Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर ।विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि संक्रमण रोकथाम तथा नियन्त्रण (आईपीसी) सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन तथा अस्पतालको आईपीसी टोलीको समन्वयमा जेठ १९ गते उक्त तालिम आयोजना गरिएको हो। स्वास्थ्य सेवालाई सुरक्षित, प्रभावकारी तथा गुणस्तरीय बनाउने उद्देश्यले आयोजित तालिममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिमा जोड दिइएको थियो।

तालिममा संक्रमण नियन्त्रणका आधारभूत सिद्धान्त, आइसोलेसनका बेला अपनाउनुपर्ने सावधानी, हातको सरसफाइ, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को सही प्रयोग, चिकित्सा उपकरणहरूको प्रशोधन, निर्जीवीकरण तथा डिकन्टामिनेसनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

त्यसैगरी सुईले घोचेर हुने चोट (निडल–स्टिक इन्जुरी) को व्यवस्थापन, रासायनिक तथा अन्य तरल पदार्थ पोखिँदा गरिने स्पिल व्यवस्थापन, स्वास्थ्यजन्य हानिकारक फोहोरमैलाको वर्गीकरण तथा सुरक्षित विसर्जनका विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो।

तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको थियो। हातको सरसफाइ गर्ने सही विधि, फोहोर वर्गीकरण, सिभिसी (CVC) ड्रेसिङ, उपकरणहरूको सुरक्षित प्याकिङ तथा अनप्याकिङ, पीपीई लगाउने र फुकाल्ने (डोनिङ तथा डफिङ) प्रक्रिया तथा स्पिल व्यवस्थापनको प्रत्यक्ष प्रदर्शन गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका विभिन्न विभागमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको उत्साहजनक सहभागिता रहेको उक्त तालिमले संक्रमण नियन्त्रणसम्बन्धी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास लिइएको छ।

अस्पताल प्रशासनले आगामी दिनमा पनि स्वास्थ्य सेवालाई थप सुरक्षित, भरपर्दो तथा गुणस्तरीय बनाउन यस्ता सीपमूलक र सचेतनामूलक तालिमलाई निरन्तरता दिने जनाएको छ।



Share via