असार २०गते बिहान योगशाला सकेर फर्कंदै गर्दा पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले पर्शुजीको स्वास्थ्य अवस्थाबारे तपाई के–कति जानकार हुनुहुन्छ भनेर मलाई सोध्नुभयो । थाहा थिएन मलाई । जस्ताकोतस्तै उत्तर दिएँ– थाहा भएन त ! अलिअलि कुराकानी भयो । योगगुरु मदन गुरागाइँ पनि यो त अचम्म भयो भन्दै हुनुहुन्थ्यो ।
असार २१ बेलुकापख उपलब्ध पत्रकार मित्र रामकुमार परियारको स्टाटसले मलाई झसङ्ग बनायो । तथापि, यसलाई सामान्य झैँ ठाने । नजिकै रहनुहुने केही साथीहरूलाई सोधेँ– भोलि बिहानै काठमाण्डौँ लैजाने तयारी छ । शुभेच्छा राखौँ– राम्रो होला भन्नुभयो । हिजो भनिएको भोलि बिहान अर्थात् आज असार २२ गते बिहान खबर सुन्नासाथ खुलेको उज्यालो पनि एकाएक अँध्यारो भए झैँ भयो ।
पालिकाको वडा नं. ९, शनिश्चरे चौकबजार निवासी अग्रज आदरणीय दाजु पर्शुराम कार्कीलाई उसै त अलिक पहिल्यैदेखि नै मज्जासँग चिन्दथेँ, जान्दथेँ । पछिल्लो दशकयता अलिराम्रो चिनजान, गफगाफ, संवाद, बिचार आदानप्रदान, भावना साटासाट हुन थालेको थियो । सामुदायिक विद्यालय शिक्षा सुधारको अभियानअन्तर्गत सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको भूमिकामा जोडिएपछि हाम्रो भेटघाट, कुराकानी र बिचारभाव आदानप्रदान अलिक खँदिलो हुँदै गएको थियो ।
फरासिलो स्वभावको उहाँ कहिलेकाहिँ भन्ने गर्नुहुन्थ्यो– युवराजजी, तपाइँ र मेरो राजनीतिक आस्थाको रंग मिल्दैन, झण्डाको अनुहार मिल्दैन, झण्डा बोकेर हिँडेका दिन देखिएको सक्रियता र क्रियाशीलता मिल्दैन, पार्टी संगठनात्मक स्वरूप मिल्दैन तर समाज व्यवस्थापनको अन्तर्य, सामुदायिक सरोकारका विषयवस्तुमाथिको प्रस्टोक्ति र सामुदायिक विद्यालय सुधारको अभियान मिलेको छ । निर्धक्कसँग अघि बढ्नुहोस्– साथ, सहयोग र शुभेच्छा रहने छ भनेर ढाडस दिनुहुन्थ्यो ।
सामुदायिक विद्यालय सुधारका मामिलामा हामी नजिकै थियौँ, हलमा नारिएका गोरु झैँ भएर जोतिएका थियौँ, अर्थात् सधैँभरि सँगसँगै थियौँ । उहाँ वडा नं. ४ स्थित श्री भागीरथ माविको विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष र म श्री पञ्चायत माविको । समुदायले आफ्नो उत्तराधिकारीका लागि घरपायक पढ्न बनाइदिएका विद्यालय खस्कने क्रममा छन्, कसरी उठाउने होला ! कसरी सुधार्ने होला ! गम्भीर चासो र चिन्ता लिँदै विद्यालय सुधार्न गरिएका प्रयत्नबारे अन्तरंग छलफल गर्ने गर्दथियौँ । उहाँ उमेरले, योगदानले र भूमिकाले मभन्दा पाको भए पनि मलाई अघि सार्न रुचाउने गर्नुहुन्थ्यो । मप्रति सहानुभूति र ढाडस राख्नुहुन्थ्यो ।
