झापा ।झापाको जयपुरकी ४३ वर्षीया बालकुमारीका लागि जीवन बचाउने आशा बोकेको एउटा एम्बुलेन्स विराटनगरतर्फ दौडिरहेको थियो। एम्बुलेन्सभित्र पीडाले थलिएकी बालकुमारी हुनुहुन्थ्यो। उहाँसँगै हुनुहुन्थ्यो। कुसुम ओलीमार्फत उहाँको अवस्थाबारे जानकारी पाएपछि अस्पतालसम्म पुर्याउने जिम्मा लिनुभएकी जेन्जी आन्दोलनबाट चर्चामा आएकी किशोरी कार्की।
आर्थिक अवस्था निकै कमजोर भएका कारण मिर्गौलाको गम्भीर समस्यासँग जुधिरहनुभएकी बालकुमारीका लागि अस्पतालसम्म पुग्नु नै ठूलो चुनौती थियो। उपचार त परको कुरा, दैनिक औषधिको खर्च जुटाउनसमेत उहाँको परिवारलाई कठिन भइरहेको थियो। तर त्यस दिन अस्पतालको ढोकासम्म पुगेसँगै उहाँको जीवनमा आशाको एउटा नयाँ किरण देखापर्यो।
नोबेल अस्पताल पुगेपछि अर्को सुखद खबर पनि आयो। नेपाली कांग्रेसका नेता तथा माेरङ ३ का निवर्तमान सांसद समाजसेवी सुनीलकुमार शर्माले बालकुमारीको उपचार निःशुल्क गरिदिने घोषणा गर्नुभयो। आवश्यक सबै प्रक्रिया पूरा गरेर मिर्गौला प्रत्यारोपणसमेत निःशुल्क गराइदिने उहाँको प्रतिबद्धताले निराश बनेको परिवारमा फेरि बाँच्ने विश्वास जागेको छ।
मिर्गौलाको उपचार लामो, जटिल र अत्यन्त खर्चिलो हुन्छ। नियमित परीक्षण, औषधि, डायलाइसिसदेखि प्रत्यारोपणसम्मको यात्रा आर्थिक रूपमा कमजोर परिवारका लागि लगभग असम्भवजस्तै हुन्छ। बालकुमारीको परिवार पनि त्यही पीडाबाट गुज्रिरहेको थियो। उपचार आवश्यक थियो, तर पैसा थिएन। यही कठिन घडीमा सुनील शर्माको सहयोग उहाँहरूको जीवनमा ठूलो सहारा बनेर आयो।
कहिलेकाहीँ एउटा सहयोगले केवल उपचारको खर्च मात्रै होइन, एउटा परिवारको आशा पनि बचाइदिन्छ। बालकुमारीको जीवनमा अहिले त्यस्तै दुईवटा प्रेरणादायी हात जोडिएका छन्—एउटा हातले उहाँलाई अस्पतालसम्म पुर्यायो, अर्को हातले उहाँको उपचारको सम्पूर्ण जिम्मेवारी लियो।
अहिले नोबेल अस्पतालमा उपचार प्रक्रिया अघि बढिरहेको छ। बालकुमारीका आँखामा फेरि स्वस्थ भएर आफ्नै घर फर्किने सपना झल्किन थालेको छ। मानवता अझै जीवित छ भन्ने सन्देश दिने यो सहयोगले धेरैलाई प्रेरणा दिएको छ। आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने भावनासहित अघि बढेको यो कदमले एउटी महिलालाई मात्रै होइन, एउटा परिवारलाई नै नयाँ जीवन र नयाँ आशा दिएको छ।







