यू टावरको दक्षिण–पश्चिममा रहेको पाथिभरा देवी मन्दिरले धार्मिक पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । वरपरका जंगलमा मृग, हरिण, बँदेल, खरायो र लोखर्के जस्ता वन्यजन्तु देख्न सकिन्छ । सामुदायिक वनले शिकारमा रोक लगाएपछि यसक्षेत्रमा बन्यजन्तुको सङ्ख्या समेत बढेको छ ।
जेफालेको आकर्षण केवल हिमाल र भ्यू टावरमा सीमित छैन । शान्त वातावरण, हरियाली जंगल, डाँडाको काखमा फैलिएको जिल्लाकै एकमात्र मातृभूमि चिया बगान, अदुवा, अलैँची, अम्लिसो र तेजपातले भरिएका हरिया डाँडाले यस क्षेत्रलाई लोभलाग्दो बनाएका छन् ।
स्थानीय लिलतबहादुर लिम्बूका अनुसार तत्कालीन जिल्ला विकास समिति मोरङ र धनकुटाले सुरुआती चरणमा जेफालेको विकासमा उल्लेख्य काम गरेका थिए । त्यसपछि भने खासै प्रगति हुन सकेन । सुनसरी, मोरङ र धनकुटाको चौबिसे क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकास गर्ने उद्देश्यले यहाँ पर्यटन सूचना केन्द्रसमेत स्थापना गरिएको छ ।

जेफालेमा सञ्चालित होमस्टेमा पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार खुवाइन्छ । हुर्रा नाचमार्फत सांस्कृतिक मनोरञ्जन पनि प्रदान गरिन्छ । होमस्टे सञ्चालक उमा ठकुरीका अनुसार यहाँको प्राकृतिक सुन्दरता र वातावरणको प्रभावकारी प्रचार गर्न सकिए बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ ।
सामुदायिक होमस्टेमा एकै दिन एक सय जनासम्मलाई बस्न र खान व्यवस्था गर्न सकिने क्षमता रहेको सचिव भीम ठकुरी बताउनुहुन्छ । तर सहज मोटर बाटो र सुरक्षा व्यवस्थाको अभावले पर्यटकलाई सास्ती हुने गरेको छ । स्थानीय मनोज अधिकारी भन्नुहुन्छ, “सरकारले एउटा प्रहरी चौकी र राम्रो सडकको व्यवस्था गरिदिए जेफालेको पर्यटन आफैँ फस्टाउँथ्यो ।”राज्य पुनर्संरचनापछि सिंहदेवीको ठेगाना फेरियो, तर नियति भने फेरिन सकेन । २०७६ सालमा खोर्साने–केराबारी–सिंहदेवी सडक कालोपत्रेका लागि सरकारले ठेक्का लगायो । त्यसपछि स्थानीयवासीले गाउँमा सहज यातायात पुग्ने, पर्यटन फस्टाउने र जीवन सहज बन्ने सपना देखे । तर दुई वर्षमा सकिनुपर्ने सडक सात वर्ष बितिसक्दा पनि अधुरै छ । जोखिमपूर्ण यात्रा अझै अन्त्य भएको छैन ।
पहिले आफ्नै गाउँ विकास समितिमा पाइने सामाजिक सुरक्षा भत्ता लिन अहिले २६ किलोमिटर दक्षिणको केराबारी बजार झर्नुपर्ने बाध्यता छ । गाडी चढ्नै मन नपर्ने ज्येष्ठ नागरिकसमेत तीन महिनामा एक पटक उकालो–ओरालो गर्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
यस सडकखण्डमा सार्वजनिक यातायात चल्दैन । निजी सवारी साधनमै कोचाकोच गरेर यात्रा गर्नु स्थानीयको नियति बनेको छ । माथिबाट झर्दा अम्लिसो, अदुवा, अलैँची र तेजपातका भारीसँगै मानिसहरू गाडीमा टाँसिएर यात्रा गर्छन् । तलबाट उक्लिँदा खाद्यान्न, तेल, दाल र लत्ताकपडाका बोरामाथि बसेर गाउँ फर्किनुपर्छ । किनकि ती गाडीले यात्रु बोक्ने अनुमति पाएका हुँदैनन् ।
सबैभन्दा बढी पीडा भने ज्येष्ठ नागरिकले भोगिरहेका छन् । उकालो–ओरालोको कठिन यात्रा, धुलाम्मे सडक, भीडभाडयुक्त गाडी र जोखिमपूर्ण यात्रा उनीहरूको दैनिकी बनेको छ । विकासको आशामा वर्षौँ बिते, तर सिंहदेवी र जेफालेका बासिन्दाको जीवनमा सहजताको घाम अझै झुल्किन सकेको छैन ।



Share via
Send this to a friend