तपाई त लामो लामो लेख्न सक्नुहुन्छ, आफ्नो त्यो लेखनकला पनि छैन । फेरि सामाजिक सञ्जालमा के दोहोरी खेल्ने ! बरु भेटघाट गरौँ र उठेका सरोकारिता विषयउपर विमर्श गरौँ भनेर भनिरहनुहुन्थ्यो । शिक्षाबाहेक नगरकार्यपालिकाको कार्यालय स्थानान्तरण गर्ने, भवन निर्माणको निमित्त उपयुक्त ठाउँमा कार्यालय निर्माण आदि विषयमाथि उहाँसँग हुने संवाद निकै रोचक हुन्थ्यो । कतिपय औपचारिक कार्यक्रममार्फत नै युवराजजीले प्रस्तुत गर्नुभएका बिचारमा मेरो कुनै विमति छैन र रहँदैन पनि । यद्यपि, यति चाहिँ थप्दा अझ केही राम्रो हुन्थ्यो कि भन्नुहुन्थ्यो ।
मसँग जीवनमा बिर्सन नसकिने दुईवटा घटना छन् । एउटा अभियोजनको घटनामा उहाँ यस्तो मानिस हुँदै होइन भनेर निर्भीक बनेर अडिनुभयो । अर्कोपटक मेराविरुद्ध हस्ताक्षर अभियान चल्यो । किन चल्यो ? कसरी चल्यो ? कसले चलायो ? कसरी चलाइयो ? म अनुत्तरित थिएँ । न जवाफ नादान थिएँ । उहाँले केही गफगाफ छ, शनिश्चरेतिर झर्नुहोस् न भनेर बोलाउनुभयो । समय मिलाएर म गएँ । पसलमा हुनुहुन्थ्यो । शिष्टाचार आदानप्रदानसँगै गफिँदैगफिँदै विद्यालय मैदानभित्र गयौँ । उहाँले मेरो अनुहार र हाउभाउलाई एक टकले नियालेर अध्ययन गर्नुभएको थियो रहेछ । केही रहस्योद्घाटन गर्दै भन्नुभयो– म झस्किएँ, मैले कुरा बुझेँ ।उहाँ मेरो विपत्तिको भरपर्दो साहस र ढाडस दिने व्यक्ति हुनुहुन्थ्यो । विगत र आगतप्रति नजिकैबाट शुभेच्छा राख्नुहुने अभिभावक हुनुहुन्थ्यो ।
मान्छेको जीवनमा कसलाई कतिखेर के हुन्छ भन्न, सोच्न र कल्पना गर्न सकिँदैन रहेछ । धन, बल, रूप र शक्तिले पनि काम गर्दैन रहेछ । जीवनमा आउने सुख, दुःख, अवसर, चुनौति आदिका पहाडलाई धैर्यता र हिम्मतका साथ स्विकार्नुपर्दो रहेछ । आज बिहान त्यो क्षण आइलाग्यो, जुन कुनै एक मनमा पनि सोचिएको थिएन ।मैले सहजै जान्दा र अन्तरमनले मान्दा– उहाँ नेपाली काँग्रेससम्बद्ध केवल एकजना सिद्धहस्त राजनीतिककर्मी मात्र हुनुहुन्नथ्यो, उहाँ समाजमा ज्वाला बनेर समुदायको चेतना जगाउने एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । लोकतन्त्रप्रतिको अटल आस्था, सामाजिक उत्तरदायित्वको गहिरो भावना र शिक्षाप्रतिको समर्पणले उहाँलाई समाजका लागि विशिष्ट बनाएको थियो । पथरी शनिश्चरे नगरपालिकाले निष्ठावान राजनीतिक कार्यकर्ताका अतिरिक्त सामाजिक र शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्व गुमाएको छ ।दिवंगत दाजु पथरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, नेपाली काँग्रेसको पूर्वमहाधिवेशन प्रतिनिधि, नगर विकास समिति पथरी शनिश्चरेका पूर्वअध्यक्ष तथा श्री भागीरथ माध्यमिक विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्थ्यो । समाज र राजनीतिमा उहाँले गरेको योगदानको प्रतिफलस्वरूप पर्शु दाजुले बनाउनुभएको समाज र कमाउनुभएको आफ्नाआफन्तजनको घुँइचो घरदेखि घाटसम्म लामबद्ध देखिन्थ्यो, भेटिन्थ्यो ।
