Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको नयाँबजार देखि हाटखोला सम्मको सडक निर्माणको तीन वर्षे अवधि सकिएर थप तीन वर्ष बित्न लाग्दा पनि हालसम्म ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
२०७६ कात्तिक २४ गते ठेक्का लागेको आयोजनाको चौथो प्याकेजमा पर्ने यस सडकको लम्बाई ६ किलोमिटर मात्र रहेको छ । सडक, नाला र विद्युत संरचना स्थानान्तरणको काम समेटिएको यस खण्डको ठेक्का श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालिले ८३ करोड ९९ लाख ३९ हजार ३९० रुपियाँ ६७ पैसामा लिएको थियो । हालम्म निर्माण कम्पनीले २४ करोड ६८ लाख ९१ हजार ९४५ रुपियाँ लिइसकेको छ । यो वित्तीय प्रगतिको २६ दशमलव १० प्रतिशत हो ।
सम्झौता अनुसार २०७९ कात्तिक २३ गतेभित्र काम सम्पन्न गरी हुलाकी राजमार्ग निर्देशनालयलाई हस्तान्तरण गर्नुपर्ने थियो । कालोपत्रे सडक निर्माण त कल्पना बाहिरको कुरा, भएको सडक समेत भत्काएर छोडेपछि उपभोक्ता हैरान भएका छन् । कटहरी गाउँपालिका क्षेत्रमा नौ किलोमिटर हुलाकी सडक पर्छ । पूर्व खण्डको तीन किलोमिटर काम पिएस÷गजुरमुखी÷मोतिदान जेभीले गरिरहेको छ । २०७६ कात्तिकमा ठेक्का लागेको यो खण्डको काम ८२ प्रतिशत सम्पन्न भएको छ ।
तर,कटहरी गाउँपालिकामा पर्ने बाँकी ६ किमीे सडक निर्माणका लागि धर्ना, अनसन, आन्दोलन र गिरफ्दारी दिँदा समेत काम अघि नबढेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनु भयो । चौधरीले भन्नुभयो – अरु निर्माण कम्पनीले काम सकिसके । श्रेष्ठ कन्ट्रक्सनले मात्र काम नगर्नुको कारण हामीले पटक पटक आयोजनासँग माग्यौं । प्रधानमन्त्री कटहरी आउनु भएको बेला समेत कुरा राख्यौं । असार अघि नै कालोपत्रे हुने आश्वासन पाएका थियौं । तर, यस्ता असार ६ वटा गए , काम अघि बढेको छैन। अध्यक्ष चौधरीले ठेक्का खारेज गरेर पालिकालाई गर्न दियो भने आफ्नै बजेटबाट सडक निर्माण गर्न तयारी रहेको बताउनु भयो ।
हुलाकी सडक निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले निर्माण कम्पनीले समयमा भुक्तानी नपाएको, आन्तरिक समस्यामा फसेको र सरोकारवाला बिच समन्वय अभाव हुँदा काम प्रभावित भएको बताउनु भयो । म्याद थप प्रक्रिया अगाडि बढेको सूचना अधिकारी दास बताउनु हुन्छ । यता गाउँपालिकाका अध्यक्ष– देवराज चौधरीले २०८२ जेठ ३२ गते म्याद सकिएको आयोजनाको असार भित्रै म्याद थपको प्रक्रिया बढ्नु पर्ने बताउनु भयो । अध्यक्ष चौधरीले कहिले भूपाल श्रेष्ठले काम गर्ने,कहिले अभिषेक गिरी गरिरहेकोले म्याद थप हुनेमा शङ्का रहेको बताउनु भयो ।
हुलाकी सडक निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर दासका अनुसार मोरङमा हुलाकी सडकको ४५ किमी भाग पर्छ । जसमध्ये रतुवाखोला देखि रङ्गेलीसम्मको साडे १६ किमी सडक पीएस÷गजुरमुखी÷मोतिदान जेभीले २०८० असार मसान्तमा नै निर्माण सम्पन्न गरिसकेको छ । यस्तै यही समूहले गरिरहेको बतौना–नयाँ बजार सडक खण्डको ११ दशमलव ९० किमी लम्बाईको सडकको हाल ८२ प्रतिशत काम सकिएको छ ।
रङ्गेली देखि बेतौनासम्मको सात दशमलव ४० किमी कालिका÷मैनाचुली÷बेदान्सी जेभीले ठेक्का पाएको थियो। यो खण्डको काम पनि २०८० को असार मसान्तमा सम्पन्न भइसकेको छ । केशलिया खोला देखि बरगाछीसम्म्को तीन दशमलव २० किमी देव एण्ड सायर÷भुमि जेभीले ठेक्का पाएकोमा यो खण्डको काम पनि २०८२ को असार मसान्तमा सम्पन्न भइसकेको छ ।
पूर्वपश्चिम राजमार्ग निर्माणधीन अवस्थामा रहेको बेला यो सडकलाई बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने थियो । तर, ६ किलोमिटर सडक निर्माणमा भएको चरम लापरबाहीले सो क्षेत्रका उपभोक्ता मात्र होइन । समग्र सरोकारवाला समेत चिन्तित भएका छन् ।
हुलाकी सडकले दक्षिणी मोरङका रतुवामाई, सुनवर्षी,रङ्गेली नगरपालिका र धनपालथान,जहदा र कटहरी गाउँपालिकासँगै विराटनगर महानगरपालिकालाई छुन्छ ।

 



Share via
Send this to a friend