उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसले आगामी जेठ २९ र ३० गते उच्च शिक्षामा अनुसन्धान, नवप्रवर्तन र दिगो विकासका विषयमा प्रथम राष्ट्रिय प्राज्ञिक सम्मेलन–२०८३ आयोजना गर्ने भएको छ।
क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरी दुईदिने प्राध्यापक–विद्यार्थी सहकार्यात्मक अनुसन्धानमूलक लेख प्रस्तुतीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । उच्च शिक्षामा अनुसन्धान संस्कृतिको विकास, प्राध्यापक र विद्यार्थीबीचको शैक्षिक सहकार्य अभिवृद्धि तथा अनुसन्धानमा आधारित निष्कर्षलाई प्रोत्साहन गर्दै ज्ञान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको क्याम्पसको अनुसन्धान प्रकाशन उप समितिका संयोजक भीष्मकुमारी रेग्मीले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपालका काठमाडौं ,त्रिभुवन ,पुर्वाञ्चल ,नेपाल संस्कृत र पोखरा विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवाला निकायहरूको सहभागिता रहने छ। सम्मेलनमा शिक्षा, मानविकी तथा व्यवस्थापन क्षेत्रमा अनुसन्धानका नवीन प्रवृत्ति, शिक्षणमा नवप्रवर्तन, सामाजिक विज्ञान तथा अनुसन्धान पद्धति, सामाजिक सञ्जालको प्रयोग र यसको उच्च शिक्षामा प्रभाव, कक्षाकोठाको डिजिटल रूपान्तरण, जलवायु परिवर्तन तथा दिगो सामाजिक विकासमा उच्च शिक्षाको भूमिका, शैक्षिक नेतृत्व, सामाजिक उत्तरदायित्वका विषयमा फरकफरक अध्ययन प्रतिवेदन प्रस्तुत हुनेछन् । यस्तै क्याम्पसहरूको सामुदायिक योगदान, नेपालको अन्तर्राष्ट्रिय शिक्षाका लागि नीतिगत सुधार, वित्तीय साक्षरता, संस्थागत सुशासन, रोजगार सिर्जना, सीप विकास, उद्यमशीलता प्रवद्र्धन, शिक्षक तथा विद्यार्थीको गुणात्मक अभिवृद्धि तथा समालोचनात्मक चिन्तन र स्थानीय एवं आदिवासी ज्ञान प्रणालीजस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका प्राडा बासुदेव काफ्ले मुख्यवक्ता रहनु हुनेछ भने चारजना विशेषज्ञ प्राडाहरू ट्रेनर स्पिकर रहनु हुनेछ ।
प्राज्ञिक सम्मेलन गर्न दश लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले २ लाख रुपियाँ सहयोग गर्ने भएको छ भने थप रकम स्थानीय सरकार र प्रदेश सरकारबाट जुटाइनेछ । मोरङको उर्लाबारीमा २०४३ सालमा स्थापना भएको उर्लाबारी बहुमुखी क्याम्पसमा हाल एक हजार ८०जना विद्यार्थी अध्ययनरत छन् । 