अन्तिम दर्शनका लागि घरदेखि घाटसम्म आउने मानिसका आँखा रसाएका थिए । पुछिँदै गरेका आँखाले बोलाउन खोजिरहेका थिएँ । ‘भोलि यो चोकबजारमा हामीलाई सोध्ने अब को होला ?’, ‘प्रत्येकका साह्रागाह्रामा नजिकैबाट काँध थापेर उभिने अब को होला ?’ ‘भगवानलाई पनि राम्रो मात्र चाहिने’, ‘दशकौँसम्म बाँच्नुपर्ने मानिस, कालले पनि कति चाँडो लगेको’ ‘यत्रो उपचारपछि पनि यस्तो हविगत, वैरीका आँखा गाडिएपछि केही नलाग्दो रहेछ’ मलाम जानेका भावहरू एकापसमा उत्रिएका हुन्थ्ये, आलापविलापसहित पोखिएका हुन्थे ।
वास्वतमा उहाँले शिक्षा केवल विद्यालयको सीमाभित्रको विषय होइन, समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम हो भन्ने विश्वासका साथ सामुदायिक विद्यालयको विकास, शैक्षिक पहुँचको विस्तार, गुणस्तरीय शिक्षाको पैरवी र जनसहभागितामूलक शैक्षिक अभियानमा निरन्तर योगदान दिनुभएको थियो । जीवनकालभर गर्नुभएको अथक प्रयासले धेरै हजारौँ विद्यार्थी, सयौँ अभिभावक र समुदायलाई सकारात्मक दिशामा अघि बढ्न प्रेरित गरेको थियो ।नेपालको प्रजातान्त्रिक लडाइँको जग निर्माण गर्ने सर्वाधिक पुरानो राजनीतिक पार्टी नेपाली काँग्रेससम्बद्ध उहाँको दिनचर्या आदर्शपात्र वीपी कोइरालाको अनुयायीमा आधारित थियो । संसदीय मोर्चामा अग्रसरता लिन पाउनुभएन, संगठनात्मक सक्रिय आफ्नो राजनीतिक जीवनमा उहाँ लोकतान्त्रिक मूल्य, विधिको शासन, नागरिक स्वतन्त्रता, संवाद, सहिष्णुता र सहभागितामूलक निर्णय प्रक्रियाका दृढ पक्षधर हुनुहुन्थ्यो । मतभिन्नतालाई सम्मान गर्दै साझा हितका लागि सहकार्य गर्न सक्ने उहाँको क्षमता सबैका लागि अनुकरणीय थियो । प्रतीकात्मक थियो ।
आज आदरणीय दाजु पर्शुराम कार्की भौतिक रूपमा हामीबीच नहुनु भए पनि दाजुका जीवन्त विचार, आदर्श, कर्म, योगदान र प्रेरणाले समुदायलाई निरन्तर मार्गदर्शन गरिरहनेछन् भन्ने लाग्दछ । पितृस्नेह गुमाएको कार्की परिवार वा नेतृत्वकारी क्षमतावान कार्यकर्ता गुमाएको नेपाली काँग्रेस मात्र होइन, हामी सबै भावबिह्वल भएका छौँ, शोकमग्न आहालमा डुबेका छौँ । दाजुले आफ्नो जीवनकालमा देखाउनुभएको बाटोमा अविचलित रहँदै अघि बढ्नु नै हामी सबैका लागि उहाँप्रति सच्चा सम्मान हुनेछ । लोकतान्त्रिक आन्दोलन, सामाजिक चेतनाका संवाहक र समुदायमा आधारित शिक्षाका अथक अभियन्ताप्रति हार्दिक श्रद्धासुमन ।
पर्शुराम कार्की प्रतिकाे धारणा
