Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौँ । चार वर्षअघिको कतार विश्वकपलाई मेसीकै विश्वकप फुटबल प्रतियोगिताका रूपमा सम्झना गरिने छ । उपाधि यात्रामा मेसीको प्रदर्शन चमत्कारी नै थियो । उहाँले कतार विश्वकपमा सात गोल गर्नुभयो । तीन गोलमा सहयोगीको भूमिका निर्वाह गर्नुभयो । फाइनलमा मात्र उहाँले दुई गोल गर्नुभयो । एउटै विश्वकपको सबै नकआउट चरणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बन्नुभयो । यसबाट पनि थाहा हुन्छ, अर्जेन्टिनालाई च्याम्पियन बनाउन मेसीको योगदान तर अहिले प्रश्न छ, मेसीको अर्जेन्टिनाले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकपको उपाधि रक्षा गर्ला ?

सन् १९७८, १९८६ र २०२२ को विश्वकप विजेता तथा सन् १९३०, १९९० मा उपविजेता अर्जेन्टिना छ दशकपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा रहेको छ । सन् १९३४ र १९३८ मा इटाली र सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप उपाधि जितेपछि कुनै पनि राष्ट्रले विश्वकप उपाधि रक्षा गर्न सकेको छैन । अर्जेन्टिनाले लगातार विश्वकप जितेमा यो उपलब्धि हासिल गर्ने तेस्रो राष्ट्र त बन्ने नै छ, विश्वका दुई महान् फुटबलर पेले तथा डिएगो म्याराडोनाको स्थानमा मेसी पुग्ने छ, भन्दा फरक पर्दैन ।

अर्जेन्टिना सहज समूहमा पनि परेको छ । अर्जेन्टिना रहेको समूह ‘जे’ मा लामो समयपछि विश्वकपमा पुनरागमन जनाएका अल्जेरिया र अस्ट्रिया तथा नवप्रवेशी जोर्डन छन् । तीन पटकको विजेता तथा फिफा वरीयतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले जुन १६ मा अल्जेरियासँग खेलेर विश्वकप उपाधि रक्षा अभियानको सुरुवात गर्ने छ । त्यसपछि उसले अस्ट्रिया र जोर्डनको सामना गर्ने छ । अर्जेन्टिनाले यसपालि सजिलै समूह चरण पार गर्ने अपेक्षा गरिएको छ । अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन हो । अर्जेन्टिना सानदार लयमा पनि छ । दक्षिण अमेरिकी समूहमा शीर्ष स्थान हासिल गरी अर्जेन्टिनाले १५ महिनाअघि नै विश्वकपमा स्थान बनाएको थियो । ब्राजिललाई हराउँदै अर्जेन्टिना विश्वकपमा चयन हुँदा मेसीले भने चोटका कारण खेल्नुभएको थिएन ।

धेरैको विश्वास छ, अर्जेन्टिनाले मेसीको प्रदर्शनले गत विश्वकप जितेको हो । टिम भावना र रणनीतिक सन्तुलनमा खेले पनि धेरै हदसम्म अर्जेन्टिनाको टिममा मेसीको सो प्रभाव सही पनि थियो । यस विश्वकपमा भने अर्जेन्टिनालाई कतारमा जस्तै पूर्ण रूपमा मेसीमा निर्भर हुने छुट छैन किनभने मेसी पछिल्लो विश्वकपमा जस्तो लयमा हुनुहुन्न । ३८ वर्षका मेसीलाई उमेरले पनि साथ दिने छैन । अझ विश्वकप अगाडि बेहोरेको मांशपेसीको चोटका कारण मेसीले विगतमा जस्तो प्रदर्शन गर्छ भन्ने सोच्नु पनि जायज हुँदैन । प्रशिक्षक लियोनेल स्कालोनीले पनि मेसीले चार वर्षअघिको विश्वकपमा जस्तो तीव्रताका साथ खेल्न सक्षम नहुन सक्छ भन्दै अर्जेन्टिना यस परिस्थितिका लागि तयार हुनु आवश्यक छ, भन्नुभएको छ ।

स्कालोनीले अग्रपङ्क्तिमा चार वर्षअघिकै अग्रपङ्क्तिलाई भरोसा गर्नुभएको छ । मेसीका साथै लाउटारो मार्टिनेज र जुलियन अल्भारोज यस विश्वकपको सबभन्दा खतरनाक अग्रपङ्क्तिमध्ये एक हो । अल्भारेज अझ पूर्ण स्ट्राइकर बन्नुभएको छ । स्ट्राइकर लाउटारो भने खराब लयबाट गुज्रिरहनुभएको छ तर विश्वस्तरीय लाउटारो कुनै पनि बेला लयमा फर्कन सक्ने फरवार्ड हुनुहुन्छ । फिट भएर पहिलो रोजाइमा परेमा प्लेमेकर मेसी मिडफिल्डलाई चलाउने जिम्मेवारी हुने छ । नभए रोड्रिगो डी पल, इन्जो फर्नान्डेज र एलेक्सिस म्याक अलिस्टरले यो भूमिका निर्वाह गर्नुपर्ने छ । म्याक एलिस्टरले लिभरपुलमा उल्लेखनीय प्रगति गर्नुभएको छ । चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज आफ्नो खेल जीवनको शिखरमा हुनुहुन्छ । फर्नान्डेज पछिल्लो विश्वकपमा सर्वश्रेष्ठ युवा खेलाडी घोषित हुनुभएको थियो । अर्जेन्टिनाले विश्वकपका साथै पछिल्ला दुई कोपा अमेरिकाको उपाधि जित्दा मेसीसँगै प्लेमेकर एन्जेल डी मारियाको महत्वपूर्ण भूमिका रहेको थियो । अहिले डी मारिया अनुपस्थितिमा अर्जेन्टिनालाई पक्कै उहाँको अनुपस्थिति खड्किने छ । एलिस्टर, फर्नान्डेज र रोड्रिगोसमक्ष डी मारियाले छोडेको खाडल भर्ने अवसर छ ।

अर्जेन्टिनाका गोलरक्षक इमिलियो मार्टिनेज अहिले पनि विश्वका सर्वश्रेष्ठ गोलरक्षकमध्ये एक हुनुहुन्छ । उहाँले पनि पछिल्लो संस्करणमा गोल्डेन ग्लोभ्स जित्नुभएको थियो । मार्टिनेजको अगाडि रहने डिफेन्डसमा क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिजान्ड्रो मार्टिनेज र नाहुएल मोलिनाको अनुभव छ । यद्यपि अर्जेन्टिनाका डिफेन्डरको क्लबबाट हालको प्रदर्शन सन्तोषजनक छैन । रोमेरो विश्वका शीर्ष सेन्ट्रल डिफेन्डरमध्ये एक हुनुहुन्छ तर उहाँ अहिले घुँडाको चोटले पूर्ण रूपमा दुरुस्त हुनुहुन्न । गोलरक्षक मार्टिनेजले पनि गत हप्ता युरोपा लिग फाइनलमा एस्टन भिल्लालाई उपाधि दिलाउँदा औँलामा चोट बेहोर्नुभएको थियो । वास्तवमा स्कोलानीकोे चयनमा केही प्रश्न भए पनि उहाँको टिममा गहिराइ छ । त्यसैले अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा गरेमा कसैलाई आश्चर्य हुने छैन ।  गाेपबाट साभार



Share via
Send this to a friend