Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण सुरु गरेको सपिङ कम्प्लेक्स अन्तिम पटक थप भएको समयमा पनि निर्माण सम्पन्न नहुने भएको छ । सम्झौता अनुसार यो भवन २०७९ भदौ २७ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर अन्तिम पटक थपिएको म्याद सकिन एक महिना भन्दा कम समय बाँकी हुँदा सम्म ६० प्रतिशत भौतिक तथा ५७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
नगरपालिकाको दीगो आर्थिक स्रोत निर्माण गर्ने महत्वकांक्षी योजनाका रुपमा नगरपालिकाले २०७६ सालमा बेलबारी–१ मा सपिङ कम्प्लेक्स निर्माणको डिपीआर बनाएको थियो । अण्डरग्राउण्ड पार्किङसहित पाँच तले भवनमा ३३ वटा व्यावसायिक कोठा, दुईवटा लिफ्ट, एउटा एस्केलेटर(विद्युतीय सिढी) तथा सबैभन्दा माथिल्लो तलामा अत्याधुनिक सभाहल निर्माण गर्ने लक्ष्य राखिएको थियो । नगरपालिकाले कम्प्लेक्स सञ्चालनमा आएपछि मासिक करिब २७ लाख रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरेको थियो । नगरपालिकाका प्रशासन प्रमुख सुशील खड्काका अनुसार निर्माण कम्पनी रविना/अविशा/अभियान जेभी र नगरपालिकाबीच २०७७ फागुन २८ गते निर्माण सम्झौता भएको थियो ।
प्रशासन प्रमुख खड्काले ११ करोड ९९ लाख ८५ हजार ७१४ रुपियाँ १० पैसाको लागतमा निर्माण सुरु गरिएको यो परियोजनाको अन्तिम पटक थप गरिएको म्याद २०८३ असार १५ गते सकिने जानकारी दिनुभयो । नगर विकास कोषको ७० प्रतिशत ऋण तथा नगरपालिकाको ३० प्रतिशत आन्तरिक स्रोत परिचालनबाट निर्माण सुरु गरेको सपिङ कम्प्लेक्स समयमा निर्माण नहुँदा नगरपालिकाको ऋण दायित्व बढ्दै गएको छ ।
६६५.५ वर्गफिट क्षेत्रफलमा निर्माण भइरहेको यो परियोजना नगरको दीर्घकालीन आम्दानीको जगका रुपमा हेरिएको थियो । तर निर्माण कार्यमा भएको ढिलाइका कारण अपेक्षित लाभ प्राप्त हुन सकेको स्थानीयको भनाई छ । समयमै सम्पन्न हुने आशामा रहेका नगरवासीका लागि यो महत्वाकांक्षी आयोजना अझै पनि सपना जस्तै बनिरहेको छ । स्थानीय किशोर भण्डारीले भन्नुभयो –‘ नगरपालिकाले यस्ता ठूला योजना सञ्चालन गर्दा उपयोग गर्न सकिन्छ, सकिन्न । अध्ययन नगरिकन लगानी गरेको देखिन्छ। ’परम्परागत सोमबारे हाट बिस्थापित गरेर कम्प्लेक्स बनाउन थालियो ।तर,घरधनीका सस्ता सटर नै भाडा नलागिरहेको बेला नगरपालिकाको सपिङ कम्प्लेक्सका महँगा कोठामा ब्यापार गर्न को आउँला ? प्रश्न उठेको छ ।भण्डारीले नबन्दा सम्म बनेन भन्ने चिन्ता र बनेपछि भाडा नलाग्ला भन्ने चिन्ता हुने बताउनु भयो ।
नगरप्रमुख दिलप्रसाद राईले निर्माण ब्यावसायीको लापर्वाहीका कारण समयमा योजना सम्पन्न हुन नसकेको बताउनु भयो । अन्तिम पटक भनेर थप गरेको म्याद सकिन महिना दिन भन्दा कम समय रहेकोले अब म्याद थप्दा जरिवाना गरेर मात्र थपिने जानकारी दिनुभयो । उहाँले नगरको गौरवको आयोजना समयमा सक्ने विषयमा नगरपालिका गम्भीर रहेको बताउनु भयो । हामीले काम गरेको भुक्तानी रोकेका छैनौं । निर्माण कम्पनीले नै काम नगरेपछि समस्या भएको नगरप्रमुख राईको भनाई छ ।
निर्माण कम्पनीका साइट इन्जिीनियर रोशन देवले सिभिलको काम सकिएको र अब लिफ्‌ट, एस्केलेटर, विजुली,ग्रेनाइट लगायतका प्राविधिक काम मात्र बाँकी रहेको बताउनु भयो । उहाँले तीन वटा कम्पनीको साझेदारीमा भएकोले आन्तरिक समस्याले एक वर्ष काम रोकिएको जानकारी दिनुभयो । स्रोत सुनिश्चित भएपनि समयमा भुक्तानी नहुँदा समयमा आयोजना सम्पन्न गर्न गाह्रो भएको इन्जिीनियर देवको भनाई छ ।



Share via
Send this to a friend