“कुनै पनि विषयमाथिको छलफलमा आफ्नो कुरा एकदमै हक्की, निडर र प्रस्टसँग राख्नुहुन्थ्यो। मलाई एकदमै मन पर्ने, सालीन, भद्र, मिलनसार, सानो–ठूलो सबैसँग समान व्यवहार गर्ने नेता हुनुहुन्थ्यो।”
— दीपक बस्नेत
एउटा असल समाजसेवी, सबैसँग सजिलै मिल्न सक्ने, विश्वासयोग्य व्यक्ति। मिलन के राउतले हिजो पोस्ट गरेझैँ, एमालेको आफू–आफूमै अविश्वास चलिरहँदा पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा उहाँलाई समर्थन र विश्वास गरी सर्वसम्मत अध्यक्ष स्वीकार गर्न सक्नु फेरि हामी त शनिश्चरे बजारमा छिमेकी भएर बसेका हौँ। एकआपसमा मामा–भान्जाको साइनो लगाएर बोल्थ्यौँ। पहिलेदेखि नै राजनीतिक रूपमा हामी अलग–अलग दलमा भए पनि हार्दिकता थियो।
‘भान्जा, अघि बढ्नुस्, उमेर छ। फेरि सामाजिक, भौगोलिक अवस्था र जातीय हिसाबले पनि साथ दिएको छ। युवाले समाज र राजनीतिमा आफ्नो उपस्थिति जनाउनुपर्छ, अनि त समाज विकास हुन्छ,’ भन्ने राजनीतिक चेत उहाँले त्यही बेलादेखि राख्नुहुन्थ्यो र समर्थन गर्नुहुन्थ्यो।
एउटा असल समाजद्रष्टा शनिश्चरेले अल्पायुमै गुमायो। हार्दिक श्रद्धासुमन। भाइहरू र बैनीमा, सिङ्गो परिवारमा समवेदना प्रकट गर्दछु।”**
— सन्तोष बान्तवा
“विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेर भागीरथ मा.वि. समग्र सामुदायिक विद्यालयको उन्नयनमा सदैव तल्लीन हुनुहुन्थ्यो। विद्यालयमा हुने नियुक्ति तथा अन्य गतिविधिमा सदैव इमानदारी तथा निष्पक्षता कायम गराउनु भयो। केही विषयमा नयाँ कुरा सुन्दा, ‘यो विषय सुनेँ, के भएको हो सर?’ भनेर सोध्नुहुन्थ्यो। ‘केही गर्न खोज्नुहुन्छ भने यसरी गर्नुहोला,’ भनेर सुझाव दिनुहुन्थ्यो। कहीँ कतै कसैप्रति पनि नकारात्मक कुरा गर्नु भएन। राम्रो काम गर्नका लागि सदैव प्रेरित गर्नुहुन्थ्यो। पालिकाको शिक्षा कसरी सुधार्न सकिन्छ भनेर सोधिरहनुहुन्थ्यो।”
— नवीन खुलाल, शिक्षा शाखा प्रमुख, पथरीशनिश्चरे नगरपालिका
**”एकताका पथरी उद्योग वाणिज्य संघको चुनावमा एमालेको दबदबा थियो। आफ्नै पार्टीभित्रका प्रत्याशी मिलाउन नसकेर सकसमा परेका एमालेजनले संघको अध्यक्षमा पर्शुराम कार्कीलाई भने सहर्ष स्वीकार्न तयार भए। उहाँ सर्वसम्मत अध्यक्ष हुनुभयो। उहाँको व्यक्तित्व नै त्यस्तो थियो, जसले नेपाली कांग्रेस मात्रैको मान्छे भन्ने छनक दिँदैनथ्यो।
उहाँ सञ्चारमैत्री पनि कतिसम्म भने, पत्रिकामा शुभकामना विज्ञापन प्रकाशित हुनुअघि नै अग्रिम भुक्तानी गर्ने मान्छे!
उल्लेखित स्मरण मानसपटलमा झलझली आए।
मोरङ, पथरीशनिश्चरेका उनै सर्वप्रिय व्यक्ति, प्रजातान्त्रिक मूल्य र मान्यताप्रति अटल आस्थावान व्यक्ति आदरणीय पर्शुराम कार्कीको निधनको खबरले स्तब्ध छु। हार्दिक श्रद्धाञ्जली!!”**
— पत्रकार मिलन के राउत







