हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । लगनशिल भएर काम गर्ने हो भने हाम्रै पाखोबारीबाट खाडीको भन्दा राम्रो कमाई लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नु भएको छ , मोरङको पथरीशनिश्चरे –१० का किसान लक्ष्मीप्रसाद दुलालले ।
दुलालको घरसँगैको बारीमा धान खेती हुन्न । अलि डाँडो बारी भएकोले पहिले उहाँले १६ कट्ठा बारीमा उखु लगाउनु भएको थियो । तर, उखुलाई स्याहार बढी चाहिने,आफू मात्र खटेर नहुने । गाउँमा कृषि मजदुरको अभाव । त्यसैले उहाँले उखु मासेर सुपारी रोप्नु भयो । सुपारी रोपेको दुई वर्षपछि मरिच लगाउनु भयो । १६ महिना अघि तिनै सुपारीको बिच बिचमा सिउँडी फल (ड्रयागन फ्रुट) लगाउनु भएको छ । यतिबेला ड्रयागनले आम्दानी दिइरहेको छ । ड्रयागन सकिने बित्तिकै सुपारीले आम्दानी दिन थाल्छ । त्यसपछि मरिच निस्किन्छ ।
सुरुका दिनमा सबै बालि जुवा खेलाई जस्तै थियो । उहाँले भन्नुभयो–‘कतै पढेर, हेरेर बुझेर खेती सुरु गरेको होइन । दुई दशक अघि सम्म युट्युव, फेसबुकमा कृषि प्रविधिका विषय अध्ययन गर्न सकिन्न थियो । केही न केही होला ,नफले थोरै लगानी खेर जाला भनेर दूलालले २०५८ सालमा १२ कट्ठामा सुपारी लगाउनु भयो । त्यसको तीन् वर्ष पछि तिनै सुपारीका बोटमा मरिच रोप्नुभयो । अहिले सात सय बोट सुपारीबाट बार्षिक तीन लाख आम्दानी लिइरहनु भएका दुलाल भन्नुहुन्छ –अघिल्लो बर्ष ८०÷८१ झ्याङ बोटबाट मरिच एक मन उत्पादन भएको थियो । स्थानीय मसला उद्योगले प्रतिकिलो एक हजार दुई सय रुपियाँमा हालेर घरबाटै लग्यो । गत वर्ष १२ किलोमात्र फल्यो । एकमन उत्पादन हुँदा ४८ हजारमा बिक्रिी हुँदो रहेछ । मरिच भारत र तेस्रो देशबाट आयात हुने मसला बालि हो । उहाँका अनुसार भारतबाट आउने मरिच २ हजार ५ सय रुपियाँ सम्ममा थोक मुल्यमा आउँदो रहेछ । जति उत्पादन भए पनि मरिचलाई बजारको समस्या नरहेको दुलालको ठम्याई छ ।
सुपारीका बोटमा मरिच लगाएर सफलता पूर्वक आम्दानी लिएपछि उहाँले १६ महिना अघि ड्रयागन फ्रुट लगाउनु भयो । चार कट्ठा जति जग्गा खालि थियो । त्यो जग्गासँगै लामो दुरीमा रोपिएका सुपारीका बिचमा पनि उहाँले ड्रयागन लगाउनु भयो । ब्यावसायिक ड्रयागन खेती गरिरहनु भएका पथरीशनिश्चरे ८ का चन्द्र लिम्बूसँग उहाँले सुपारीका बिरुवा साट्नु भयो । दुलाल हरेक वर्ष सुपारीको नर्सरी राख्नु हुन्छ । समान मुल्य राखेर साटिएका ८८० बिरुवाले पहिलो पटक आम्दानी दियो । हालसम्म २ सय किलो फल बजार पठाइसक्नु भएका दुलालले एकसिजनमा पाँच पटक उत्पादन दिने बताउनु भयो । बिरुवा दिनेले किसानले अब एक पटक फल्छ भन्नु भएको छ । हेरौं के हुन्छ ? प्रति केजी ३ सय रुपियाँमा बजार पठाउनु भएका दूलालले हालसम्म ६० हजारको सिउँडी फल बेचिसक्नु भएको छ ।
उहाँको समृद्धि कृषि फर्ममा उहाँ आफैं खट्नु हुन्छ । एकजना सहयोगी र श्रीमतीले फर्मको भरथेग गरिरहनु भएको छ । लुलाले भन्नुभयो – महत्वकांक्षी नहुने भने कृषि ब्यावसायबाट राम्रो लाभ लिन सकिन्छ । तर,कृषि क्षेत्रलाई राज्यले सम्मान गर्नुपर्छ, अनि मात्र युवाकाे आकर्षण हुन्छ ।

























