रंगेली / महिलाको स्वास्थ्य प्रवर्द्धन तथा स्त्रीरोग सम्बन्धी समस्याको समयमै पहिचान र उपचारमा सहयोग पुर्याउने उद्देश्यले मोरङको रंगेली नगरपालिका–२ भलुवा, मंगलबारेस्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नोबेल शिक्षण अस्पताल, विराटनगरको निःशुल्क स्वास्थ्य परीक्षण श्रृङ्खला अन्तर्गत आयोजित शिविरमा प्रसुति तथा स्त्रीरोग विशेषज्ञद्वारा १५१ जनालाई स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
शिविरका क्रममा १३० जनाले भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा लिएका थिए भने ९५ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो। पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानका लागि गरिने प्याप स्मियर परीक्षणबाट ७ जना लाभान्वित भएका थिए।
श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल, जिल्ला शाखा मोरङको आयोजनामा सम्पन्न शिविरमा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, विराटनगरले प्राविधिक सहयोग प्रदान गरेको थियो।
नोबेल शिक्षण अस्पतालका महाप्रबन्धक दीपेश राईका अनुसार अस्पतालले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको उहाँले बताउनुभयो।
शिविरमा सहभागी महिलाहरूले विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श, परीक्षण तथा आवश्यक स्वास्थ्य सुझाव प्राप्त गरेपछि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। अस्पतालले आगामी दिनमा पनि समुदाय केन्द्रित स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।






