कानेपाेखरी । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित बयरबन खानेपानी आयोजनाको स्वामित्व आइतबार स्थानीय बयरबन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ।
२०५६ सालमा उपभोक्ता समिति गठन गरी तत्कालीन बयरवन–८ र ९ का करिब ५०।६० स्थानीयवासीले जिल्ला विकास समिति मोरङमा धरौटी रकम जम्मा गरी शुद्ध पिउने पानी उपभाेगकाे सपना देखेका थिए। २०५७ सालमा सङ्घीय सरकारको ६ करोड ३३ लाख ५८ हजार रुपैयाँको लागत अनुमानमा बहुवर्षीय कार्यक्रमअन्तर्गत आयोजना निर्माण सुरु भएको थियो। निर्माणका क्रममा उपभोक्ताको समेत उल्लेखनीय लगानी भएपछि आयोजना सम्पन्न भई २०७० सालदेखि स्थानीयवासीलाई खानेपानी वितरण सुरु गरिएको थियो।
आयोजनाको स्वामित्व हस्तान्तरण कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरीका प्रमुख विकास काफ्लेले संयुक्त रूपमा हस्तान्तरण प्रमाणपत्र उपभोक्ता समितिका अध्यक्ष विजयगाेपाल गड्ताैलालाई प्रदान गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष इङ्नामले गाउँपालिकाका सबै वडामा शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो। उहाँका अनुसार पालिकामा हाल पाँचवटा खानेपानी आयोजना रहेकामा तीनवटा सञ्चालनमा छन् भने दुईवटालाई आवश्यक पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। वडा नं. १ होक्लाबारीमा समेत नयाँ खानेपानी आयोजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरीका प्रमुख विकास काफ्लेले विगतमा सङ्घीय अनुदानबाट निर्माण भएका खानेपानी आयोजनाको अनुगमन तथा नियमन प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयबाट भइरहेको बताउनुभयो। उहाँले प्रारम्भिक लागत अनुमानले मात्र आयोजना सम्पन्न हुन नसकेको उल्लेख गर्दै उपभोक्ताको आर्थिक तथा श्रम योगदानकै कारण आयोजनाबाट नियमित रूपमा खानेपानी वितरण सम्भव भएको बताउनुभयो।
उपभोक्ता समितिका अध्यक्ष विजयगोपाल गड्तौलाले आयोजनामा हालसम्म ११ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार २ हजार ३६० उपभोक्तामध्ये २ हजार २०० घरधुरीमा धारा जडान भइसकेको छ। कानेपोखरी गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ मा करिब ६५ किलोमिटर पाइपलाइन विस्तार गरी खानेपानी वितरण भइरहेको उहाँले बताउनुभयो।
समुदाय र सङ्घीय सरकारको संयुक्त लगानीमा निर्माण भएको बयरबन खानेपानी आयोजना २०७० सालदेखि सञ्चालनमा आए पनि औपचारिक रूपमा उपभोक्ता समितिलाई स्वामित्व हस्तान्तरण भने अहिले मात्रै गरिएको हो। संस्थाकाे सभाहलमा भएकाे कायक्रममा कानेपाेखरी ७ र ६ का वडाध्यक्ष माेहनप्रसाद अधिकारी र खड्गबहादुर बस्नेतले समेत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।







